तनहुँ । विगतका वर्षहरूमा दसैँको समयमा दैनिक हजारभन्दा बढी पर्यटकले गञ्जागोल हुने बन्दीपुर यसपालि सुनसान बनेको छ । गत भदौ २३ र २४ गतेको आन्दोलनअघि होटल तथा होमस्टेको बुकिङ लगभग शतप्रतिशत रहँदै आएको भए पनि त्यसपश्चात् पर्यटक आगमन उल्लेख्य रूपमा घटेको छ ।
बन्दीपुर भ्रमण वर्ष २०२५ को तयारीबीच आएको यो परिस्थितिले पर्यटन व्यवसायीलाई अन्योलमा पारेको छ । सचिवालय संयोजक एवं व्यवसायी वैशबहादुर गुरुङका अनुसार, दसैँ–तिहारजस्ता पर्व बन्दीपुर पर्यटनका लागि स्वर्णिम अवसर मानिँदै आएको हो तर यस वर्षको अवस्था जेनजी प्रदर्शनपछि पूर्णतः बदलिएको छ । उनका अनुसार, बुकिङ रद्द हुन थालेको छ र कोभिडपश्चात् बिस्तारै पुनर्जीवित हुँदै गरेको पर्यटन फेरि धक्कामा परेको अनुभूति भइरहेको छ ।
बन्दीपुर गाउँपालिकाले केही समयअघि मात्र काठमाडौंमा भव्य प्रचार कार्यक्रम गर्दै भ्रमण वर्षलाई सफल बनाउन पहल गरेको थियो । तर आन्दोलनपछि बनेको वातावरणले सो अभियानलाई असर पारेको अध्यक्ष सुरेन्द्र थापा बताउँछन् । उनले बन्दीपुर सुरक्षित रहेको सन्देश व्यापक रूपमा पुर्याउँदै पर्यटकलाई आकर्षित गर्ने चुनौती अब मुख्य रहेको बताए ।
उनका अनुसार, आन्दोलनअघि दैनिक हजारभन्दा बढी पर्यटक आउने बन्दीपुरमा हाल एक सय हाराहारी मात्रै पर्यटक पुग्ने गरेका छन् । सडकको अवस्था पनि आगमन घट्नुको अर्को कारण हुनसक्ने अनुमान उनले गरेका छन् । आगामी विश्व पर्यटन दिवसमा बन्दीपुर आउने पर्यटकलाई विशेष स्वागत गर्ने कार्यक्रमसमेत तय गरिएको उनले जानकारी दिए ।
विसं २०८१ मा करिब दुई लाख पर्यटक बन्दीपुर पुगेका थिए, जसमा ६० हजार विदेशी र डेढ लाख स्वदेशी रहेका थिए । यस वर्ष सो संख्यालाई दोब्बर पार्ने लक्ष्य राखिए पनि हालको अवस्थाले लक्ष्यमा अनिश्चितता थपेको छ ।
बन्दीपुरमा जापान, चीन, इटाली, स्पेन, नेदरल्याण्ड, फ्रान्स, अमेरिका, जर्मनी, अष्ट्रेलिया, बेलायतसहित करिब तीन दर्जन मुलुकका पर्यटक आउने गरेका छन् । यहाँका प्रमुख आकर्षणहरूमा खड्गदेवी, थानीमाई र महालक्ष्मी मन्दिर, सिद्धगुफा, मिनी ग्रेटवाल, तीनधारा, टुँडिखेल, मणिमुकुन्द सेन दरबार, पदम पुस्तकालयलगायतका गन्तव्य रहेका छन् । भक्तपुर शैलीमा बनेका पुराना घर र रमणीय प्राकृतिक दृश्यसमेत पर्यटकलाई लोभ्याउने मुख्य कारण मानिन्छ ।