काठमाडौँ । तिब्बतस्थित सगरमाथाको पूर्वी क्षेत्रमा पदयात्रा गरिरहेका सयौं पर्यटक हिउँ आँधीमा फँसिएपछि उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ। चिनियाँ सञ्चार माध्यमका अनुसार हिमालय क्षेत्रमा असामान्य रूपमा परेको भारी वर्षाका कारण पदयात्रीहरू संकटमा परेका हुन्।
हालसम्म करिब ३५० जना पर्यटकलाई ग्वाङडोङ शहरमा सारिएको छ भने २०० भन्दा बढी पदयात्रीहरूसँग सम्पर्क हुन बाँकी रहेको बताइएको छ। मिडिया रिपोर्टहरूका अनुसार प्रभावित क्षेत्रमा एक हजारभन्दा बढी मानिस फसेको अनुमान गरिएको छ।
घटनापछि सगरमाथा आसपासका पर्यटकीय क्षेत्रहरूमा टिकट बिक्री अस्थायी रूपमा रोकिएको छ।
समाचार एजेन्सी रोयटर्सका अनुसार, चीनले राष्ट्रिय दिवसको अवसरमा आठ दिन लामो बिदा मनाइरहेको समय यो घटना भएको हो। सोही कारण धेरै पर्यटक र साहसिक यात्रा प्रेमीहरू तिब्बतको काङशुङ क्षेत्रस्थित कर्मा उपत्यका पुगेका थिए। यो उपत्यका समुद्र सतहबाट करिब ४,२०० मिटर (१३,७७९ फिट) उचाइमा अवस्थित छ। शुक्रबार साँझदेखि लगातार हिउँ परिरहेको बताइन्छ।
चिनियाँ मिडियाका अनुसार, उद्धारका लागि सयौं गाउँले र उद्धारकर्मीहरू खटाइएका छन्। उनीहरूले बाटोमा थुप्रिएको हिउँ हटाउँदै फसेकाहरूलाई सुरक्षित स्थानतर्फ लैजाने काम गरिरहेका छन्।
तर, स्थानीय गाइडहरूको लापरवाहीले यो घटना घट्यो कि होइन भन्ने विषयमा अनुसन्धान जारी छ। साथै, सगरमाथाको उत्तरी भागमा रहेका अन्य पर्यटकहरू पनि वर्षा वा हिमपातबाट प्रभावित भए कि भएनन् भन्नेबारे पृथक अनुसन्धान भइरहेको बताइएको छ।