काठमाडौँ । नेपाल विश्व पर्यटन दिवस २०२५ को अवसरमा अन्तर्राष्ट्रिय समुदायलाई ‘नेपाल सुरक्षित, खुला र पर्यटनमैत्री गन्तव्य’ भएको सन्देश दिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजना र नेपाल पर्यटन बोर्डको समन्वयमा शनिबार राजधानीमा आयोजित कार्यक्रममा यस्तो सन्देश प्रवाह गरिएको हो।
वक्ताहरूले हालैको जेन–जी आन्दोलनपछि उत्पन्न चुनौतीहरूमाथि पर्यटन क्षेत्र क्रमशः रिकभरीको चरणमा पुगेको बताए। उनीहरूले पर्यटनलाई दिगो विकासको आधारस्तम्भ बनाउनुपर्ने आवश्यकता औंल्याए।
‘पर्यटन र दिगो रूपान्तरण’ नारासहित मनाइएको दिवसमा प्रधानमन्त्री सुशीला कार्कीको शुभकामना सन्देश वाचन गरिएको थियो। सन्देशमा नेपाल अद्वितीय प्राकृतिक सौन्दर्य, जैविक विविधता, बहुजातीय–बहुभाषिक संस्कृति र हिमालका कारण पर्यटकका लागि विश्वस्तरको गन्तव्य भएको उल्लेख छ। साथै, रोजगारी सिर्जना, विदेशी मुद्रा आर्जन र आय वृद्धिका लागि ओझेलमा परेका गन्तव्यको पहिचान र प्रवद्र्धन अपरिहार्य रहेको भनिएको छ।
प्रधानमन्त्री कार्कीले हालैका आन्दोलनका कारण पर्यटन प्रभावित भए पनि तत्काल रिकभरी सुरु भइसकेको बताउँदै, सरकार पूर्वाधार विस्तार र सेवास्तर सुधारमार्फत यसलाई अर्थतन्त्रको मेरुदण्ड बनाउन प्रतिबद्ध रहेको जनाइन्।
कार्यक्रममा मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले निजी क्षेत्रको सहकार्यबिनाको पर्यटन विकास असम्भव भएको बताए। उनले आन्दोलनबाट क्षति भए पनि निजी क्षेत्र उच्च मनोबलका साथ अघि बढिरहेको भन्दै सहजीकरणका लागि मन्त्रालय सधैं खुला रहने आश्वासन दिए।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीका अनुसार आन्दोलनका क्रममा दैनिक आगमन १६ सयमा झरेको भए पनि हाल २९ सय हाराहारीमा पुगेको छ, जसले पर्यटन क्रमशः पुनः उकासिँदै गएको संकेत गरेको छ।