रसुवा । गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर १, नागथलीभन्दा माथि तारुचेसँगै अवस्थित सरस्वती कुण्डमा गत भदौ २२ गते पूर्णिमाको दिन मेला लाग्यो। मेलाको मुख्य उद्देश्य पर्यटन प्रवर्द्धन गर्नु र स्थानीय जनताको जीविकोपार्जनमा सहयोग पुग्ने रहेको छ।
वडा अध्यक्ष उर्केन लामाका अनुसार, इतिहासमा पहिलोपटक आयोजना गरिएको यस मेलामा थुमनवासीहरू सहभागी भएका थिए। सम्पूर्ण खर्च वडाबाट व्यहोरेको हुँदा मेलामा स्वयंसेवक, खाना र बसाइ सबै निःशुल्क प्रदान गरिएको थियो। मेलामा सहभागी हुन भदौ २१ गते सरस्वती कुण्ड पुगेका लामा–झाँक्रीहरूले २२ गते बिहानदेखि नाचगान गर्दै आफ्नो, परिवार, समाज, प्रकृति, सास भएका जनावर र राष्ट्रको हितका लागि प्रार्थना गरेका थिए।
समुन्द्री सतहदेखि ३७१० मिटरको उचाइमा रहेको सरस्वती कुण्ड धार्मिक तथा ऐतिहासिक दृष्टिले महत्वपूर्ण मानिन्छ। स्थानीय जनविश्वास अनुसार सत्ययुगमा महादेव, पार्वती र सरस्वती पृथ्वी भ्रमण गर्दै यस क्षेत्रमा पुगेका थिए। महादेव गोसाइँकुण्डमा वासरत रहे भने पार्वती पार्वतीकुण्डमा बसिन्। सरस्वतीले बस्न उपयुक्त स्थान खोजी गर्दा नेपाल–तिब्बत सिमानामा रहेको यस कुण्डमा वास बसिन् र त्यसैले यसलाई ‘सरस्वती कुण्ड’ नामकरण गरिएको बताइन्छ।
धार्मिक महत्वबाहेक, मालागढी पनि यही क्षेत्रमा पर्दछ। तामाङ समुदायको मार्गमा पर्ने यस ठाउँको प्रचार–प्रसार पर्याप्त नहुँदा धेरैले थाहा पाएका छैनन्। वडा अध्यक्ष उर्केन लामाका अनुसार, ओझेलमा परेको सरस्वती कुण्डलाई व्यापक रूपमा चिनाउन र पर्यटन प्रवर्द्धन गर्न पूर्णिमामा मेला आयोजना गरिएको हो। उनले अब हरेक वर्ष यही पूर्णिमामा मेला लाग्ने जानकारी दिएका छन्।