काठमाडौं । नेपाल पर्यटन बोर्डले आउँदो WTM लण्डन २०२५ मा सहभागी हुन इच्छुक पर्यटन कम्पनीहरूलाई आवेदन दिन आह्वान गरेको छ। नोभेम्बर ४ देखि ६ तारिखसम्म लण्डनमा हुने यो मेलामा सहभागी हुन इच्छुक कम्पनीहरूले २ लाख ५० हजार रुपैयाँ शुल्क तिरेर आवेदन दिनसक्ने छन्।
सेप्टेम्बर २५, २०२५ भित्रै अनिवार्य रूपमा अनलाइनमार्फत https://tenders.ntb.gov.np मा दर्ता गरी आवेदन दिनुपर्ने बोर्डले जनाएको छ। कम्पनी दर्ता प्रमाणपत्र, भ्याटरप्यान प्रमाणपत्र, आ.व. २०८०/८१ को कर चुक्ता प्रमाणपत्र, मान्य इजाजतपत्र, नेपाल राष्ट्र बैंकले जारी गरेको विदेशी मुद्रा विनिमय प्रमाणपत्र तथा कम्तीमा तीन वर्षदेखि सञ्चालनमा रहेको प्रमाणपत्रजस्ता कागजात अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।
योग्य आवेदकको छनोट पहिले दर्ता हुने कम्पनिलाई पहिलो प्राथमिकताको आधारमा हुने बताइएको छ। छनोट भएका कम्पनीलाई बोर्डले इमेलमार्फत जानकारी दिनेछ।
नेपाल पर्यटन बोर्डले सहभागी कम्पनीहरूले यात्रा, होटल बसोबास, भिसा लगायतका सम्पूर्ण व्यवस्था आफैं गर्नुपर्ने पनि स्पष्ट पारेको छ।
थप जानकारीका लागि बोर्डको पर्यटक सेवा केन्द्र, भृकुटीमण्डप, काठमाडौंमा सम्पर्क गर्न सकिने तथा बोर्डको आधिकारिक वेबसाइट www.ntb.gov.np मा हेर्न सकिने सूचनामा भनिएको छ ।
