असोज । होटल संघ पोखरा नेपालले आन्तरिक तथा बाह्य पर्यटकलाई पोखरा भ्रमणका लागि आग्रह गरेको छ। भदौमा भएको जेन–जी आन्दोलनका बाबजुद पोखरा सुरक्षित पर्यटकीय गन्तव्य भएको भन्दै संघले पाहुनाको स्वागतका लागि व्यवसायी तत्पर रहेको सन्देश प्रवाह गरेको हो।
दसैं पर्वको शुभकामना आदानप्रदानका लागि आयोजित कार्यक्रममा संघले पोखराका सञ्चारकर्मीमार्फत पाहुनालाई पोखराको वास्तविक र सकारात्मक पक्ष प्रवाह गर्न आग्रह गरेको थियो। कार्यक्रममा बोल्दै संघका अध्यक्ष लक्ष्मण सुवेदीले आन्दोलनका क्रममा पोखराका आधा दर्जन पर्यटकीय प्रतिष्ठानमा क्षति पुगे पनि बाँकी सबै संरचना सुरक्षित रहेर सेवा दिन सक्ने अवस्थामा रहेको जानकारी दिए।
‘हामीसँग एक हजार दुई सय होटलमा करिब ४० हजार विस्तारा छन्,’ उनले भने, ‘सयौं रेष्टुराँ पनि सेवाका लागि तत्पर छन्। पोखरा आउने पाहुनालाई कुनै समस्या हुने छैन।’
मुख्य पर्यटकीय मौसम सुरु हुने बेलामै आन्दोलनका कारण पर्यटन क्षेत्रमा नकारात्मक असर परे पनि उद्योग विस्तारै पुरानै लयमा फर्कने विश्वास व्यवसायीहरूले व्यक्त गरेका छन्। होटल मात्र नभई अन्य पर्यटकीय प्रतिष्ठान र सेवामा समेत व्यवसायीहरूले छुटका साथ पाहुनाको स्वागत गर्ने तयारी रहेको अध्यक्ष सुवेदीले बताए।
काठमाडौँ, चितवन र बुटवललगायतका सहरसँग पोखरा जोड्ने सडक सुरक्षित र चुस्त रहेको स्मरण गराउँदै सुवेदीले अहिले काठमाडौँबाट करिब पाँच घण्टामा सडकमार्ग हुँदै पोखरा आइपुग्न सकिने बताए। राति अवेरसम्म हवाई उडान उपलब्ध हुने भएकाले पर्यटकलाई थप सहज भएको उनले उल्लेख गरे।
उनका अनुसार दसैं–तिहारलगायतको चाडपर्व सुरु भइसकेकाले यस मौसममा देशका विभिन्न भागबाट पर्यटक पोखरा आउने अपेक्षा गरिएको छ। आन्दोलनका कारण पर्यटन शून्यमा झरे पनि उद्योग फेरि उठ्नेमा आफूहरू विश्वस्त रहेको सुवेदीले बताए। ‘विभिन्न विपत्ति र चुनौती सामना गर्दै हामी पटक–पटक उठेका छौं,’ उनले भिडियो सन्देशमार्फत भने, ‘यो पटक पनि हामी पुनः उठ्ने छौं।’ संघका अनुसार हाल पोखराका होटलमा पर्यटकको अकुपेन्सी दर करिब २५ प्रतिशत छ।
हाल हिमालहरू खुलेका, पदयात्रा सामान्य रूपमा जारी रहेको र शान्ति–सुरक्षा पूर्ववत् अवस्थामा भएकाले पोखरा भ्रमण गर्न सक्ने संघले जनाएको छ।
यसैगरी, होटल संघ नेपालका केन्द्रीय सदस्य भरतराज पराजुलीले पोखरा जीवित र चलायमान सहर भएको बताउँदै होटल, रेष्टुराँ र अन्य प्रतिष्ठान सेवाका लागि आतुर रहेको सन्देश दिएका छन्। ‘पोखरा निकै सुन्दर सहर हो,’ उनले भने, ‘हरियाली र खुलेका हिमालको छायामुनि घुम्न र रमाउन सबैलाई यहाँ आउन आग्रह गर्दछौं।’