काठमाडौं। नेपाल पर्यटन बोर्ड कार्यकारी समितिका रिक्त दुई सदस्यमा कुमारमणि थपलिया र नरेन्द्र भट्ट नियुक्त भएका छन्।
शुक्रबार उनीहरूलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नियुक्त गरेको हो। उनीहरूको कार्यकाल तीन वर्षको हुनेछ।
‘बोर्डलाई अझै गतिशील बनाएर अघि बढाउन प्रयत्न गर्नेछु’, नवनियुक्त सदस्य थपलियाले एभरेस्ट पेडियासँग भने, ‘पर्यटन प्रवर्द्धन र विकासका कामलाई उचाईमा पुर्याउन नीति नियम बनाउनेदेखि कार्यान्वयन तहसम्म योगदान पुर्याउने छु।’
मन्त्रालयकी सहसचिव इन्दु घिमिरेको संयोजकत्वमा बासु ढुङ्गाना र विभूतिचन्द ठाकुर सदस्य रहेको समितिको सिफारिसका आधारमा उनीहरूलाई नियुक्त गरिएको हो। समितिले थपलिया, भट्ट र पोखराका पर्यटनकर्मी पोमनारायण श्रेष्ठको नाम सिफारिस गरेको थियो।
नाटाका वर्तमान अध्यक्ष थपलिया चितवनका हुन् भने भट्ट सुदूरपश्चिमका।
चितवनमा खुसीको लहर
समितिले पहिलोपटक चितवनबाट प्रतिनिधित्व पाएकामा पर्यटनकर्मीले खुसी मनाएका छन्। ‘चितवनबाट पर्यटन बोर्डमा प्रतिनिधित्व हुनुपर्छ भन्ने हाम्रो माग पुरा भएको छ’, क्षेत्रीय होटल संघ, नेपाल चितवन शाखाकी कोषाध्यक्ष, बबिता चौधरी भन्छिन्, ‘यहाँको सम्भावना, अप्ठेरा र चुनौती बुझेको मान्छेले नियुक्ति पाउँदा हामी खुसी छौं।’
सुमन घिमिरे, बबिता चौधरी र ध्रुब गिरी
वाइल्डलाइफ र सांस्कृतिक पर्यटनका दृष्टिले चितवन महत्वपूर्ण गन्तव्य हो। सौराहाका चर्चित युवा पर्यटनकर्मी सुमन घिमिरे भन्छन्, ‘अब चितवनमा पर्यटन बोर्डको लगानी बढ्ने आशा गरेको छु। सबैले देशको तेस्रो पर्यटकीय गन्तव्य चितवनलाई प्राथमिकतामा राख्नु पर्दछ।’
चितवनबाट बोर्ड सदस्यको दौडमा थपलियाबाहेक अरुको चर्चा थिएन। युवा सोच, चिन्तन र कुशल नेतृत्व क्षमता भएका थपलिया बोर्डमा आएकाले चितवनबासीमा आशा पलाएको छ।
‘कुमारजी आउँदा हामी अत्यन्त हर्षित् छौं। अब चितवनको पर्यटनमा परिवर्तन आउने छ’ क्षेत्रीय रेस्टुरेन्ट एन्ड बार एसोसियसन नेपाल, सौराहाका अध्यक्ष ध्रुब गिरीले भने।