बर्दिया। मुलुकका दुर्लभ वन्यजन्तु मध्ये सूचीकृत कृष्णसार अवलोकनका लागि आन्तरिक र विदेशी पर्यटक आउन सुरु गरेका छन्। बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटक करिब ४५ किलोमिटर टाढा गुलरिया नगरपालिका–२ खैरापुरस्थित कृष्णसार संरक्षण क्षेत्रमा पुग्न थालेका हुन्।
अंग्रेजीमा ब्ल्याक बक भनिने कृष्णसार अवलोकनका लागि गत आर्थिक वर्ष २०८१/८२ मा कुल ४ हजार ६ सय पर्यटक पुगेका थिए। संरक्षण क्षेत्रका रेन्जर रामु केसीका अनुसार तीमध्ये ४ हजार ५८७ जना नेपाली, १३ जना सार्क मुलुकका र १०७ जना विदेशी पर्यटक थिए।
चालु आर्थिक वर्षको असोज महिनाको पहिलो सातासम्म ४९३ जना पर्यटक संरक्षण क्षेत्रमा पुगेका छन्। यस अवधिमा विदेशी पर्यटक मात्र २ जना रहेका छन्। वर्षा ऋतुका कारण पर्यटक आगमन न्यून भएको बताइन्छ।
तर, संरक्षण क्षेत्रमा रिसोर्ट, होटल वा होमस्टे नभएकाले यहाँ आउने अधिकांश पर्यटक दिनभर अवलोकन गरेर पुनः बर्दिया निकुञ्ज क्षेत्रका होटलतर्फ फर्किने गरेका छन्। हाल संरक्षण क्षेत्र प्रवेशका लागि शुल्क तोकिएको छ– विदेशीलाई २ हजार, सार्क मुलुकका पर्यटकलाई ५ सय र नेपालीलाई १ सय रुपैयाँ।
हाल संरक्षण क्षेत्रमा २४८ वटा कृष्णसार रहेका छन्। तीमध्ये ३२ भाले, १५१ पोथी र ३५ बच्चा रहेको रेन्जर केसीले जानकारी दिए। कृष्णसार मुख्यतः गुलरिया नगरपालिका–२ खैरापुर क्षेत्रमा फैलिएको छ।
संरक्षण समितिका अध्यक्ष दीपेन्द्र यादवका अनुसार संरक्षित क्षेत्रमा अनधिकृत रूपमा बसोबास गरिरहेका बस्ती हटाउन जरुरी छ। भूमिहीनको छानबिन गरी व्यवस्थापन हुनुपर्ने उनको भनाइ छ। समितिले जनाएको अनुसार ७०८ बिघा क्षेत्रफलमध्ये करिब ३५० बिघाभन्दा बढी जग्गा भूमिहीनका नाममा घर–जग्गा बनेर अतिक्रमण भएको छ। सरकारले २०६५ साल चैत ३ गते यस क्षेत्रलाई कृष्णसार संरक्षण क्षेत्र घोषणा गरेको हो।