काठमाडौं। नुवाकोटको ककनी गाउँपालिका वडा नं. ४ धन्सारमा एउटा सुन्दर झरना छ, फुङ्फुङ् झरना। अग्लो चट्टानबाट फुङ्फुङ् गर्दै बेजोडले झरिरहेको झरना। घामको स्पर्शमा इन्द्रेनी देखिने। हेरिरहुँझैं लाग्ने सय मिटरभन्दा अग्लो झरना।
ह्याकुले खोलाको पानीबाट बनेको झरना आन्तरिक पर्यटकमाझ चर्चित बन्दै गएको छ। विशेषतः गर्मी याममा झरनाको चिसोमा रमाउन, पोखरीमा पौडी खेल्न र प्रकृतिको काखमा आनन्द लिनेहरूको भिड लाग्छ।

आकाश खुलेका बेला झरना क्षेत्रबाट अन्नपूर्ण, मनास्लु, गणेश र लाङटाङ हिमालको लामो लर्कन देखिन्छ। जेठ २४ गते शनिबार भने हिमाल खुलेको थिएन, हरियाली चाहिँ मनग्गे थियो।
शनिबार प्रकृतिप्रेमी समूहका सदस्यहरूलाई फुङ्फुङ् झरनामा हाइकिङ गराइयो। उनीहरू झरनाको चिसो पानी र चिसो हावामा रमाए। तस्बिर खिचे, टिकटक पनि बनाए।
समूहकी सचिव एवम् हाइकिङविज्ञ राम देवी महर्जनको नेतृत्वमा हाइकर्सहरू त्यहाँ पुगेका। उनीहरूलाई काउले चोकबाट हिँडाइयो। त्यहाँबाट उनीहरूलाई गोणेश्वर महादेव, हवेली वन, जगरे, सिस्नेरी हुँदै फुङ्फुङ् झरनामा पुर्याइयो।
झरनाको शिरमा रहेको होमस्टेमा पदयात्रीलाई खाना खुवाइयो। खानाअघि उनीहरूले करिब १६ किलोमिटर पदयात्रा गरे भने खानापछि रानीपौवासम्म ६ किलोमिटर ठाडो उकालोमा हिँडे। यसरी जम्माजम्मी २२ किलोमिटर पदयात्रा गराइयो।

‘आफ्नो स्वास्थ्य आफ्नै हातमा’ स्वास्थ्यको मूलमन्त्र अंकित निलो क्याप लगाएका हाइकर्सहरूले ठाउँठाउँमा यही नारा घन्काएका थिए। हरियो जङ्गलमा चराको चिरबिर सुन्दै, ठाउँठाउँमा फलफुल (स्याउ र आँप) र पानी ब्रेक गर्दै बिस्तारै हिँडाइयो।
जङ्गली फलहरू ऐंसेलु, काफल र चुत्रो खाँदै पदयात्रा गर्न पाउँदा पदयात्री खुसी देखिन्थे। अर्को कुरा, मनसुनी याम भएकाले कतैकतै जुका लाग्यो।
झरनाको शिरमा ‘फुङ्फुङ् होमस्टे’ चलाउँदै आएका युवा सुवास लामाले पथ प्रदर्शकको भूमिका निवार्ह गरेका थिए। उनको होमस्टेमा पदयात्रीलाई स्वास्थ्यवर्द्धक तीन बराबर आहार (एक भाग भात, एक भाग तरकारी र एक भाग सलाद) खुवाइयो।
समूहको हाइकिङमा जंकफुड, फास्टफुड र मदिरा निषेध छ। स्वास्थ्यका लागि गरिने पदयात्रामा स्वास्थ्यवर्द्धक खाना मात्र खुवाइन्छ। सधैं स्वास्थ्यवर्द्धक खाना खाएर प्रकृतिमैत्री जीवनशैली अपनाउन प्रेरित गरिन्छ।
टोलीको नेतृत्व गरेकी ‘हाइकिङ काठमाडौं’ पुस्तककी लेखक एवम् हाइकिङविज्ञ महर्जनले पदयात्रीलाई ठाउँठाउँमा निरोगी रहने शूत्र बाँडिन्। कहिलेकाँही उनी पदयात्रामा योग निद्रा र ध्यान पनि गराउँछिन्।
संस्थाले हरेक महिनाको दोस्रो र चौंथा शनिबार काठमाडौं सेरोफेरोमा स्वास्थ्यवर्द्धक पदयात्रा गराउँछ। धपेडी बिना सुस्तरी हिँडाइने भएकाले बालकदेखि वृद्धसम्म उसको हाइकिङमा सहभागि हुन्छन्।
-1749376242.JPG)
कसरी पुग्ने?
गाडीः काठमाडौंबाट बालाजु वाइपास, तीनपिप्ले, ककनी हुँदै रानीपौवासम्म ३२ किलोमिटर। रानीपौवाबाट ६ किलोमिटर ओरालो झरेपछि धन्सार पुगिन्छ। फोरव्हिल जिप र बाइक धन्सारसम्मै जान्छ। समय, २–३ घण्टा। धन्सारबाट करिब ७ मिनेट सिँढीको बाटो ओरालो झरेमा फुङ्फुङ् झरना।
पदमार्ग १
गाडीमा: काठमाडौंबाट ३२ किलोमिटरमा रानीपौवासम्म।
पदयात्रा: रानीपौवाबाट ठाडै ओरालाे ६ किलोमिटरमा झरना।
जम्मा पदयात्रा दूरी: १२ किलोमिटर।
समय: ४–५ घण्टा।
पदमार्ग २
गाडीमा: काठमाडौंबाट ककनीको काउलेचोकसम्म २९ किलोमिटर गाडीमा।
पदयात्रा: काउले चोकबाट गोणेश्वर महादेव, हवेली वन, जगरे, सिस्नेरी हुँदै फुङ्फुङ् झरनासम्म १६ किलोमिटर। झरनाबाट रानीपौवासम्म ठाडै उकालो ६ किलोमिटर।
पदयात्रा दूरी: २२ किलोमिटर
समय: ९ घण्टा ठाडै उकालो र ठाडै ओरालो
आउनुस् है! (सुवास लामा, सञ्चालक, फुङ्फुङ् होमस्टे)

फुङ्फुङ् झरनामा दुई वर्षअघि क्यानोनिङ तालिम भएपछि बिस्तारै यसको प्रचार भयो। आन्तरिक पर्यटक आउन थाले। त्यसैले उनीहरूको खाना र बासका लागि हामीले होमस्टे सञ्चालनमा ल्याएका हौं। यहाँ खाना र बास सुबिधा पाइन्छ। तपाईंहरूले पारिवारिक वातावरण पाउनु हुनेछ। यतिबेला फेरि क्यानोनिङ तालिम भइरहेको छ। यसका लागि ककनी गाउँपालिका, नेपाल पर्यटन बोर्ड र नेपाल क्यानोनिङ संघले सहयोग गरेका छन्। क्यानोनिङ राम्रो पर्यटन प्रोडक्ट बन्नेमा हामी आशावादी छौं। तपाईं पनि आउनुस् है, झरना हेर्न र क्यानोनिङ गर्न।
सम्पर्क: सुवास लामा– ९८४६६६११२४
प्रकृतिप्रेमी समूहको हाइकिङका थप तस्बिरहरू:
-1749376366.JPG)
-1749376359.JPG)
-1749376355.JPG)
-1749376327.JPG)
-1749376325.JPG)
-1749376315.JPG)
-1749376314.JPG)
-1749376304.JPG)
-1749376304.JPG)
-1749376296.JPG)
-1749376292.JPG)
-1749376283.JPG)
-1749376282.JPG)
-1749376275.JPG)
-1749376271.JPG)
-1749376263.JPG)
-1749376254.JPG)
-1749376253.JPG)
-1749376245.JPG)
-1749376234.JPG)
-1749376262.JPG)