काठमाडौँ
प्रणय दिवसको पूर्वसन्ध्यामा स्वयम्भूको शान्त वातावरण, समकालीन नेपाली कविताको गुञ्जनले तरङ्गित बन्यो। ‘वर्तमान कविता समूह’ले होटल नयनमा शुक्रबार आयोजना गरेको ‘काव्यिक प्रणय–साँझ’ मा २४ कविले प्रेमलाई परम्परागत रोमान्टिक घेराभन्दा माथि उठाएर सामाजिक, मनोवैज्ञानिक र राजनीतिक दृष्टिकोणबाट प्रस्तुत गरे।
कविहरूले प्रेमलाई परम्परागत रोमान्टिक घेराभन्दा माथि उठाएर सामाजिक, मनोवैज्ञानिक र राजनीतिक दृष्टिकोणबाट प्रस्तुत गरे।
वाचित कविताहरूले प्रेमलाई व्यक्तिगत भावनामा मात्र सीमित नगरी सामाजिक संरचनासँग जोडिएका मानवीय अनुभवका रूपमा प्रस्तुत गरेका थिए। उनीहरूले विद्रोहभित्र प्रेमको शक्ति र उत्पीडन एवम् द्वन्द्वविरुद्ध प्रेम कसरी प्रतिरोधको माध्यम बन्न सक्छ भन्ने विषय उजागर गरे।

कविता सुनाउँदै स्नेह सायमी
पुँजीवादी व्यवस्थाभित्र मानिसका सम्बन्धहरू टिकाइराख्न कति चुनौतीपूर्ण छ र प्रविधिको बढ्दो प्रभावका बीच प्रेमको आदर्श कसरी बाँचिरहेको छ भन्ने प्रश्न पनि कविताहरूमा उठाइयो। विछोडको मनोवैज्ञानिक पक्षदेखि श्रम र सङ्घर्षसँग जोडिएको प्रेमसम्मका विषयलाई कविहरूले बहुआयामिक ढङ्गले प्रस्तुत गरेका थिए।
कार्यक्रममा कवि विश्व सिग्देलले समूहको उद्देश्य प्रेमका विषयमा मात्र सीमित नरहेको बताए। उनले यसअघि पनि श्रम, पर्यावरण र सामाजिक न्याय जस्ता विविध र समसामयिक मुद्दाहरूमा केन्द्रित भई कार्यक्रम आयोजना गरिएको जानकारी गराउँदै आगामी दिनहरूमा पनि साहित्यिक बहसहरूलाई निरन्तरता दिइने उल्लेख गरे।

कविता सुनाउँदै लक्ष्मी रुम्बा, साथमा रमी प्रिया
साहित्यको भविष्य र पहुँचका बारेमा चर्चा गर्दै समूहका अर्का सदस्य धीरकुमार श्रेष्ठले, समूहले अनुवादका परियोजनाहरूमा पनि सक्रियतापूर्वक काम गरिरहेको जानकारी दिए। उनकाअनुसार नेपाली सिर्जनालाई अन्य भाषामा अनुवाद गर्नु स्थानीय साहित्यलाई विश्वव्यापी पाठकमाझ पु¥याउन र अन्तर्राष्ट्रिय जगतसँग नेपाली मौलिकता जोड्न महत्वपूर्ण कदम हो।
कार्यक्रममा किशोर पहाडी, स्नेह सायमी, सुधीर ख्वबि, अभय श्रेष्ठ, रामगोपाल आशुतोष, वसन्त नकर्मी, राधिका कल्पित, रजनी मिला, समाश्री, दीप्स शाह, लक्ष्मी रुम्बा, दिलकुमारी डंगोल, विणा नेम्कुल, शोभा सरभ, विष्णुकला राई, रहेना नकःमी मानन्धर, मञ्जु श्रेष्ठ सिंह, तपन जीएम, रश्मी रिजाल, दीपक चौलागाईं, विश्व सिग्देल, धीरकुमार श्रेष्ठ, चन्द्रबहादुर लामा र रमी प्रियाले रचना सुनाएका थिए।
सहभागी सबै कवि तथा अतिथिलाई पुस्तक उपहार दिइएको थियो।
याे पनि : प्रणय वेदका ऋचाहरू (भिडियो)
याे पनि : ‘प्रेम कहिल्यै बुढो हुँदैन’ (भिडियो)