काठमाडौं। रोल्पा आफैंमा विद्रोह र परिवर्तनको प्रतीक हो। हरेक नागरिक आन्दोलनहरूमा रोल्पालीको बलिदान उल्लेखनीय छ। रोल्पा सचेत नागरिकको भूमि त हुँदै हो, प्रकृति र संस्कृतिका हिसाबले पनि महत्वपूर्ण छ। रोल्पाको इतिहास, प्रकृति, संस्कृति र जीवनशैली अतुलनीय छ।
लुम्बिनी प्रदेशमा अवस्थित रोल्पामा एक नगरपालिका र ९ गाउँपालिका छन्। रोल्पा नगरपालिकाका साथै थबाङ, सुनछहरी, लुङ्ग्री, सुनिल स्मृति, रुन्टीगढी, गंगादेव, परिवर्तन, माडी र त्रिवेणी गाउँपालिका छन्।
मगर बाहुल्य रोल्पाका बासिन्दाको मुख्य आयस्रोत कृषि र वैदेशिक रोजगार हो। बुद्धिमतापूर्ण ढङ्गले पूर्वाधार विकास गरी राम्रो मार्केटिङ गर्न सके रोल्पाले पर्यटनमा फड्को मार्न सक्छ । यहाँ पर्यटनको घाम भने झुल्किसकेको छ।

गुरिल्ला पदमार्ग र खाम पदमार्ग यहाँका प्रमुख पदमार्गहरू हुन्। त्यस्तै जलजला, कोठेभिर, रातामाटा, तिलाचन, थुर्पालेक, लिस्ने, गढी लेक, जुगारको गुफा क्षेत्र आदि आकर्षक हिलस्टेसनका रुपमा चम्किँदै छन्।
ग्रामीण पर्यटनका दृष्टिले पनि रोल्पा अब्बल छ। गाउँलेहरू आफ्नोपनमा गौरव गर्छन्। यहाँका जेलबाङ, थबाङ, गाम, टेबाङ, भाबाङ, मिरुल, कुरेली आदि गाउँहरू मौलिक जीवनशैली र संस्कृतिका कारण घुम्नलायक छन्। यति मात्र होइन, यी गाउँमा माओवादी जनयुद्धका कथाव्यथा समेत अध्ययन गर्न सकिन्छ।
रोल्पामा जनयुद्धसँग जोडिएका अनेकौं सम्पदा छन्। जनयुद्ध सङ्ग्रहालयहरू, जनयुद्ध स्मृति पार्कहरू, होलेरी क्षेत्र आदि। यसबाहेक गढी लेक, माडीचौर फाँट, रक गार्डेन (सातदोबाटो), त्रिवेणी गाउँपालिकाको जुगारका कृषि पकेट क्षेत्र आदि पर्यटकीय सम्भावना बोकेका ठाउँ हुन्।
सांस्कृतिक दृष्टिले पनि रोल्पा समृद्ध छ। यहाँ मारुनी नाच, पैसरु नाच लगायत मगर समुदायमा प्रचलित लोक सङ्गीतको सुवास पाइन्छ।
रोल्पाको ग्रामीण जीवनशैली पनि पर्यटकको रोजाइको विषय बन्न सक्छ। गाउँलेहरू इमान्दार, मिहिनेती र स्वाबलम्बी छन्। उनीहरूबाट श्रमसंस्कृतिको पाठ सिक्न सकिन्छ।

यही अनुपम जिल्लाको सभ्यता, जीवनशैली र प्राकृतिक सौन्दर्य उजागर गर्ने उद्देश्यले पर्यटन प्रवर्द्धन मञ्च नेपालले पर्यटन अभियन्ता तथा फोटोग्राफर पृथ्वी पुन (बल्कुराम)ले खिचेका ३५ वटा तस्बिरहरू ‘रोल्पा, टुरिजम फर पिस’ शीर्षकमा काठमाडौंमा प्रदर्शनी गरेको थियो ।
जेठ ५ देखि ७ गतेसम्म तीन दिन नयाँ बानेश्वरको उमोजा कफीमा भएको प्रदर्शनीले समग्र रोल्पालाई चिनाउन मद्धत पुर्यायो। पुनले तस्बिरका माध्यमबाट काठमाडौं र रोल्पालाई जोड्ने काममा सफल भएका छन्।
फोटोग्राफरको चिनारी
फोटोग्राफर पृथ्वी पुन (बल्कुराम) पर्यटन अभियन्ता हुन्। सुनछहरी गाउँपालिका वडा नं. ७, डम्फु गाउँका पुन करिब दुई दशकदेखि ग्रामीण पर्यटन विकास एवम् प्रवर्द्धनमा क्रियाशील छन्। उनले फोटोग्राफी सुरु गरेको एक दशक भयो । उनी विशेषतः प्रकृति, संस्कृति र जीवनशैलीका तस्बिर खिच्छन् । साथै विभिन्न सञ्चार माध्यममा पर्यटन सम्बन्धी लेखरचना पनि लेख्छन्।
उनी पर्यटन प्रवर्द्धन गर्न वृत्तचित्र पनि बनाउँछन्। उनले ‘सुनौलो सुनछहरी’, ‘भिरमौरीको सिकार’, ‘जलजला पर्यटन क्षेत्र’, ‘रोल्पा गुराँस पदयात्रा’, ‘द बडाचौर’ लगायतका वृत्तचित्र निर्माण गरिसकेका छन्।
उनले रोल्पाका गन्तव्यहरूमा पर्यटकीय चहलपहल बढाउन हेलिटुर समेत गराउँदै आएका छन्। रोल्पा सदरमुकाम लिबाङबाट जलजला, कोठेभिर र जेलबाङमा बेलाबेलामा हेलिटुर गराउँछन्।

उनी ‘खाम पदमार्ग’का परिकल्पनाकार हुन्। रोल्पाको जेलबाङ गाम हुँदै पूर्वी रुकुमको चौंरीखर्क, पेल्मा भएर मैकोटसम्म जोड्ने पदमार्गलाई उनले ‘खाम पदमार्ग’ नामकरण गरेका छन्। ६ दिनमा पदमार्ग पुरा गर्न सकिन्छ।
उनी ‘गुरिल्ला म्याराथन’का परिकल्पनाकार पनि हुन्। जेलबाङ गाउँबाट ओख्रेनी बेसक्याम्प, धरमपानी, जलजला, उत्तरगङ्गा, सिदरबार, सुनफुलुप हुँदै जेलबाङसम्म म्याराथन गराउने अभियानमा जुटेका छन्।
उनी रोल्पा र रुकुमलाई पर्यटनधामका रुपमा स्थापित गर्ने अभियानमा जीवन समर्पण गर्न चाहन्छन्।
सम्पर्क: ९८५७८४५७३९
हेर्नुस् थप तस्बिरहरु:
























