गोरखा । यस वर्षको शरद ऋतु (सेप्टेम्बर–नोभेम्बर) मा मनास्लु हिमाल आरोहणका लागि दुई सय २४ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार आठ हजार १६३ मिटर अग्लो मनास्लु आरोहणका लागि विभिन्न मुलुकका १७ टोलीका आरोहीले अनुमति लिएका हुन् ।
शुक्रबारसम्मको तथ्याङ्कअनुसार १६९ पुरुष र ५५ महिलाले अनुमति लिएका छन् । उनीहरूबाट करिब रु. नौ करोड ४३ लाखभन्दा बढी राजस्व संकलन भएको विभागले जनाएको छ ।
यो सिजनमा सबैभन्दा बढी आरोही मनास्लु हिमालतर्फ आकर्षित भएका छन् । हालसम्म सगरमाथा आरोहणका लागि केवल एक जनाले अनुमति लिएका छन् भने ल्होत्से आरोहणका लागि दुई जनाले मात्र अनुमति लिएका छन् । सात हजार ८५५ मिटर अग्लो नुप्त्से आरोहणका लागि ११ जना र छ हजार ३९५ मिटर अग्लो ल्यायुल आरोहणका लागि १५ जनाले अनुमति लिएका छन् ।
गत वर्ष यही सिजनमा ४०१ जनाले मनास्लु आरोहणको अनुमति लिएका थिए । अहिले हिमालमा डोरी टाँग्ने (रोप फिक्सिङ) कार्य भइरहेको र सामागाउँमा आरोहीहरू आइपुग्न थालेको स्थानीय वीरबहादुर लामाले जानकारी दिएका छन् । लमजुङ–मनाङ हुँदै लार्के पास पार गरेर आउने आरोही धेरै हुने गरेका छन् भने केही हेलिकप्टरमार्फत पनि पुग्ने गर्छन् ।
यस सिजनमा सबैभन्दा बढी अनुमति लिनेमा चीनका ४३ जना छन् । त्यस्तै पोल्याण्डका २५, रुसका २३, नेपाल र रुसका २३–२३, अमेरिका १६, जापान १३, फ्रान्स १२ र क्यानडाका १० आरोहीले मनास्लु आरोहण अनुमति लिएका छन् ।
पर्यटन विभागका निर्देशक तथा सूचना अधिकारी लीलाधर अवस्थीका अनुसार सिजन अझै सुरु भएकाले आगामी दिनमा अनुमति लिन आउने आरोहीको सङ्ख्या बढ्ने अपेक्षा गरिएको छ ।