काठमाडौँ । हालैका जेन–जी प्रदर्शनले केही पर्यटन व्यवसायीलाई निराश पारे पनि नेपाल पर्यटन बोर्डले अन्तर्राष्ट्रिय स्रोत बजारमा पर्यटन प्रवर्द्धनलाई तीव्रता दिएको छ।
प्रदर्शनपछि नेपालको पर्यटनबारे सकारात्मक सन्देश फैलाउन बोर्डले विभिन्न प्रवर्द्धनात्मक कार्यक्रम अघि बढाएको हो। यसै क्रममा, बोर्डले असोज २–४ गते बङ्गलादेशको राजधानी ढाकामा आयोजना भएको १२औँ एसियन पर्यटन मेलामा सहभागी हुँदै नेपाल विदेशी पर्यटक स्वागतका लागि पूर्ण रूपमा तयार रहेको सन्देश दिएको छ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले भने, “प्रदर्शनले केही क्षति पुर्याए पनि पर्यटन क्षेत्रमा ठूलो प्रभाव पारेको छैन। पर्यटन बजार अहिले सामान्य अवस्थामा फर्किसकेको छ र यो सन्देश हामीले अन्तर्राष्ट्रिय स्रोत बजारमा पुर्याउँदैछौं। यही सन्दर्भमा बङ्गलादेशमा प्रवर्द्धन गरेका हौँ।”
बङ्गलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले मेलाको उद्घाटनमा नेपालको पर्यटन क्षेत्र विभिन्न चुनौतीबीच पनि छिटो पुनरुत्थान भइरहेको बताए। उनले नेपाल–बङ्गलादेशबीचको पर्यटन सहकार्य र जनस्तरीय सम्बन्ध अझ मजबुत बनाउन पहल भइरहेको पनि जानकारी दिए।
मेलामा नेपाली कम्पनीहरूले नयाँ अवसर पहिचान गर्ने, पुराना सम्बन्ध नवीकरण गर्ने र प्याकेज तथा सेवा प्रस्तुत गर्ने अवसर पाएका थिए। बङ्गलादेशी आगन्तुकहरूले नेपालमा जेन–जी आन्दोलनपछिको अवस्थाबारे जिज्ञासा राख्दा, उनीहरूले नेपालको राजनीतिक घटनाक्रमले भ्रमण योजनामा कुनै असर नपरेको प्रतिक्रिया दिएका थिए।
नेपालमा सन् २०२४ मा करिब ४९ हजार बङ्गलादेशी पर्यटक आएका थिए भने सन् २०२५ को पहिलो आठ महिनामा झन्डै ३२ प्रतिशत वृद्धि भएको बोर्डले जनाएको छ। भौगोलिक नजिकता, समान जीवनशैली र बढ्दो आर्थिक क्षमता कारण बङ्गलादेशका पर्यटकका लागि नेपाल प्रमुख गन्तव्य बन्न सक्ने विश्वास बोर्डको छ।
नेपाल पर्यटन बोर्ड, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सरोकारवालाले पर्यटन पुनरुत्थानमा सक्रिय भूमिका खेलिरहेको बोर्डले बताएको छ। बोर्डले आन्तरिक मात्र नभई अन्तर्राष्ट्रिय स्रोत बजारमा पनि नेपाल सुरक्षित र आकर्षक गन्तव्य रहेको सन्देश फैलाइरहेको छ।
साथै, बोर्डले आफ्नो वेबसाइटमार्फत विभिन्न पर्यटकीय गन्तव्यमा भ्रमण गरिरहेका पर्यटकहरूको अनुभवलाई लाइभ भिडियोमार्फत सार्वजनिक गर्दै प्रवर्द्धन जारी राखेको छ। यसका लागि प्यासिफिक एसिया ट्राभल एसोसिएसन (PATA), संयुक्त राष्ट्रसङ्घीय विश्व पर्यटन सङ्गठनसँग पनि सहकार्य गरिएको छ।