काठमाडौं । जेन-जी आन्दोलनपछि बन्न लागेको नयाँ सरकारको मन्त्रिषरिषद्मा पर्यटन व्यवसायीहरूले पनि दाबी गरेका छन् । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरिरहँदा पर्यटन व्यवसायीहरूले पर्यटनमन्त्री निजी क्षेत्रले पाउने गरी पहल गर्ने तयारी थालेका छन् ।
ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष सागर पाण्डेले यो पहलको नेतृत्व लिने तयारी गरेका छन् । अध्यक्ष पाण्डेले भोलि पर्यटन व्यवसायीहरूबीच छलफल गर्ने र एकजुट भएर सरकारको पर्यटनमन्त्रीका लागि पहल गर्ने बताए ।
जेन–जी आन्दोलनपछिको विषम परिस्थितिमा पर्यटन क्षेत्रलाई माथि उठाउन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सकारात्मक सन्देश प्रवाहका लागि पर्यटनमन्त्रीमा निजी क्षेत्रको प्रतिनिधित्व हुनु आवश्यक रहेको उनको भनाइ छ ।
नेपाल पर्वतारोण संघ (एनएमए)ले पनि यो मुद्दालाई समर्थन गरेको छ । संघका अध्यक्ष फुर गेल्जे शेर्पाले अहिलेको संकट टार्न पर्यटन मन्त्रालयमा पर्यटनलाई बुझेको व्यक्ति चाहिने उल्लेख गरे । उनले भने, ‘हामीले अहिलेसम्म पर्यटन बुझेका मन्त्री नै पाएनौँ, त्यसले गर्दा समस्या आइरहेको थियो । अहिलेको समयमा पर्यटनलाई राम्रोसँग बुझेको निजी क्षेत्रको व्यक्तिलाई मन्त्री बनाउनुपर्छ भन्ने हाम्रो माग छ ।’
उनले पर्यटन क्षेत्र नेपालको अर्थतन्त्रको खम्बा भएकोले उक्त खम्बा बलियो बनाउनका लागि सक्षम व्यक्ति चाहिने उल्लेख गरे । यदि निजी क्षेत्रले पर्यटनमन्त्री पाएमा युवालाई नै पठाउने उनको भनाइ छ ।
नेपाल एसोसिएसन अफ टुर तथा ट्राभल एजेन्ट्स (नाटा)का अध्यक्ष कुमारमणि थपलिया भने मन्त्रालयमा यो वा त्यो क्षेत्रबाट प्रनिधित्व हुनैपर्छ भन्ने भन्दा पनि सक्षम व्यक्तिको जरुरत रहेको तर्क गरे । उनले अहिलेको समयमा ‘नेपालमा शान्ति सुरक्षा छ’ भन्ने सन्देश विश्वमा फैलाउन आवश्यक रहेको उल्लेख गर्दै भने, ‘अहिले मन्त्री बनेर धेरै काम गर्न सक्ने अवस्था छैन, त्यसैले कुन क्षेत्रबाट मन्त्री बन्ने भन्दा पनि कस्तो व्यक्ति मन्त्री बन्ने भन्ने कुराले अर्थ राख्छ । मेन कुरा नेपालमा शान्ति सुरक्षा कायम गर्न सक्नु पर्यो पर्यटक आफैँ आइहाल्छन्।’
त्यस्तै, प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)की कार्यसमिति सदस्य लाक्फुटी शेर्पाले पनि अहिलेको अवस्थामा निजी क्षेत्रबाट पर्यटनमन्त्री हुनु राम्रो भएको बताइन् । मन्त्रालयमा अन्तर्राष्ट्रिय निकायहरूसँग समन्वय गर्न सक्ने सक्षम र इमान्दार व्यक्तिको खाँचो रहेको उनको भनाइ छ ।
यही २३ र २४ भदौमा भ्रष्टाचार र बेथितिविरुद्ध जेन–जीको आन्दोलनपछि भएको हिंसात्मक घटनाबाट अन्य क्षेत्रसँगै पर्यटन क्षेत्रमा पनि क्षति पुगेको छ । आन्दोलनकारीहरूले होटल व्यवसाय तथा भौतिक र प्रशासनिक क्षेत्रमा क्षति पुर्याएका छन् । भने, राज्यसत्ता नै उल्टिने गरी भड्किएको हिंसाले विश्व समुदायमा नराम्रो सन्देश प्रवाह भएको छ । अहिले आरोहणको समय भएकोले तत्काल नेपालका भौतिक संरचनाको पुनर्निमाण र प्रशासनिक क्षेत्रमा सुधार गरी विश्व समुदायमा सकारात्मक समाचार प्रवाह गर्न पनि जरुरी रहेको पर्यटन व्यवसायीहरूको भनाइ छ । त्यसका लागि पर्यटनलाई राम्रोसँग बुझेको र अन्तर्राष्ट्रिय जगतमा प्रभाव पार्न सक्ने व्यक्तिको खाँचो रहेको व्यवसायीहरूको तर्क छ ।