झट्टा हेर्दा 'काठमाडौं' जस्तै देखिने, डुल्दै जाँदा जताततै नेपाली भेटिने 'मोगोक'– म्यान्मारको पहाडी उपत्यका हो। यो ठाउँलाई ‘बर्माको सानो नेपाल’ भनेर चिनिन्छ।
'मोगोक'मा नेपालीको बाक्लो उपस्थिति छ। मोगोकमा नेपालीहरू बसोबास गर्न थालेको, सन् १८८५ देखि हो। माण्डले शहरबाट ११ गोर्खा सैनिक सबैभन्दा पहिले मोगोक पुगेका थिए। त्यही समयदेखि नेपालीको उपस्थिति यहाँ रहन थालेको हो।
सन् १९४२ को दोस्रो विश्व युद्धताका जापानविरूद्ध लड्न धेरै गोर्खा सैनिक म्यान्मार पुगे। भारतको कोलकताबाट हवाईमार्ग हुँदै म्यान्मारको पुरानो राजधानी रंगुन आउन सकिन्छ। स्थलमार्गको प्रयोग गर्दा भारतको सिलिगुडी, मणिपुर, इम्फाल हुँदै म्यान्मार प्रवेश गर्न सकिन्छ।
म्यान्मारमा सैनिकसँग जोडिएको नेपालको गर्विलो इतिहास छ। म्यान्माली सरकारले नेपालीभाषीलाई जनजाति जतिकै अधिकार दिएको छ। राष्ट्रपिता जनरल आङ सान र गोर्खालीबीच फरक सम्बन्ध छ। आङ सानले नै सन्धि गरेर गोर्खालीलाई म्यान्मारमा बसाएका हुन्।
एक लाख ६६ हजार जनसंख्या रहेको मोगोकमा ३५ हजार घरधुरी छन्। यहाँ नेपालीभाषी चानचुन २० हजार बसोबास गर्छन्। मोगोकमा करिब ४ हजार घरधुरी नेपालीको छ। जसमा २८ वटा नेपाली गाउँ मोगोकमै रहेको छ।
यहाँ बस्ने नेपालीभाषीले आफ्नो परम्परा र संस्कृतिलाई बिर्सिएका छैनन्। मोगोकका अधिकांश नेपालीहरू खेती–किसान र रुबीको व्यापार गर्छन्। नेपालीभाषीका घरघरमा तुलसीका बोट, मठ–मन्दिर र गाउँ–गाउँमा नेपाली परम्परा देख्न पाइन्छ।