काठमाडौं । नेपालका पर्यटनसम्बद्ध संस्थाहरूले एक स्वरमा यात्राका लागि नेपाल शान्त र सुरक्षित रहेको सन्देश प्रवाह गरेका छन् ।
ती संस्थाहरूले जेन–जी आन्दोलन समाप्त भएर देश नयाँ राजनीतिक कोर्समा गइसकेकोले नेपाल घुम्नका लागि सुरक्षित रहेको जनाएका छन् । उनीहरूले आन्दोलनबाट भौतिक रुपमा केही क्षति पुगे पनि नेपालमा रहेका पर्यटकमा कुनै क्षति नभएको उल्लेख गरेका छन् ।
नेपाल होटल संघले नेपालका होटलहरू पहिलाजस्तै पर्यटकको सेवामा समर्पित भएको जनाएको छ । त्यस्तै, ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपालले पनि पर्यटकलाई सुरक्षित यात्रा गराउन सक्षम रहेको जनाएको छ ।
त्यसैगरी, नेपाल पर्यटन बोर्डले पनि हालैको राजनीतिक घटनाक्रमपछि नेपालको पर्यटनमा स्थिरता छाएको जनाएको छ । बोर्डले सार्वजनिक यातायात, आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू र सबै प्रमुख पर्यटन गन्तव्यहरू सामान्य रूपमा सञ्चालनमा रहेको उल्लेख गरेको छ । ‘नेपाल अहिले सुरक्षित, शान्त र संसारभरिका पाहुनाहरूलाई आतिथ्य दिन तयार छ’, बोर्डले भन्यो ।
त्यस्तै, नेपाल पर्वतारोहण संघ (एनएमए)ले पनि नेपालमा परिस्थित सहज रहेको जनाउँदै आइतबारबाट आफ्नो कार्यालय सञ्चालमा ल्याएर सेवा पुनः सुचारु गरेको छ ।
भ्रष्टाचार, बेथिति र नेपालमा दर्ता हुन नमानेका सामाजिक सञ्जाल बन्दको विरोधमा जेन–जीहरू २३ भदौमा सुरु गरेको आन्दोलन हिंसात्मक बन्दा देशका सबै क्षेत्र पूर्णरुपमा प्रभावित भएका थिए । यद्यपि, पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले अन्तरिम सरकारको नेतृत्व सम्हालेपछि जनजीवन सामान्य बनेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई उडानहरू सञ्चालनमा रहेकोमा आइतबारदेखि लामो दूरीका यातायातका साधानहरू पनि सञ्चालनमा आएका छन् ।
यसै सन्दर्भमा नेपाल एसोसिएसन अफ टुर तथा ट्राभल एजेन्ट्स (नाटा)का अध्यक्ष कुमारमणि थपलियाले अब संसारलाई नेपाल यात्राका लागि सुरक्षित छ भनि सन्देश फैलाउन जरुरी रहेको जनाएका छन् । उनले आन्दोलनबाट प्रभावित पर्यटन क्षेत्र नेपालले प्रदान गर्ने सुरक्षामा भर पर्ने बताए । नेपालले उचित किसिमले पर्यटकलाई सुरक्षाको प्रत्याभूति दिलाउन सकेमा पर्यटनमा ठूलो असर नपर्ने उनको भनाइ ।