काठमाडौं। नेपाल पर्यटन बोर्ड (एनटीबी)ले भुटानको थिम्पुमा वैशाख २५ देखि २७ गतेसम्म सम्पन्न ‘दक्षिण एशियाली महिला सम्मेलन: ग्रामीण पर्यटन’मा सहभागी भई नेपालको अनुभव र उपलब्धिहरू प्रस्तुत गरेको छ।
‘दक्षिण एशियाको ग्रामीण क्षेत्रमा आर्थिक सशक्तिकरणः दिगो मार्ग’ भन्ने नारामा आयोजना गरिएको उक्त सम्मेलनमा दक्षिण एशियाली मुलुकहरूका महिला नेतृ, विज्ञ र पर्यटनकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थिए।
सम्मेलन तारायणा फाउन्डेसन, दक्षिण एशियाली महिला सञ्जाल, ट्रान्स-हिमालयन वातावरण तथा जीवनयापन कार्यक्रम नेपाल र इन्टरनेशनल डेभलपमेन्ट इन्स्टिच्युटको संयुक्त आयोजनामा सम्पन्न भएकाे नेपाल पर्यटन बोर्डले जनाएकाे छ।
कार्यक्रममा अफगानिस्तान, बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल र श्रीलंकाबाट सहभागीहरूले ग्रामीण पर्यटनमार्फत महिला सशक्तिकरण र क्षेत्रीय सहकार्यका सम्भावनामाथि गहन छलफल गरेका थिए।
तीन दिनसम्म चलेको सम्मेलनमा ६ वटा विषयगत प्यानल छलफल, ६ वटा समूहगत सत्र र स्थानीय महिला उद्यमीहरूले सञ्चालन गरेको होमस्टे अवलोकनका लागि पुनाखा भ्रमणसमेत गरिएको थियो।
सम्मेलनको क्रममा नेपाल पर्यटन बोर्डले महिला नेतृत्वमा सञ्चालित सामुदायिक पर्यटनका सफल अभ्यासहरू प्रस्तुतको थियो। साथै, ग्रामीण क्षेत्रका महिला उद्यमीहरूलाई क्षेत्रीय तथा अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने बोर्डका प्रयासहरूबारे पनि जानकारी गराएको थियो।