काठमाडौँ । जेनजी आन्दोलनका कारण देशभर उत्पन्न भएको विषम परिस्थितिमा पर्यटकको सुरक्षित आवागमन सुनिश्चित गर्न ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले सुरक्षा निकायसँग अपिल गरेको छ।
टानले काठमाडौँ, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी र नेपाली सेनासँग पर्यटकहरूको सहज आवागमनका लागि सहयोग गर्न आग्रह गरेको हो। पर्यटकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट होटलसम्म र होटलबाट विमानस्थलसम्म सुरक्षित रूपमा पुर्याउने व्यवस्था मिलाउन, साथै उपत्यकाबाहिरबाट अन्तर्राष्ट्रिय उडानका लागि काठमाडौँ प्रवेश गर्ने प्रक्रियालाई सहज र सुरक्षित बनाउन सहयोग आवश्यक रहेको टानले जनाएको छ।
सोही क्रममा टानले पर्यटकहरूको हवाई उडान तालिका पनि उपलब्ध गराएको छ। साथै, पर्यटकलाई सेवा प्रदान गर्ने ट्रेकिङ तथा ट्राभल कम्पनीका प्रतिनिधिहरूलाई पनि सहज आवागमनका लागि सहयोग गर्न सम्बद्ध निकायलाई अनुरोध गरेको छ।
पत्रमा भनिएको छ, “पर्यटन व्यवसाय सञ्चालन गर्न आएका विदेशी पर्यटक तथा पर्यटकलाई सहज र सुरक्षित ढंगले गन्तव्यसम्म पुर्याउन हालको अवस्थालाई ध्यानमा राखी सहयोग गर्नुहुन हार्दिक अनुरोध गर्दछौं।”
यसका लागि टानले सम्बन्धित पर्यटन एजेन्सीहरूलाई पर्यटकको यात्रा विवरण, फ्लाइट नम्बर, एयरलाइन्स, राष्ट्रियता, पर्यटकहरूको संख्या, एजेन्सी तथा प्रतिनिधिको सम्पर्क नम्बर र इमेल जानकारी संलग्न गर्न अनुरोध गरेको छ।
