काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपाली नागरिकका लागि भिजिट र कामदार भिसा अस्थायी रूपमा रोक लगाएको छ। भदौ ३० गतेदेखि भिजिट भिसा रोकिएकोमा त्यसको भोलिपल्टै कामदार भिसा पनि बन्द भएपछि धेरै नेपाली वैदेशिक रोजगारी तथा भ्रमण योजनामा अन्यौलमा परेका छन्।
यूएईस्थित नेपाली दूतावासले यसबारे औपचारिक जानकारी प्राप्त नभएको स्पष्ट पारेको छ। तर, वैदेशिक रोजगार व्यवसायी तथा भिसा सेवाप्रदायक कम्पनीहरूले निवेदन अस्वीकृत हुन थालेको र अन्तिम आवेदन दिन नसकिएको बताएका छन्।
नेपालमा हालै भएको जेन–जी आन्दोलनका क्रममा तोडफोड, आगजनी र कैदीबन्दी फरारजस्ता घटनासँग यो निर्णयलाई जोडेर हेरिए पनि यसको आधिकारिक पुष्टि भएको छैन।
यसअघि अबुधाबी र दुबईमा नेपालीलाई भिजिट भिसा रोकिएकोमा सेवा प्रदायक कम्पनीहरूले सारजाहमार्फत भिसा निकाल्दै आएका थिए। तर हाल यो सुविधा पनि बन्द भएको छ। कामदार भिसा टाइपिङ भए पनि अन्तिम स्वीकृति नदिइएको कम्पनीहरूले बताएका छन्।
दूतावास स्रोतका अनुसार यूएई अध्यागमनले सबै नेपाली भिसा आवेदन रोकेको छ तर यो रोक अस्थायी हो वा दीर्घकालीन भन्नेबारे कुनै प्रष्टता छैन।
यूएईले यसअघि इजिप्ट, पाकिस्तान, बंगलादेश, इथियोपिया र युगाण्डाका नागरिकका लागि पनि यस्तै प्रतिबन्ध लगाएको थियो। अहिले नेपाल पनि सो सूचीमा थपिएको हो।
भिसा रोकका कारण वैदेशिक रोजगारमा जाने तयारी गरेका युवा, व्यवसायी, म्यानपावर कम्पनी मात्र नभई यसै महिनाको अन्त्यतिर सारजाहमा हुने नेपाल र वेस्ट इन्डिजबीचको खेलसमेत प्रभावित हुने देखिएको छ। खेलाडीलाई भिसा मिल्ने भए पनि प्रायोजक, व्यवसायी र दर्शकलाई समस्या पर्ने अनुमान गरिएको छ।
नेपाली दूतावासका अनुसार पछिल्लो समय करिब तीन लाख नेपालीले भिजिट भिसामार्फत यूएईमा प्रवेश गरी कामदार भिसामा रूपान्तरण गरेका थिए।