काठमाडौँ । विश्वको सातौं अग्लो धवलागिरि हिमाल (८,१६७ मिटर) आरोहणका लागि मार्ग (रुट) तयार भएको छ।
म्याग्दीको धवलागिरि गाउँपालिका–४ भित्र पर्ने यस हिमालको शिखरसम्म पुग्ने बाटो चालु शरदयाममा शेर्पा टोलीले खोलेका हुन्।
सेभेन समिट ट्रेक्सका संस्थापक मिङ्मा शेर्पाका अनुसार आधार शिविरदेखि शुरु गरेर चार जना शेर्पाहरूको संयुक्त टोली शनिबार शिखरसम्म पुग्दै “रोप फिक्सिङ” (डोरी तान्ने) काम सम्पन्न गरेको हो।
“चौध शिखर अभियान” र “सात शिखर पदयात्रा”मा संलग्न शेर्पाहरूले मिलेर मार्ग तयार पारेपछि अब सबै आरोहीहरूका लागि धवलागिरि शिखर पहुँचयोग्य भएको उनले बताए।
यो टोलीमा संखुवासभा मकालु गाउँपालिका–१ का टासी शेर्पा, लाक्पा टेम्बा शेर्पा, सोही पालिका–२ का पुर्वा कुसाङ शेर्पा र पासाङ नोर्वु शेर्पा रहेका छन्। उनीहरू चालु शरदयाममा धवलागिरि आरोहण सफल पार्ने पहिलो टोली पनि बनेका छन्।
शेर्पाहरूले हिमालमा बाटो सुरक्षित बनाएपछि अन्य आरोहीहरूले उनीहरूको सहयोगमा शिखरमा पुग्ने परम्परा रहिआएको छ। मौसम अनुकूल रहे आगामी एक–दुई दिनभित्रै अरू आरोहण टोलीले पनि चुचुरो स्पर्श गर्ने अपेक्षा गरिएको छ।
पर्यटन विभागका अनुसार यस शरद ऋतुमा धवलागिरि आरोहणका लागि ३ समूहका ७ महिला र १७ पुरुषलाई अनुमति दिइएको छ। यसबाट करिब ५० लाख ७१ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ। आरोही, शेर्पा, पथप्रर्दशक र सहयोगीहरू आधार शिविरमा पुगिसकेका छन्।
यसपटक टोली मुस्ताङको मार्फादेखि याकखर्क हुँदै आधार शिविर पुगेको हो। धवलागिरि गाउँपालिकाको मुदीबगर हुँदै जाने पुरानो पदमार्ग बिग्रिएको र लामो भएको कारण यो मार्ग रोजिएको हो।
गत वसन्तमा २ समूहका १५ जनाले अनुमति लिएर आरोहण प्रयास गरेका थिए, जसबाट ३६ लाख ९१ हजारभन्दा बढी राजस्व संकलन भएको थियो। तर सन् २०२४ को शरद ऋतुमा अनुमति लिएका १४ मध्ये रसियाका ५ पर्वतारोही हिमपहिरोमा परी ज्यान गुमाएका थिए।
धवलागिरि आरोहणलाई अन्य हिमालको तुलनामा बढी जोखिमयुक्त र चुनौतीपूर्ण मानिन्छ। छिनछिनमै बदलिने मौसम यस आरोहणको मुख्य कठिनाइ हो।
सन् १९६० मे १३ मा अष्ट्रियाका कुर्ट डिम्बर्गर नेतृत्वको टोलीले पहिलोपटक धवलागिरि आरोहण सफल पारेको थियो। उनीसँगै पिटर डियनर, एन्स्ट फोरर, एल्बिन सेल्वर्ट, निमा दोर्ज र नवाङ दोर्ज पनि सफल आरोही बनेका थिए।