सिन्धुपाल्चोक । बलेफी गाउँपालिका–३ स्थित ठुलो छाँगामा आयोजना गरिएको चार दिने क्यानोनिङ फेस्टिबल २०८२ भव्य रूपमा सम्पन्न भएको छ। भदौ ३१ देखि असोज ३ गतेसम्म चलेको यस कार्यक्रममा करिब ३०० स्थानीयवासी र खेलप्रेमी सहभागी मध्ये जसमा ७० जनाले पहिलो पटक प्रत्यक्ष क्यानोनिङको अनुभव लिएका थिए।
फेस्टिबल संयोजक प्रीतम गोले तामाङका अनुसार, गत वर्ष ठुलो छाँगामा क्यानोनिङका लागि आवश्यक पूर्वाधार तयार गरिएको थियो र १२ स्थानीय युवालाई प्रारम्भिक तालिम पनि दिइएको थियो। यस वर्षको फेस्टिबलको उद्देश्य क्यानोनिङलाई ग्रामीण पर्यटनसँग जोड्दै अझ व्यापक प्रचार–प्रसार गर्नु रहेको थियो।
-(2)-1758621716.png)
बलेफी गाउँपालिका–३ का वडा अध्यक्ष रितेश तामाङले भने, “सुकुटे आउने हजारौं पर्यटकलाई ठुलो छाँगामा क्यानोनिङ अनुभव गराउँदै भृकुटी जन्तेढुङगो डाँडा हाइकिङ गर्ने योजना लागू गर्नाले माथिल्लो बलेफीको पर्यटन र स्थानीय अर्थतन्त्रमा सकारात्मक योगदान पुग्नेछ।”
फेस्टिबल उद्घाटन गाउँपालिकाकी उपाध्यक्ष सरु लामा तामाङको प्रमुख आतिथ्यतामा भएको थियो। उनले निर्वाचनपछिको पहिलो वर्षमै क्यानोनिङ र रक क्लाइम्बिङका लागि बजेट विनियोजन, सम्भाव्यता अध्ययन, प्राविधिक काम र पूर्वाधार निर्माण सुरु गरिएको जानकारी दिइन्। उनका अनुसार, बलेफीलाई साहसिक खेलको गन्तव्य बनाउँदै स्थानीय युवालाई रोजगारी सिर्जना गर्नु यस पहलको मुख्य उद्देश्य हो।

फेस्टिबलमा इन्सुहाङ राई मुख्य प्रशिक्षकका रूपमा सहभागी थिए भने सुजन जिम्बा, संगम रुम्बा, दिपक तामाङ र अखिल तामाङ सहयोगी गाइडको भूमिका निभाएका थिए। पहिलो दिन सुरक्षा अभिमुखिकरण गराइएको थियो र बाँकी दिनहरूमा सहभागीलाई निःशुल्क क्यानोनिङ अनुभव गराइएको थियो।
प्रशिक्षक राईले भने, “नेपालमा हजारौं सुन्दर झरना रहेका कारण उचित पूर्वाधार, तालिमप्राप्त गाइड र प्रभावकारी प्रचार–प्रसार भएमा यो खेल विश्वस्तरमै स्थापित गर्न सकिन्छ। अनुभवी गाइडसँग खेल्दा क्यानोनिङ पूर्ण रूपमा सुरक्षित हुन्छ।”

काठमाडौंदेखि ८२ किलोमिटर र सुकुटेदेखि १४ किलोमिटर टाढा रहेको ठुलो छाँगालाई क्यानोनिङका लागि अत्यन्त सम्भावनायुक्त स्थल मानिन्छ।