हुम्ला । यस वर्ष हुम्लाको सिमकोट हुँदै हिल्सा मार्गमार्फत मानसरोवर–कैलाश दर्शन गर्ने धार्मिक पर्यटकको सङ्ख्या ६ हजार नाघेको छ। कोरोना महामारीपछि पहिलोपटक चिनियाँ सरकारले हिल्सा नाका भारतीय पर्यटकका लागि खोलेसँगै यो संख्या उल्लेखनीय रुपमा बढेको हो।
प्रहरी नायब उपरीक्षक शंकर पोखरेलका अनुसार हालसम्म ६ हजार ४२ जना पर्यटक मानसरोवर–कैलाश दर्शनका लागि पुगेका छन्। तीमध्ये ५ हजार ७१७ जना भारतीय र ३२५ जना अन्य मुलुकका हुन्। आगन्तुकमध्ये ३ हजार ३३४ जना पुरुष र २ हजार ७०८ जना महिला रहेका छन्। यात्रुको आगमन अझै जारी भएकाले यो सङ्ख्या थप बढ्ने अनुमान गरिएको छ।
पर्यटक आगमनसँगै सिमकोट विमानस्थलमा दैनिक १६४ उडान हुने गरेको नागरिक उड्डयन प्राधिकरणका प्रमुख महेन्द्र बहादुर सिंहले जानकारी दिए। नेपालगन्जबाट विमानले यात्रु ल्याउने र सिमकोटबाट हिल्सासम्म हेलिकोप्टरमार्फत ओसारपसार हुने गरेको छ। सिता, तारा र समिट एयरका जहाजसँगै ६ वटा हेलिकोप्टरले नियमित उडान भर्ने गरेका छन्। मौसम खुलेमा बिहान ६ बजेबाटै उडान सुरु हुने र ढिलो खुलेमा दिउँसो १२ बजेतिर मात्रै हुने गरेको छ।
पर्यटकको चापसँगै सिमकोट र हिल्साका होटल भरिभराउन थालेका छन्। पर्यटन व्यवसायी मिनबहादुर तामाङका अनुसार सिमकोटमा १० र हिल्सामा ७ होटल सञ्चालनमा छन्। मौसमी आधारमा चल्ने यी होटलले यसै सिजनको आम्दानीबाट वर्षभरको खर्च धान्ने अवस्था छ।
सिमकोट र हिल्सामा ५० भन्दा बढी भरियाले पर्यटकको सामान बोक्दै आम्दानी गरिरहेका छन्। सिमकोट विमानस्थलदेखि होटलसम्म सामान बोक्दा ५० रुपैयाँ र हिल्सामा हेलिप्याडदेखि नाकासम्म झोला बोकेको १५० रुपैयाँसम्म लिने गरिएको छ।
त्यस्तै, स्थानीय कृषकले उत्पादन गरेको तरकारीले पनि सहज बजार पाएको किसान रुपेन्द्र रोकायाले बताए। गत वर्षसम्म होटलमा चाहिने तरकारी नेपालगन्ज र सुर्खेतबाट आयात गर्नुपर्ने भए पनि यस वर्ष स्थानीय उत्पादनले माग धानिरहेको उनले बताए।