मकवानपुर । मकवानपुर जिल्लाको थाहा नगरपालिका–सिमभन्ज्याङमा ‘अर्किड ट्रेल’ (सुनाखरी पदमार्ग) को औपचारिक उद्घाटन सम्पन्न भएको छ। १७ भाद्रमा आयोजित कार्यक्रममा बागमती प्रदेश सांसद तथा पूर्व सामाजिक विकास मन्त्री कुमारी मोक्तानले पदमार्गको नक्शा सार्वजनिक गर्दै उद्घाटन गरेकी थिइन्।
सांसद मोक्तानले पदमार्गले उत्तरी मकवानपुरको पर्यटन प्रवर्द्धनमा ठूलो योगदान पुर्याउने विश्वास व्यक्त गरेकी थिइन्। उनले यसको प्रभावकारी प्रचार–प्रसार आवश्यक रहेको धारणा राखेकी थिइन्।
जिल्ला समन्वय समिति प्रमुख ललित घलानले विगतमा पनि पर्यटकीय क्षेत्रमा डकुमेन्ट्रीमार्फत सहयोग गरेको र यसलाई निरन्तरता दिने आश्वासन दिएका थिए। थाहा नगर प्रमुख विष्णु बहादुर विष्टले पर्यटनलाई विशेष प्राथमिकता दिएर संरचनागत विकास र आतिथ्य सत्कारमा लगानी गरिएको बताएका थिए। उनले भिमफेदी–सिमभन्ज्याङ केवलकार परियोजना को अवधारणा पनि अघि सारेका थिए।
नेपाल पर्यटन बोर्डका निर्देशक मणीराज लामिछानेले २०१४ मा चित्लाङलाई नेपालकै पहिलो पर्यटकीय गाउँ घोषणा गरिएको स्मरण गराएका थिए। उनले त्यही समयमा लालीगुराँस र सुनगाभा ९अर्किड० पदमार्ग को परिकल्पना गरिएको र पूर्व स्थानीय विकास अधिकारी भुवन प्रकाश विष्टले पर्यटन प्रवर्द्धनमा उल्लेख्य योगदान पुर्याएको बताएका थिए।
अन्य सरोकारवालाहरूले पनि पदमार्गको महत्वबारे विचार राखेका थिए। पर्यटन विज्ञ हुम गुरुङले रैथाने परिकारमार्फत पर्यटक आकर्षित गर्न सकिने बताएका थिए। म्याप हाउसका पवन शाक्यले १० वर्षको मेहनतपछि ट्रेलको म्यापिङ सम्पन्न भएको बताएका थिए। वनस्पति विज्ञ डा. भक्त बहादुर रास्कोटीले थाहा नगरलाई “अर्किड राजधानी” सरह मानिएको र अनुसन्धान तथा अवलोकनका लागि यो क्षेत्र महत्वपूर्ण रहेको बताएका थिए।
त्यस्तै, राक्सिराङ र कैलाश गाउँपालिकाका प्रतिनिधिहरूले पर्यटन प्रवर्द्धनमा अन्तरपालिका सहकार्य आवश्यक रहेको उल्लेख गरेका थिए। उनीहरूले तामाङ र चेपाङ संस्कृतिलाई पनि पदमार्गसँग जोड्ने योजना प्रस्तुत गरेका थिए।
एभरेष्ट युवा विकास क्लब अध्यक्ष शिवकुमार खत्रीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, पर्यटन विज्ञ, संघसंस्था, पत्रकार महासंघ, सामुदायिक वन तथा उद्योग वाणिज्य संघका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो।
अर्किड ट्रेलको उद्घाटनसँगै उत्तरी मकवानपुरलाई जैविक विविधता र प्राकृतिक सौन्दर्यसँगै नयाँ पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको थियो।