रामेछाप । रामेछापको ऐतिहासिक धार्मिक तीर्थस्थल त्रिवेणी नर्वदेश्वर महादेव मन्दिर प्रचारप्रसारको कमीका कारण सुनसान बनेको छ।
खाँडादेवी गाउँपालिका–४ स्थित सुनकोशी र तामाकोशी नदीको संगमस्थलमा रहेको यो महादेव मन्दिर पुरानो भए पनि यसको पर्याप्त प्रचार र व्यवस्थापन हुन सकेको छैन, जसले गर्दा स्थानिय र बाह्य पर्यटकको ध्यानबाट बाहिर परेको छ।
स्थानीय स्रोत अनुसार, नेपाल एकीकरणको क्रममा राजा पृथ्वीनारायण शाहले यस मन्दिरमा पाठपूजा गरेका थिए। सिन्धुलीगढीको युद्धमा रामेछापको मुगिटारका रामचन्द्र प्रसाईंले पृथ्वीनारायण शाहका सेनालाई आर्थिक तथा खाद्यान्न सहयोग गरेकाले प्रसाईंको मागअनुसार मन्दिरको नाममा मुगिटार क्षेत्रका खेत, सान्ने र अमारे क्षेत्रका बारी गुठीको रूपमा परिणत गरिएको थियो। उक्त लिखत आज पनि सुरक्षित रहेको स्थानीय बुढापाकाहरू बताउँछन्।

मन्दिरको नाममा रहेको गुठीको जग्गाको धानले पुजारी तथा गाई हेर्ने र मन्दिरको रखवारी गर्ने टहलुवालाई ज्याला दिने गरिएको छ । त्यस्तै, धानको परालबाट मन्दिरमा पालिएका गाईलाई घाँस खुवाइन्छ।
हाल मन्दिरमा स्थायी पुजारी नहुँदा नियमित पूजा र व्यवस्थापनमा समस्या देखिएको छ। स्थानीयका अनुसार, पुजारी नहुँदा दैनिक पूजा मन्दिरका टहलुवा गोपाल माझीले नै गर्ने गरेका छन्।
दुई वर्षअघि पुरातत्व विभागले मन्दिरलाई पुरातात्विक दृष्टिले संरक्षित गरिसकेको छ, तर मन्दिरसँगै रहेका कुटी र पाटी जीर्ण अवस्थामा छन् र यसको मर्मतमा राज्यको ध्यान पुगेको छैन।
अहिले मन्दिर नजिकै सुनकोशी–मरिण डाइभर्सन ड्याम निर्माण भइरहेको छ। ड्याम निर्माणपछि पर्यटकको संख्या बढ्ने अपेक्षा गरिएको छ, जसले मन्दिरको महत्व बढाउनेछ। तर यसको संरक्षण र व्यवस्थापन अझ आवश्यक छ।