चितवन । चितवन राष्ट्रिय निकुञ्जले दशैंलाई लक्षित गर्दै पर्यटकीय सडक मर्मतको काम सुरु गरेको छ । विजयादशमीअघि जीप सफारी सञ्चालन गर्ने उद्देश्यसहित सडक तथा पुल मर्मत, अवरोध हटाउने र झाडी पन्छ्याउने कार्य तीव्र पारिएको हो ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार हाल करिब ९० किलोमिटर सडक मर्मत भइरहेको छ । उनले भने, “जीप सफारीका लागि सडक मर्मतसँगै झाडी पन्छ्याउने र पुल मर्मतको काम पनि भइरहेको छ।”
निकुञ्जले गत असार १६ गतेदेखि जीप सफारी बन्द गरेको भए पनि चाडपर्वमा आउने पर्यटकलाई लक्षित गर्दै पुनः सञ्चालनको तयारी गरिएको हो । सामुदायिक वनमा भने सफारी सञ्चालन भइरहेकै छ ।
सौराहादेखि कुजौली घाटसम्मको जीप मार्ग मर्मतपछि सफारीमा सहभागी पर्यटकले डुमरीया, लामि ताल, तमोर ताल, घडीयाल प्रजनन केन्द्र, बाघ मचान, सुखिभार, भिम्ले, टाइगर टप्स, बागमारा, खोरीया मुहान हुँदै देवी तालसम्म वन्यजन्तु अवलोकन गर्न पाउनेछन् ।
चितवन र नवलपरासी आउने पर्यटकको प्रमुख आकर्षण निकुञ्ज सफारी नै हो, जहाँ दुर्लभ एकसिङ्गे गैँडा, पाटे बाघलगायतका वन्यजन्तु हेर्न स्वदेशी तथा विदेशी पर्यटक आउँदै आएका छन् ।