पोखरा । गण्डकीस्थित पोखरा पर्यटन परिषद्ले पर्यटन क्षेत्रमा व्यावसायिक सुरक्षा कायम गर्न सरकार तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ।
परिषद्का अध्यक्ष तारानाथ पहारीले आइतबार सार्वजनिक अपिल जारी गर्दै आन्दोलनका नाममा हुने बन्द, हड्ताल, तोडफोड र आगजनीजस्ता गतिविधिले पर्यटन व्यवसाय प्रत्यक्ष प्रभावित हुने भन्दै यस क्षेत्रमा सुरक्षित वातावरण आवश्यक भएको बताए।
उनका अनुसार भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमाथि भएको तोडफोड, आगजनी र लुटपाटले परिषद्को गम्भीर ध्यानाकर्षण गरेको छ। मुलुकमा विदेशी मुद्रा भित्र्याउने प्रमुख आधार पर्यटन उद्योगमाथि भएको प्रहारप्रति उनले खेद व्यक्त गरे।
कोभिड–१९ पछि पुनः गति लिन थालेको पर्यटन व्यवसायलाई लक्षित गर्दै होटल, रेष्टुरेन्ट, पसल र पर्यटकीय सवारी साधनहरूमाथि भएको तोडफोड र आगजनीप्रति परिषद्ले गहिरो दुःख प्रकट गरेको छ। साथै, यसबाट प्रभावित उद्यमी तथा व्यवसायीहरूप्रति सहानुभूति व्यक्त गरेको छ।
परिषद्ले आन्दोलनका नाममा भएका यस्ता अवाञ्छित गतिविधिको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्न र पीडितलाई उचित क्षतिपूर्ति दिन माग गरेको छ।
त्यसैगरी, प्रदर्शनका क्रममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिषद्ले शोकाकुल परिवारप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।