काठमाडौँ । सेप्टेम्बर महिनामा नेपालमा ७८,७११ विदेशी पर्यटकले भ्रमण गरेका छन्। यो वर्षको सोही सिजनमा पर्यटकको संख्या अघिल्लो वर्षको तुलनामा करिब १८ प्रतिशतले घटेको छ। सेप्टेम्बर र अक्टोबरलाई नेपालमा उच्च पर्यटन सिजन मानिन्छ, तर यस वर्ष जेन–जी आन्दोलनका कारण धेरै पर्यटकले भ्रमण रद्द गरेका थिए। अनुमान अनुसार, सेप्टेम्बर–अक्टोबरमा आउने करिब ५० प्रतिशत पर्यटकले आफ्नो यात्रा रद्द गरेका थिए।
जेन–जी आन्दोलनका कारण भौतिक संरचनामा क्षति पुगेको र सुरक्षा संवेदनशीलता बढेको थियो। व्यवसायीहरूले बताएअनुसार, सुरक्षासम्बन्धी चिन्ताले पनि पर्यटकलाई भ्रमण रद्द गर्न बाध्य तुल्याएको छ।
पर्यटकमध्ये भारतीय पर्यटक सबैभन्दा बढी छन्। सेप्टेम्बरमा भारतबाट १५,५५६ पर्यटक नेपाल आएका थिए, जुन कुल आगन्तुकको १९.८ प्रतिशत हो। दोस्रो स्थानमा अमेरिकी पर्यटक छन्, जो ९,६७९ जना आएका थिए (करिब १२ प्रतिशत)। त्यसैगरी, अस्ट्रेलियाबाट ६,८२४, चीनबाट ५,२३७, र बेलायतबाट ४,९८१ जना पर्यटक नेपाल आएका छन्।
नेपाल पर्यटन बोर्डका तथ्यांकअनुसार, दक्षिण एशिया (सार्क क्षेत्र) बाट २४,२८५, युरोपबाट १६,५९७, एशियाबाट १२,५९०, अमेरिका बाट ११,५२३, आशियान क्षेत्रबाट ७,३१४ र पश्चिम एशियाबाट २,३२८ जना पर्यटक आएका छन्। अफ्रिकाबाट भने मात्र ३४४ जना पर्यटक आएको तथ्यांक छ।