काठमाडौं |
सिन्धुपाल्चोकको रमणीय गाउँ ‘सानो सिरुबारी’लाई पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने भएको छ। झरना, मन्दिर, रैथाने परिकार, हिमाल, संस्कृति आदि समेटेर ग्रामीण पर्यटन गन्तव्य बनाउने तयारी गरिएको हो।
चौतारा साँगाचोकगढी नगरपालिका वडा नंं. ७ स्यानो सिरुबारी मगुवामा करिब ८० मिटर अग्लो भूत छाँगो छ। ‘हामी भूत छाँगोमा क्यानोनिङ तालिम गराउने योजनामा छौं’, बागमति खेलकुद परिषदका पूर्व सदस्य निरञ्जन थापा मगर भन्छन्, ‘क्यानोनिङ, हाइकिङ, स्विमिङ, साइक्लिङ पर्यटनका लागि हाम्रो गाउँ उत्कृष्ट छ।’
प्राकृतिक सौन्दर्यका हिसाबले समेत ‘सानो सिरुबारी’ 
आकर्षक छ। यहाँबाट गणेश, लाङटाङ, जुुगल, दोर्जेलाक्पा, गौरीशंकर हिमाल देखिन्छन्। साथै गाउँमा कालिदेवी, सेतीदेवी, भदौरे गणेशलगायतका सम्पदा छन्।
भर्खरै एड्भेन्चर एक्सर्पट इन्सुहाङ राईलाई गाउँमा निम्त्याएर क्यानोनिङको सम्भावना अध्ययन गरिएको छ। ‘यही गाउँबाट पाँचपोखरी, जुगल र भैरव कुण्डतिर पनि पदयात्रा गर्न सकिन्छ’, राई भन्छन्, ‘काठमाडौं नजिकैको स्यानो सिरुबारी काठमाडौंबासीको ह्याङआउट हुने गन्तव्य बन्न सक्छ।’

स्यानो सिरुबारी पुग्ने दुुई ओटा मार्ग छन्, पहिलो काठमाडौंबाट धुलिखेल, दोलालघाट हुँदै ८५ किलोमिटरमा पुगिन्छ भने दोस्रो, जोरपाटी नारायणटारबाट साँखु भएर ५६ किलोमिटरमा।


