फिक्कल । लोपोन्मुख रेडपाण्डा संरक्षणसँगै खेलकुद र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले इलाममा ‘रेडपाण्डा म्याराथन’ आयोजना हुने भएको छ ।
अन्तर्राष्ट्रिय रेडपाण्डा दिवसको अवसरमा असोज ४ गते हुने म्याराथन इलाम सदरमुकामस्थित चोक बजार (१,१२० मिटर) बाट सुरु भएर नेपाल–भारत सीमा नजिकको सन्दकपुर डाँडा (३,६१० मिटर) मा सम्पन्न हुनेछ । करिब ४४.२ किलोमिटर दूरीमा हुने प्रतियोगितामा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीसहित देशभरका १०० भन्दा बढी धावक सहभागी हुनेछन् ।
दीपज्योति युवा क्लबको आयोजनामा, रेडपाण्डा नेटवर्क र सन्दकपुर गाउँपालिकाको सहयोगमा हुने प्रतियोगितामा पुरुष र महिला दुवै तर्फ छुट्टाछुट्टै पुरस्कार व्यवस्था गरिएको छ ।
प्रतियोगितामा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीसहित देशभरका १०० बढी धावक सहभागी हुनेछन् । प्रतियोगिताका पुरुष र महिलातर्फ छुट्टाछुट्टै पहिलो हुनेले रु. एक लाख ५० हजार, दोस्रो हुनेले रु. एक लाख, तेस्रो हुनेले रु. ५० हजार र चौथो हुनेले रु. ३० हजार प्राप्त गर्ने आयोजक दीपज्योति युवा क्लबले जनाएको छ ।
त्यसैगरी, स्थानीय विधातर्फ इलाम, पाँचथर र ताप्लेजुङका धावकका लागिसमेत छुट्टै प्रतियोगिता हुनेछन् । पुरुष र महिलातर्फका पहिलो हुनेले रु. २५ हजार, दोस्रो हुनेले रु. २० हजार, तेस्रो हुनेले रु. १० हजार र चौथो हुनेले रु. पाँच हजार पाउनेछन् ।
दीपज्योति युवा क्लबका कार्यक्रम निर्देशक राम रिमालका अनुसार म्याराथनले जिल्लाको पूर्वाधार र पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउनेछ । “रेडपाण्डा पाइने क्षेत्रमा आयोजना गरिएको यो प्रतियोगिता यहाँको पहिचानसँगै संरक्षण र पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण हुने विश्वास गरेका छौँ,” उनले भने ।
रेडपाण्डा नेटवर्कका कार्यक्रम निर्देशक वाङ्चु भुटियाले नेपालका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धावकको सहभागिता रहने जानकारी दिए । यस्तै, म्याराथन रुट तयारीका लागि सन्दकपुर गाउँपालिकाले सडक मर्मत सुरु गरेको गाउँपालिका अध्यक्ष तुलाराम गुरुङले बताए ।
३,६३६ मिटर उचाइमा पर्ने सन्दकपुर डाँडा इलामकै उच्च भूभाग हो । यहाँबाट सूर्योदयसहित नेपाल, भारत, भुटान र चीनका हिमाल अवलोकन गर्न सकिन्छ, जसले यस क्षेत्रलाई प्रमुख पर्यटन गन्तव्य बनाएको छ ।