काठमाडौं । हालै भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनले नेपालका होटल तथा पर्यटन क्षेत्रमा क्षति पुर्याएपछि दुई हजार हाराहारीको रोजगारी प्रभावित बनेको छ । करिब २५ होटलले आक्रमणबाट क्षति खेप्नुपरेको र दुई हजार कर्मचारी तथा कामदारको जागिर प्रभावित भएको प्रारम्भिक आँकलन गरिएको होटल संघ नेपाल (हान)ले जनाएको छ ।
आगामी सेप्टेम्बर २७ मा नेपालले विश्व पर्यटन दिवस मनाउँदै छ । यस अवसरमा प्रधानमन्त्री सुशीला कार्कीले विश्वसमक्ष सशक्त सन्देश दिनुपर्ने संघका अध्यक्ष विनायक शाहको आग्रह छ । प्रधानमन्त्रीको सम्बोधनमार्फत नेपाल सुरक्षित पर्यटन गन्तव्य रहेको स्पष्ट सन्देश दिनुपर्ने, हालका घटनाले पर्यटकलाई कुनै क्षति नपुगेको तथ्य विश्वसामु प्रस्तुत गर्नुपर्ने र आगामी दिनमा सरकार र निजी क्षेत्र मिलेर पर्यटनलाई अर्थतन्त्रको मेरुदण्ड बनाउन प्रतिबद्ध रहेको देखाउनुपर्नेछ ।
पर्यटकको सुरक्षा, सुविधा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखिने स्पष्ट नीति उच्चस्तरबाट सुनाउनुपर्ने शाहले बताए । यसैका लागि आइतबार हानले नेपाल पर्यटन बोर्ड र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्र लेखिसकेको छ । ‘यो जरुरी देखिएको छ । यसरी प्रधानमन्त्रीकै मुखबाट विश्वव्यापी निम्तो गयो भने नेपालका लागि ठूलो अवसर बन्न सक्छ,’ शाहले भने ।
‘पर्यटन सिजन सुरु भइसकेको, दसैं, तिहार तथा छठ पर्व नजिकिँदै गरेको र वायुसेवा कम्पनीहरू अधिकतम मात्रामा स्वदेशी तथा विदेशी यात्रुहरूलाई सेवा दिन तयारी अवस्थामा रहेको बेला सदस्य कम्पनीमाथि भएको यस्तो आक्रमणले व्यवसाय नै संकटमा पर्न सक्ने देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।
हाल सबै वायुसेवा (हवाईजहाज तथा हेलिकप्टर) कम्पनीको सेवा पूर्ण रूपमा सुरु भएको संघले जनाएको छ । आक्रमणमा संलग्न जोसुकै भए पनि सत्यतथ्य पत्ता लगाई दोषीलाई कडाभन्दा कडा कारबाही गर्न सम्बन्धित निकायलाई संघले आग्रह गरेको छ ।