काठमाडौं । नेपालको पर्यटन क्षेत्रलाई पुनर्जीवन दिन सरकार र निजी क्षेत्रले सामूहिक प्रतिबद्धता जनाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सक्रियता र नेपाल पर्यटन बोर्डको समन्वयमा आयोजित छलफलमा सरोकारवाला संघ–संस्थाका प्रमुख र प्रतिनिधिहरूले संयुक्त रूपमा पर्यटन पुनःउत्थानमा लाग्ने अठोट गरेका हुन् ।
‘जेनजी’ आन्दोलनका कारण पर्यटन संरचनामा परेको क्षति र चुनौतीलाई स्वीकार्दै सहभागीहरूले नेपाललाई पुनः सुरक्षित, आकर्षक र सहज गन्तव्यका रूपमा स्थापित गर्ने प्रतिवद्धता व्यक्त गरे ।
मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले नीतिगत अवरोध हटाएर निजी क्षेत्रसँग सहकार्य गर्दै पर्यटन पुनःस्थापनाका पहल भइरहेको जानकारी दिए । उनले नेपाललाई सुरक्षित गन्तव्यका रूपमा प्रवर्द्धन गर्न सूचना प्रविधिको अधिकतम प्रयोग गर्ने र पर्यटकको सुरक्षित आवागमनमा प्राथमिकता दिने बताए ।
नेपाल पर्यटन बोर्ड, होटल संघ नेपाल, नाटा, टान, पाटा लगायतका संस्थाका पदाधिकारीहरूले पर्यटन प्याकेज सार्वजनिक गर्नुपर्ने, दूतावास तथा प्रवासी नेपालीमार्फत सकारात्मक सन्देश फैलाउनुपर्ने, ट्रेकिङ र साहसिक गन्तव्यहरू सुरक्षित रहेको प्रचार गर्नुपर्ने धारणा राखे ।
छलफलमा सहभागी होटल व्यवसायीहरूले क्षति भए पनि पाहुनालाई स्वागत र आतिथ्यमा कमी नहुने बताए भने ट्राभल एजेन्सी र टुर अपरेटरहरूले कैलाश यात्रासहित अन्य गन्तव्य सहज बनाउन आवश्यक सहजीकरण माग गरे ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले विगतका विपद् र संकटपछिका अनुभवलाई आधार मानेर छोटो अवधिमै उदाहरणीय पुनःउत्थान सम्भव हुने विश्वास व्यक्त गरे ।
पाँचतारे तथा चारतारे होटलका प्रमुखहरूसँग पनि छुट्टै छलफल भएको र उनीहरूले पाहुनालाई स्वागत गर्न तयारी रहेको जानकारी बोर्डले दिएको छ ।
यी सबै छलफलले देखाएअनुसार सरकार, पर्यटन बोर्ड र निजी क्षेत्र पर्यटन पुनःउत्थानका लागि एकमत बनेका छन् । सहभागीहरूले हालका चुनौतीलाई अवसरमा बदल्दै नेपाललाई अझ सुरक्षित र आकर्षक गन्तव्य बनाउन सामूहिक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।