ढाका । बंगलादेशको ढाकामा सम्पन्न १२औं एशियन पर्यटन मेलामा नेपाल पर्यटन बोर्डले बंगलादेशी पर्यटकलाई नेपाल भ्रमणका लागि विशेष आह्वान गरेको छ ।
असोज २ (सेप्टेम्बर १८० देखि असोज ४) सेप्टेम्बर २०० सम्म अन्तर्राष्ट्रिय कन्वेन्सन सिटी बासुन्धरामा आयोजित मेलामा बोर्डले “नेपाल पर्यटक स्वागतका लागि पूर्ण रूपमा तयार छ” भन्ने सन्देश प्रवाह गरेको हो ।
हालैको जेन–जी आन्दोलनका कारण नेपालमा देखिएका चुनौतीपछिको यो पहिलो ठूलो अन्तर्राष्ट्रिय सहभागिताले बंगलादेशी पर्यटक र व्यवसायीलाई नेपाल सुरक्षित र सहज गन्तव्य बनेको सन्देश दिएको छ ।
नेपालका लागि बंगलादेशस्थित राजदूत घनश्याम भण्डारीले उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेपालको पर्यटन उद्योग छिटो पुनर्जीवित हुने क्षमतायुक्त रहेको बताएका थिए । उनले नेपाल–बंगलादेश पर्यटन सहकार्य र जनस्तरीय सम्बन्ध अझ प्रगाढ बनाउन पहल भइरहेको उल्लेख गरे ।
नेपाल स्टलमा आगन्तुकहरूको उल्लेख्य भीड देखिएको थियो । सहभागी नेपाली कम्पनीहरूले नयाँ अवसर पहिचान गर्ने, सम्बन्ध नवीकरण गर्ने र आफ्ना प्याकेज तथा सेवाहरू प्रदर्शनीमा प्रस्तुत गरेका थिए ।
बंगलादेशी आगन्तुकहरूले हालैको राजनीतिक आन्दोलनपछि नेपालको अवस्थाबारे जिज्ञासा राखे पनि नेपाल छिट्टै सामान्यतर्फ फर्किएको देख्दा सन्तुष्टि व्यक्त गरेका थिए । उनीहरूले बंगलादेशकै विगत राजनीतिक घटनासँग तुलना गर्दै नेपाल भ्रमण योजनामा कुनै असर नपरेको प्रतिक्रिया दिएका छन् ।
पर्यटन बोर्डका तथ्यांकअनुसार बंगलादेश नेपालका लागि तीव्र रूपमा बढ्दो बजार बनेको छ । सन् २०२४ मा करिब ४९ हजार बंगलादेशी पर्यटक नेपाल आएका थिए भने सन् २०२५ को पहिलो आठ महिनामै ३२ प्रतिशत वृद्धिसहित आगमन दर बढेको छ ।
यस वर्षको मेलामा आठ देशका १५० संस्थाले १८० स्टलमार्फत सेवा र प्याकेज प्रस्तुत गरेका थिए । नेपालतर्फबाट बोर्डसँगै हिमालयन क्लब टुर्स एण्ड ट्राभल, नेपाल बिग माउन्टेन ट्राभल कम्पनी, दि ट्रेक नेपाल, गो नेपाल टुर्स एण्ड ट्रेकिङ, स्नोवी होराइजन ट्रेक्स, क्लासिकल एडभेन्चर नेपाल, हिमालगरी ट्राभल एण्ड टुर्स, फिमेल गाइड काठमाडौं, काठमाडौं स्वीट होम, र रेगुलस ट्रेक्स एण्ड एक्सपिडिसन गरी १० कम्पनी सहभागी भएका थिए ।
नेपाल पर्यटन बोर्डका अनुसार यस सहभागिताले नेपाल सुरक्षित, मैत्रीपूर्ण र आतिथ्यपूर्ण गन्तव्य भएको स्पष्ट सन्देश बंगलादेशी बजारमा पुर्याएको छ, जसले दुई देशबीचको पर्यटन सम्बन्धलाई अझ मजबुत बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ ।