काठमाडौं । सुदूरपश्चिम प्रदेशको अपि नाम्पा संरक्षण क्षेत्रमा पर्ने अपि हिमाल (७,१३२ मिटर) र ल्हायुल पिक (६,३९५ मिटर) मा पहिलो पटक ठूलो संख्यामा आरोहण हुने भएको छ। दार्चुला जिल्लाको अपि गाउँपालिकामा अवस्थित अपि हिमाल सुदूरपश्चिम प्रदेशकै सबैभन्दा अग्लो हिमाल हो। हजारौं पर्यटकलाई आकर्षित गर्ने सम्भावना हुँदाहुँदै पनि प्रचार–प्रसार, उपयुक्त मार्ग र आवश्यक पूर्वाधारको अभावका कारण यो क्षेत्र ओझेलमा पर्दै आएको थियो।
हालै संघीय सरकारले सुदूरपश्चिम र कर्णालीका ९७ वटा हिमाललाई आगामी दुई वर्षका लागि शुल्कमुक्त गर्दै आरोहण खुला गर्ने निर्णय गरेको छ।
यसै क्रममा नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) नेपालको सहकार्यमा सञ्चालित ‘दिगो पर्यटन परियोजना (एसटीपी)’ अन्तर्गत, नेपाल पर्वतारोहण संघको नेतृत्व र अपि गाउँपालिकाको सहकार्यमा ‘समर स्किल फर प्रोफेसनल माउन्टेन गाइड कोर्स’ सुरु गरिएको छ। काठमाडौंमा दुई साताको सैद्धान्तिक तालिमपछि अपि क्षेत्रमा दुई साताको प्रयोगात्मक तालिम दिइनेछ। तालिम पूरा गरेका विद्यार्थीहरू आगामी दिनमा ट्रेकिङ पिक तथा अन्य हिमाल आरोहणमा माउन्टेन गाइड वा सहायक गाइडका रूपमा काम गर्ने अवसर पाउनेछन्।
तालिमका सहभागी टोलीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले काठमाडौंमा बिदाइ गरेका थिए। मन्त्री पाण्डेले यो अभियान सुदूरपश्चिमका लागि ऐतिहासिक भएको उल्लेख गर्दै यसले स्थानीय समन्वय र सहकार्य प्रवर्द्धन गर्ने तथा प्रदेशको पर्यटन विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।
प्रशिक्षणअन्तर्गत ल्हायुल पिकमा १४ जना प्रशिक्षार्थीले आफैं बाटो बनाएर आरोहण गर्ने तयारी गरेका छन्। उक्त अभियानमा १४ विद्यार्थी र ६ जना प्रशिक्षक सहभागी छन्। ल्हायुल पिकको सफल आरोहणपछि प्रशिक्षकसहित ७ जनाले अपि हिमाल आरोहण गर्ने योजना छ। त्यसपछि स्थानीय १५ जना ट्रेकिङ गाइडलाई माउन्टेन नेभिगेसन र क्याम्पिङसम्बन्धी विशेष तालिम दिने तयारी गरिएको छ।
यस पहलले अपि क्षेत्रजस्ता ‘भर्जिन टुरिज्म डेस्टिनेसन’ को प्रवर्द्धनमा टेवा पुग्ने विश्वास गरिएको छ। आरोही टोलीमा अपि गाउँपालिकाका प्रतिनिधिहरू समेत सहभागी छन्।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले यस कार्यक्रमले पर्यटन सुविधा र सेवामा सुधार गर्ने, सीपयुक्त पर्यटन जनशक्ति विकास गर्ने र स्थानीय समुदायका लागि रोजगारी तथा जीविकोपार्जनका अवसर सिर्जना गर्ने उद्देश्य राखेको जानकारी दिए। उनले भने, “यस अभियानले ओझेलमा रहेको अपि हिमालको आरोहण प्रवर्द्धन गर्नेछ र समग्र सुदूरपश्चिमको पर्यटन क्षेत्र चलायमान हुने विश्वास हामीले लिएका छौं। साथै, दीगो पर्यटन विकास, स्थानीय समुदायमैत्री सेवा विस्तार र पूर्वाधार सुधारमा पनि यसले महत्वपूर्ण योगदान पुर्याउनेछ।”