हामी चार जना दिउँसो ठिक तीन बजे काठमाडौंको मुड्कु चिया पसलमा भेला भयौँ। चिया र खाजा ग्रहण गरेपछि करिब पाँच किलोमिटर पश्चिममा अवस्थित हाम्रो पहिलो रातको बासस्थान स्वानागाउँतर्फको यात्रा आरम्भ ग¥यौँ। शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज भित्रको चराचुरुङ्गीहरूको गतिविधिले जीवन्त बनेको थियो, जसले गन्तव्यमा पुग्ने उत्साहसँगै यात्राका प्रत्येक पाइला आफैंमा अविस्मरणीय बनाइदियो। करिब दुई घण्टाभन्दा केही बढी हिँडेपछि अन्ततः हामी स्वानागाउँ पुग्यौँ।

साँझको वातावरण शान्त, सौम्य र मनमोहक थियो। हामी गाउँभन्दा अलि तल, वन र खुला पाखाले घेरिएको एउटा फार्महाउस लजमा बस्यौँ। त्यसबेला त्यो स्थान कति उपयुक्त र सौभाग्यपूर्ण रहेछ भन्ने हामीले महसुस गरेका थिएनौँ। तर भोलिपल्ट बिहान त्यस स्थानले चरा अवलोकनका लागि अत्यन्त उत्कृष्ट र वरपरको प्राकृतिक सौन्दर्यलाई नजिकबाट अनुभूति गर्ने अनुपम स्थलका रूपमा आफ्नो वास्तविक आकर्षण उजागर ग¥यो। यो यात्रा एक रातको चरा अवलोकन भ्रमण मात्र थिएन। यो त हाम्रा प्रिय मित्र तथा मार्गदर्शक आरेन्ड दाइले वर्षौँअघि सुरु गर्नुभएको एउटा सुन्दर परम्पराको निरन्तरता पनि थियो।
आरेन्ड दाइ ! तपाईंले हामीलाई दिनुभएको प्रेरणा, उत्साह अमूल्य ज्ञान र सम्झनाहरू र छोड्नुभएको उच्चतम विरासतप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ।
विशेषतः फूलचोकीका वनहरूमा प्रजनन मौसमका बेला उल्लुको खोजी गर्दै गरिने चरा अवलोकन यात्रासँग हामीमध्ये धेरैको पहिलो परिचय उहाँकै माध्यमबाट भएको थियो। यी भ्रमणहरू प्रायः उहाँको जन्मदिनको आसपासमा पर्थे, यद्यपि उहाँलाई आफ्नो जन्मदिनको चर्चा गर्न कहिल्यै मन पर्दैनथ्यो र गर्नु हुन्नथ्यो। पछि हामीले उहाँको जन्म मिति थाहा पाएर मनाउने प्रयास गर्दा पनि उहाँ सधैँझैँ विनम्र मौन रहीरहनुभयो। विशेष सम्मान वा औपचारिकता भन्दा साथीभाइ र चराचुरुङ्गीसँग प्रकृतिको काखमा समय बिताउनुलाई नै उहाँले सधैँ बढी महत्त्व दिनुहुन्थ्यो।

यस वर्षको यात्रामा हामी केवल चार जना थियौँ—ललित लालचन, रामराज गुरुङ, जय भण्डारी र म। अरुबेलाभन्दा सङ्ख्यामा सानो भए पनि हाम्रो भेटघाटको आत्मीयता, उत्साह र परम्पराप्रतिको समर्पण भने उस्तै जीवन्त थियो। साँझभरि हामीले आरन्ड दाइसँगै चरा अवलोकन गर्दाका अविस्मरणीय सम्झनाहरू साटासाट ग¥यौँ, विगतका रमाइला अनुभवहरू स्मरण ग¥यौँ र एक अर्काको आत्मीयताका साथमा हाँसो, गफगाफ र मित्रताको न्यानोपन भरपुर महशुस ग¥यौँ।

जसै वनमाथि रातको अँध्यारो बिस्तारै छायो, वातावरण झन् आकर्षक, झन् रहस्यमयी र मनमोहक बन्दै गयो। निशाको गहिरो शान्तिलाई कहिलेकाहीँ डाँडाकाँडाका घना वनभित्र लुकेका उल्लुहरूको मधुर पुकारले भङ्ग गरिरहेको थियो। त्यस रात हामीले माउन्टेन स्कप्स आवल (लेकाली उलुक)र इन्डियन इगल–आवल (हप्सिलों) दुवैको स्वर सुन्ने सौभाग्य प्राप्त ग¥यौँ। आफ्नै प्राकृतिक बासस्थानमा यी भव्य पंछीहरूको सङ्गीतरुपी पुकार सुन्न पाउनु अत्यन्त अविस्मरणीय अनुभवको क्षण थियो। यही अनुपम क्षणका कारण हामीले स्नेहपूर्वक लाटोकासरोसँगको रात ‘आवल नाइट २०२६’ नाम दिएको यस यात्राले विशेष अर्थ र अविस्मरणीय भाव प्रदान ग¥यो।

हाम्रो बासस्थान सामान्य भए पनि निकै सहज र आरामदायी थियो। घरभित्रै टाँगिएको ठुलो पालमा रात बिताउने अवसरले यस यात्रामा थप नौलो र रोचक अनुभूति थपिदियो।
भोलिपल्ट बिहान प्रकृतिको सबैभन्दा अनुपम उपहारमध्ये एक—शुभ बिहानीे चराहरूको सुमधुर र सङ्गीतमय स्वरसँगै हाम्रो दिनको सुरुआत भयो। चारैतिरबाट गुञ्जिरहेका चराचुरुङ्गीका ती सुमधुर स्वरले सम्पूर्ण वातावरणलाई जीवन्त बनाइरहेका थिए। ती अनेकौँ धुनहरूमध्ये टिकेल्स थ्रसको मनमोहक गीतले विशेष रूपमा मन छोएको थियो। लज नजिकैको रुखमा बसेर त्यसले मानौँ नयाँ दिनलाई आफ्नो अविस्मरणीय स्वरले स्वागत गरिरहेको थियो।
चियापानपछि हामी स्वानागाउँ वरपरका पदमार्ग, वन र खुला खेतबारीतर्फ चराअवलोकनका लागि निस्कियौँ। त्यहाँको समृद्ध चरा जीवन हाम्रो अपेक्षाभन्दा निकै लोभलाग्दो र सन्तोषजनक थियो। शान्त, रमणीय र प्राकृतिक सौन्दर्यले भरिपूर्ण परिवेशमा चराहरूलाई नजिकबाट अवलोकन गर्ने उत्कृष्ट अवसर यस क्षेत्रले हामीलाई उदारतापूर्वक प्रदान ग¥यो।
बिहानको स्वादिलो र पेटभरको नास्तापछि हामी मुडखुतर्फ फर्कने योजनामा लाग्यौँ। फर्कने यात्रा पनि उत्तिकै रमणीय रह्यो। त्यो दिनको अन्त्यसम्ममा हामीले करिब साठी प्रजातिका चराहरू अभिलेख गर्न सफल भएका थियौँ। यस यात्राका विशेष आकर्षणमध्ये कोलार्ड आउलेट र एसियन बार्ड आउलेटका स्वर सुन्न पाउनु पनि अनुपम क्षण थियो।
विमल कुमार थापा, अध्यक्ष, पंछी संरक्षण संघ नेपाल
पदमार्गका हरेक मोडले हामीलाई केहीबेर रोकिन, वनको मौनतालाई ध्यानपूर्वक सुन्न र प्रकृतिको अनुपम सौन्दर्यलाई आत्मसात गर्न नयाँ अवसर प्रदान गरिरहेको थियो।
मुड्कु पुगेपछि हामीले एउटा ट्याक्सी भेटायौँ र आउँदा बर्षहरूमा पनि यस्तो कार्यक्रमलाई निरन्तरता दिने प्रण गर्दै आआफ्ना घरतर्पm लाग्यौँ। त्यो केवल चरा अवलोकनको एउटा भ्रमण र चरासूची मात्र नभएर मित्रता, प्रकृतिप्रतिको प्रेम र समयको प्रवाहसँगै पुस्तौँदेखि हामीलाई जोडिराख्ने सुन्दर परम्पराको निरन्तरता थियो।
जसको चराप्रतिको अथाह अनुरागले हामीमध्ये धेरैलाई वनका गोरेटाहरूमा निरन्तर हिँडिरहन, उल्लुहरू र प्राणीहरुको पुकार वा आवाज सुन्न र प्रकृतिप्रतिको प्रेमभाव अरूसँग बाँड्न वा साटासाट गर्न प्रेरित गर्नुे ध्येय थियो।
आरेन्ड दाइ ! तपाईंले हामीलाई दिनुभएको प्रेरणा, उत्साह अमूल्य ज्ञान र सम्झनाहरू र छोड्नुभएको उच्चतम विरासतप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ। उल्लुहरूको पुकार सुन्दै तपाईंले सुरु गर्नुभएको तपाईका यी पदचापहरूलाई हामी निरन्तर पछ्याइरहनेछौँ, यस सुन्दर परम्परालाई जीवन्त राखिरहनेछौँ।
त्यो यात्रा आरेन्ड दाई प्रति श्रद्धासुमन !