काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले आजदेखि चीनको गोन्जाओका लागि सिधा उडान सुरु गरेको छ। फ्लाइट नम्बर आरए–४१७ को एयरबस ३२० राति १० बजे पहिलो उडानका लागि प्रस्थान गर्नेछ।
तर, उडान सेवाको विस्तारलाई स्वागत गर्न निगमले गरेको तयारी र तामझामले भने आन्तरिक असन्तुष्टि र आलोचना भित्र्याएको छ। पहिलो उडानमा सांस्कृतिक प्रस्तुति देखाउने उद्देश्यसहित निगमको ठूलो टोली गोन्जाओ जाने तयारी भएको स्रोतले जनाएको छ।
नर्तकीहरू समेत समावेश गरिएको उक्त टोलीमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी, मार्केटिङ निर्देशक टंकनिधि दाहाल, कर्मचारी सुष्मा तामाङ, करिश्मा मालाकार, संगीता प्रजापती, रशु शाक्य, स्पर्श न्यौपाने, सोनिया तामाङ, पासाङ लामा र स्वस्तिका चौलागाईं लगायतको सहभागिता रहने बताइएको छ। केही विमान परिचारिकालाई समेत कलाकारका रूपमा प्रस्तुत गर्ने तयारी भइरहेको छ।
एक अधिकारीले भने, “चौतर्फी बेथिति र सुशासनको माग भइरहँदा अर्बौं ऋण र घाटामा डुबेको संस्थाले यसरी अनावश्यक खर्च गर्नु राम्रो सन्देश होइन।”
यससँगै, कार्यकारी अध्यक्ष अधिकारीले अवकाश नजिकिँदै गर्दा आफैले करारमा भर्ना गरेका कर्मचारीलाई विदेशस्थित कार्यालयमा पठाउन खोजेको आरोपसमेत सार्वजनिक भएको छ।
बेथिति बढ्दै गएको भन्दै जेनजी कर्मचारीहरूले हिजो मात्र प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयमा निवेदन दर्ता गरी अधिकारीलाई तत्काल निलम्बन गरी छानबिन र कारबाही गर्न माग गरेका छन्। निवेदनमा अधिकारीले अन्तर्राष्ट्रिय टिकट बिक्रीमा निश्चित ट्राभल एजेन्सीसँग मिलेमतो गरेको, आवश्यक नभएका स्थानमा जनरल सेल्स एजेन्ट (जीएसए) नियुक्त गरेर करोडौंको घोटाला गरेको आरोप लगाइएको छ।
त्यसैगरी, कार्यकाल सकिन लाग्दा दुई वाइडबडी जहाजको इन्जिन मर्मतका लागि ८ अर्बको टेन्डर प्रक्रिया सुरु नगरी रोल्स रोयस कम्पनीसँग सिंगापुरमा गोप्य वार्ता गरेको विषय पनि उजागर गरिएको छ।
ज्ञापनपत्रमा यसलाई अपारदर्शी प्रक्रिया भन्दै कानूनी र पारदर्शी प्रावधान पालना नगरिएको लगायत १० वटा मुद्दामा छानबिन गर्न माग गरिएको छ।