काठमाडौँ । सेप्टेम्बरको पहिलो १५ दिनमा नेपाल आउने विदेशी पर्यटकको संख्या एकाएक घटेको छ। नेपाल पर्यटन बोर्डका अनुसार १ देखि १५ सेप्टेम्बरसम्म हवाईमार्ग हुँदै ३३ हजार ६३८ जना विदेशी पाहुना नेपाल आएका थिए।
महिनाको सुरुवाती आठ दिनमै २५ हजार ४५१ जना पर्यटक भित्रिए, जसको दैनिक औसत ३ हजार १८१ थियो। तर, सेप्टेम्बर ८ पछि जेनजी आन्दोलन सुरु भएपछि आगमन दर ह्वात्तै खस्कियो। सेप्टेम्बर ९ देखि १४ सम्म मात्र ८ हजार १८७ जना विदेशी पर्यटक नेपाल आए, जसको दैनिक औसत घटेर १ हजार ३६५ मा सीमित भयो।
पोखरास्थित पर्यटन बोर्ड प्रमुख मणिराज लामिछानेका अनुसार आन्दोलनको प्रत्यक्ष असरले होटल बुकिङ कम्तीमा ४० प्रतिशत रद्द भएको छ। आएका पाहुना समेत बसाई छोट्याएर फर्किन बाध्य भए। पोखराबाट मात्र दुई दिनमा करिब ५ सय विदेशी पाहुनालाई गाडीमार्फत काठमाडौं पठाउनुपरेको उनले जानकारी दिए।
उनका अनुसार आन्दोलनका क्रममा पोखरा र काठमाडौंका ठूला होटल, रेस्टुरेन्टलगायतका पूर्वाधारमा आगजनी र तोडफोड हुँदा पर्यटक थप आत्तिएका थिए। यसअघि कुनै पनि बन्द वा हड्तालमा पर्यटकीय संरचना सीधै निशाना नबनेको भए पनि यसपटक होटल र रेस्टुरेन्टमा आगजनी भएपछि विदेशी पाहुनामा मानसिक त्रास देखिएको उनले बताए।
पोखरामा होटल सरोवर, वरपीपल रिसोर्ट, होटल गुडविल, होटल एडम, मन्त्र थकाली रेस्टुरेन्ट, साम्बला क्याफे, बगैंचा रिसोर्ट, गंगा ट्याटु हाउस, अंशुभरा भवन, केटिएम सिटी सुपरमार्केट र हिमालयन जाभा लगायतका व्यवसायमा तोडफोड र आगजनी हुँदा करिब तीन अर्ब रुपैयाँ बराबरको क्षति भएको होटल संघले प्रारम्भिक अनुमान गरेको छ।
पर्यटन बोर्डले विदेशी पाहुनालाई तत्काल यात्रा रद्द नगरी केही समयपछि नेपाल आउन आग्रह गरेको छ। लामिछाने भन्छन्, “विदेशी पाहुनामाथि प्रत्यक्ष समस्या भने परेको छैन, तर आन्दोलनका कारण उनीहरू त्रसित छन्। त्यसैले अहिलेको यात्रा केही दिन पछाडि सारेर भए पनि नेपाल आउन सकिन्छ।”
पर्यटक आगमनको मुख्य सिजनमै आन्दोलन परेकाले आगामी केही महिना पर्यटन क्षेत्र थप चुनौतीपूर्ण हुने बोर्डको मूल्यांकन छ। नोभेम्बरसम्मका बुकिङहरू पनि प्रभावित भइसकेका छन्। पोखराका ठूला होटलहरूले यस सिजनका लागि ८० प्रतिशतसम्म बुकिङ पाएका थिए, तर आन्दोलनका कारण तीमध्ये धेरै रद्द भइसकेको व्यावसायीहरूले बताएका छन्।
लेकसाइडजस्ता चहलपहल हुने क्षेत्र अहिले सुनसान देखिएको र पर्यटन क्षेत्रले पुनः गति दिन रणनीति बनाउन थालेको पर्यटन बोर्डले जनाएको छ।