काठमाडौं । जेनजी आन्दोलनपछि फैलिएको हिंसात्मक घटनाले मुलुकको पर्यटन क्षेत्रलाई ठूलो धक्का पुर्याएको छ। राज्यको दमनपछि सुरु भएको आक्रोशले राजधानीलगायतका प्रमुख सहरका अन्तर्राष्ट्रिय चेन होटलहरू नै लक्षित भएपछि पर्यटन उद्योगमाथि नकारात्मक प्रभाव परेको हो।
राजधानीमा सञ्चालनमा रहेका हायात रिजेन्सी र डेढ वर्षअघि मात्रै खुलेको हिल्टन होटलमा तोडफोड र आगजनी भएपछि अन्तर्राष्ट्रिय स्तरमै नकारात्मक सन्देश प्रवाह भएको छ। हिल्टन होटलको टावरबाट उठेको धुँवाको दृश्य सामाजिक सञ्जालमा भाइरल बनेपछि घटनाले नेपाललाई असुरक्षित गन्तव्यका रूपमा प्रस्तुत गरेको पर्यटन विज्ञहरूको भनाइ छ।
यस्तै, पोखरासहितका पर्यटकीय क्षेत्रमा रहेको नेपालिरिका, मेची क्राउन लगायतका होटलमाथि समेत आक्रमण भएपछि करिब दुई दर्जन होटलमा झन्डै २५ अर्ब रुपैयाँ बराबरको क्षति भएको होटल संघ नेपाल (हान) ले जनाएको छ।
नेपाल ट्रेकिङ एजेन्सीज् एसोसिएशन (टान) का अध्यक्ष सागर पाण्डेले द्वन्द्व वा लामो बन्दहडतालकै समयमा पनि ठूला अन्तर्राष्ट्रिय होटल लक्ष्य नभएको तर यसपटक भने प्रत्यक्ष क्षति पुगेको बताए। उनका अनुसार यस्ता घटनाले नेपाल सुरक्षित गन्तव्य होइन भन्ने गलत सन्देश पुगेको छ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीका अनुसार आन्दोलनकै बेला नेपालमा रहेका करिब ३५ हजार विदेशी पर्यटकमध्ये कतिपयले प्रत्यक्ष आक्रमणको अनुभव गरेका छन्। हिल्टन, हायात र पोखराका होटलमा परेको असरले धेरैजना नेपालप्रति नकारात्मक धारणा बोकेर फर्कनुपर्यो,' उनले भने। उनका अनुसार विदेशी लगानीकर्ताले समेत यसलाई गम्भीर रूपमा लिने भएकाले तत्काल रिकभरी रणनीति आवश्यक छ।
हाल नेपालमा अन्तर्राष्ट्रिय चेन होटल भित्र्याउने प्रतिस्पर्धा बढेको छ। होटल सोल्टी अटोग्राफ कलेक्सनमा रूपान्तरण भइसकेको छ भने हिल्टन र हायातले ठूला लगानी गरेका छन्। उद्योग विभागका तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ मा मात्रै पर्यटनसम्बन्धी ३०४ परियोजनामा २६ अर्ब ८२ करोड रुपैयाँ बराबरको विदेशी लगानी स्वीकृत भएको छ।
नेपाल राष्ट्र बैंकका अनुसार हालसम्म सेवा क्षेत्रमा ४०.५ प्रतिशत विदेशी लगानी भएको छ, जसमा होटल तथा रेस्टुरेन्ट क्षेत्रको लगानी २६ अर्ब ९० करोड रुपैयाँ नाघिसकेको छ। यो क्रम पछिल्ला वर्षयता बढ्दो छ।
तर, भदौ २४ गतेको आक्रमणले विदेशी मात्र होइन, स्वदेशी लगानीकर्ताको उत्साहमा समेत कमी आउने अर्थशास्त्रीको भनाइ छ। उनका अनुसार आगामी दुई वर्षसम्म ठूलो लगानी भित्र्याउने सम्भावना न्यून देखिन्छ।
लगातार बढ्दो लगानीबीच अन्तर्राष्ट्रिय चेन होटलहरू नै आक्रमणको निशानामा पर्नु मुलुकको पर्यटन छवि मात्र नभई समग्र लगानी वातावरणकै लागि गम्भीर चुनौती बनेको छ।