काठमाडौं । भदौ २३ र २४ गते भएको ‘जेनजी प्रदर्शन’पछि विदेशी पर्यटक नेपाल आउन हिचकिचाउन थालेका छन् । प्रदर्शनपछिका घटनाका कारण होटल बुकिङमा व्यापक गिरावट आएपछि परराष्ट्र मन्त्रालयले पर्यटकहरूलाई पुनः नेपाल फर्काउने पहल सुरु गरेको छ ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार, गत वर्षको यही समयमा नेपालका करिब ८० प्रतिशत होटल बुकिङ भइसकेका थिए । तर, यस वर्ष यो संख्या घटेर ३० प्रतिशतमा सीमित भएको छ । “पर्यटन नेपालको अर्थतन्त्रको मेरुदण्ड हो । त्यसैले हामीले पर्यटक फर्काउने उद्देश्यले विदेशस्थित सबै नियोगहरूलाई नेपाल खुला र सुरक्षित रहेको सन्देश पठाएका छौँ,” प्रवक्ता क्षेत्रीले भने ।
मन्त्रालयले विदेशमा रहेका ४१ वटा नेपाली नियोगहरूलाई पत्र पठाएर नेपालमा स्थिति सामान्य भइसकेको र भ्रमणका लागि कुनै कठिनाइ नरहेको जानकारी दिन निर्देशन दिएको छ । सोहीअनुसार, विभिन्न देशस्थित नेपाली दूतावासहरूले ‘नेपाल शान्त र स्वागतयोग्य बनेको’ सन्देश प्रवाह गरिरहेका छन् ।
पर्यटन क्षेत्रका विज्ञहरूले पनि बुकिङ सुधारोन्मुख रहेको जनाएका छन् । होटेल एसोसिएसन नेपाल ९ज्ब्ल्० का अध्यक्ष विनायक शाहका अनुसार, हाल होटेल बुकिङ २० देखि ३० प्रतिशतसम्म छ । “अघिल्लो वर्ष यो समयमा अधिकांश होटल फुल बुकिङ हुन्थ्यो । अहिले घटे पनि पछिल्ला दिनमा सुधारको संकेत देखिन थालेको छ,” शाहले बताए ।
अध्यागमन विभागका तथ्यांकअनुसार, गत वर्ष (सन् २०२४) को अक्टोबर महिनामा १ लाख २४ हजार ३९३ जना विदेशी पर्यटक नेपाल आएका थिए । यो वर्ष बुकिङ घटेकाले उक्त संख्या घट्ने अनुमान छ ।
नेपाल पर्यटन बोर्डका अनुसार हाल देशभर करिब २० हजार विदेशी पर्यटक रहेका छन् । बोर्डले जारी गरेको विज्ञप्तिमा नेपालमा अहिले कुनै समस्या नरहेको र सरकारले ‘Nepal Now’ वेबसाइटमार्फत नेपालको ताजा जानकारी उपलब्ध गराइरहेको उल्लेख छ ।
प्रवक्ता क्षेत्रीका शब्दमा, “जतिसक्दो चाँडो पर्यटन क्षेत्रलाई पुरानै अवस्थामा ल्याउन हामी निरन्तर प्रयासरत छौँ।”