काठमाडौं ।
सुदूरपश्चिम प्रदेशको प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक, आध्यात्मिक र पर्यटकीय सम्भावना उजागर गर्दै आम सुदूरपश्चिमेलीमा आत्मगौरब बढाउने अभियानका नायक हुन्, उद्यमी गोपी हमाल। जनबोलीमा ‘गोपी’ भनेर चिनिने उनको वास्तविक नाम गोपाल हमाल हो। हाल उनी धनगढी उपमहानगरपालिका प्रमुखका रुपमा कार्यरत छन्।

यिनै गोपी कैलाली उद्योग वाणिज्य संघको अध्यक्ष भएका बेला समग्र सुदूरपश्चिमलाई सुुन्दरपश्चिमका रुपमा चिनाउने कदम अघि बढाएका थिए। उनकै नेतृत्वमा वि.सं. २०६३ सालमा ‘सुन्दर सुदूरपश्चिम’ अभियान सुरु भएको थियो, जुन उदाहरणीय बनेको छ।
उनैले फेरि नयाँ अभियान सुरु गरेका छन्, ‘हाम्रो सुदूूरपश्चिम, हामी चिनाउँछौं’ । यस अभियान अन्तगर्त पहिलो चरणमा उनी सहित उपमहानगरकी उपप्रमुख कन्कला कुमारी राना, ६ जना वडाध्यक्ष, कर्मचारी, पर्यटन व्यवसायी र पत्रकारको टोली भर्खरै अपी हिमाल आधारशिविर पदयात्रा गरेर फर्किएको छ।

नगर प्रमुख हमाल अपी पदमार्गको नौपाटासम्म पुगेका थिए। त्यहाँबाट टोलीको नेतृत्व उपप्रमुख रानाले गरेकी हुन्। उनीहरूसँगै अपिहिमाल गाउँपालिकाका अध्यक्ष भक्तसिंह ठेकेरे बोहोरा, वडाध्यक्ष, वडासदस्य र कर्मचारी सँगै पुगेको थियो। अध्यक्ष ठेकेरेका अनुसार ४० जनाको टोली आधारशिविर पुगेको हो।
वैशाख १४ गते धनगढीबाट निस्केको टोली बुद्ध पूर्णिमाका दिन १८ गते आधारशिविर पुगेको थियो।

‘यस अभियानले सकारात्मक प्रभाव पारेको छ’, अध्यक्ष बोहोराले एभरेस्ट पेडियासँग भने, ‘हामी गाउँलेहरू पनि उत्साहित बनेका छौं।’

स्मरणीय छ, काठमाडौंबाट निस्केको ९ दिनमा अपी पदयात्रा पुरा गरेर फर्कन सकिन्छ। ठाउँठाउँमा होटल तथा होमस्टे खुलेका छन्। पदमार्गको प्रवेशद्वार मकरीगाडमा गाउँपालिकाले सूूचना केन्द्र सञ्चालन गरेको छ। त्यहाँ सम्पर्क गरेर जाँदा सजिलो हुन्छ।
सम्पर्क :
पर्यटन सूचना केन्द्र
मकरीगाड
अक्कल ठगुन्ना–९८४९२१७१९०
अपि हिमाल
दार्चुला जिल्लामा अवस्थित सुदूरपश्चिम प्रदेशकै अग्लो हिमाल अपी (७,१३२ मिटर)। अपीहिमाल गाउँपालिका वडा नं. १ मा पर्दछ, अपीको इस्ट साउथ बेस क्याम्प (३,९०० मिटर)। आधारशिविरसम्म पदमार्ग व्यवस्थित छ। यहाँको अतुलनीय प्राकृतिक सौन्दर्य, हिमाली जीवनशैली र मल्देशी संस्कृतिले मोहित बनाउँछ। ठाउँठाउँमा होमस्टे तथा होटल सुबिधा छ।

पछिल्लो तीन वर्षदेखि मात्र अपी बेस क्याम्पमा पदयात्रीको चहलपहल सुरु भएको हो। वार्षिक करिब ५ हजार नेपाली र अढाई सय विदेशी बेस क्याम्प पुग्छन्।
यतिबेला अपीबाट साइपाल बेस क्याम्प जोड्ने पदमार्ग निर्माण भइरहेको छ। अपी बेस क्याम्पबाट पतरासी भन्ज्याङ (४,६९८ मिटर), डुबै भन्ज्याङ (४,५८३ मिटर), निलकट्टी भन्ज्याङ (४,९३० मिटर) पार गरेर नयाँ ओडार भन्ने ठाउँमा पुगिन्छ। त्यहाँबाट काँडा भन्ने ठाउँ हुँदै साइपाल बेस क्याम्प पुगिन्छ।

अपी बेस क्याम्प पुगेपछि एक दिनको बाटो फर्केर खायकोटबाट थुम्ती हुँदै क्षेत्ती गाउँ भएर साइपाल जानु पर्दछ। यहाँको पदमार्ग विकासमा पर्यटन विभागले लगानी गर्दै आएको छ। पदमार्ग पुरा भएपछि विदेशीले २५ दिनसम्म पदयात्रा गर्न पाउने छन्।
फर्केर हेर्ने हो भने, उद्यमी गोपी हमालको नेतृत्वमा ‘सुन्दर सुदूरपश्चिम’ अभियान सुरु भएसँगै अपीलगायतका पर्यटकीय सम्भावना उजागर भएका हुन्। त्यसयता पर्यटनविज्ञहरू अमरबहादुर शाही, कृष्णबहादुर महरा, परमानन्द भण्डारी लगायतले पर्यटन प्रवद्र्धनमा प्रचारात्मक काम गर्दै आएका छन्।
अपीमा पर्यटकको चहलपहल गराउने अगुवा भने अपिहिमाल गाउँपालिकाका अध्यक्ष भक्तसिंह ठेकरे बोहोरा नै हुन्। उनी नेतृत्वमा आएपछि यसको विकास र प्रवद्र्धनमा एग्रेसिभ काम भइरहेको छ।

अपीका अगुवा
अपीमा पर्यटक पु¥याउने श्रेय भक्तसिंह ठेकरे बोहोरालाई जान्छ। उनी अपिहिमाल गाउँपालिकाका अध्यक्ष। गाउँपालिकामा नेतृत्व सम्हालेपछि उनले पर्यटनमा जोड दिए। अपीनम्पा संरक्षण क्षेत्र, पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड, युएनडिपी लगायत संस्थासँग साझेदारी गरेर गाउँमा पर्यटनका परियोजना भित्र्याए।

उनकै नेतृत्वमा पदमार्ग निर्माण तथा सुधार, पर्यटकीय नक्सा प्रकाशन, होमस्टे, टि हाउस तथा होटल निर्माण भएका छन्। साथै गाउँलेलाई आधारभूत पर्यटकीय तालिम दिइएको छ।
त्यस्तै पर्यटन प्रवद्र्धन गर्न वि.सं. २०८० वैशाखमा अपी भ्रमण सप्ताह र वि.सं. २०८० असोजमा अपी भ्रमण वर्ष शुभारम्भ गरियो। यसले आन्तरिक पर्यटकलाई लोभ्यायो। उनी बेलाबेलामा पर्यटनविज्ञ, पत्रकार र पर्यटन व्यवसायीलाई अपीमा घुमाउँछन्।

‘यहाँको अर्गानिक वातावरणले सबैको मन जित्छ’, ४० वर्षे अध्यक्ष बोहरा भन्छन्, ‘हामी पर्यटनबाटै समृद्ध बन्न सक्छौं ।’
उनी जोशिला छन्। समन्वयकारी भूमिका निवार्ह गर्छन्। ग्रामीण पर्यटनमा उदाहरणीय काम गरेकाले यस वर्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अपिहिमाल गाउँपालिकालाई देशभरकै उत्कृष्ट पालिका घोषणा गरेर सम्मानित गरेको छ।

अपी क्षेत्रलाई नमुना पर्यटन गन्तव्य बनाउने अभियानमा होमिएका भक्तसिंह ठेकरे बोहरालाई शुभकामना !
सम्पर्क : ९८६८०१४५६७
