काठमाडौं
उचित आहार, विहार र विचार गरेर स्वस्थ रहन प्रेरित गर्ने उद्देश्यले ‘ललितपुर तयारी पोसाक व्यापार संघ’ले शनिबार आफ्ना सदस्यहरूलाई हाइकिङ र स्वास्थ्यसम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागि गराएको छ।

उनीहरूलाई ललितपुरको नल्लुु पाथीभरादेखि दलचोकीस्थित निरोग आनन्दधामसम्म पदयात्रा गराइएको हो। स्वास्थ्यवद्र्धक आँटाको केक र चनाआलुुको तरकारी खुवाएर पदयात्रा सुरु गरिएको थियो। उनीहरूलाई पाथीभराबाट गोठ भन्ज्याङ, दलचोकी मनकामना मन्दिर हुँदै निरोग आनन्दधामसम्म ७ किलोमिटर पदयात्रा गराइयो।

हाइकिङको नेतृत्व प्रकृतिप्रेमी समूहकी सचिव एवम् हाइकिङविज्ञ राम देवी महर्जनले गरेकी थिइन्। उनीहरू ‘आफ्नो स्वास्थ्य आफ्नै हातमा’ भन्ने स्वास्थ्यको मूल मन्त्र उच्चारण गर्दै हिँडे। निरोगआनन्दधाममा पुग्दा मौसम खुलेको थियो। त्यहाँको शितल वातावरणमा पदयात्रीहरू रमाए।


त्यहाँ उनीहरूलाई तीन बराबर आहार खुवाइयो। तीन बराबर आहारमा एक भाग अन्न (खैरो चामलको भात), दुई भाग हरियो तरकारी, दाल, अचार, खुर्पानीको प्राकृतिक लालमोहन र एक भाग सलाद खुवाइएको थियो। यसरी तीन बराबर आहार सेवनले कब्जियत हुँदैन। कब्जियत नभएपछि रोग लाग्दैन।

खानापछि उनीहरूलाई ‘उचित आहार, विहार र विचार’ अन्तरक्रियामा सहभागि गराइयो। कार्यक्रममा प्रकृतिप्रेमी समूहका संस्थापक आडा उमेश श्रेष्ठले रोग लाग्ने कारण र निवारण आफ्नै हातमा रहेको प्रस्ट पारे। उनले निरोगी भएर कसरी बाँच्ने ? रोगबाट कसरी मुक्त हुने ? भन्ने जानकारी गराए।
प्रकृतिप्रेमी समूहका संस्थापक ‘उचित आहार, विहार र विचार’ का प्रणेता आडा उमेश श्रेष्ठ
‘निरोग आनन्दित र स्वतन्त्र रहेर बाँच्ने क्षमता हामी सबैमा छ’, उनले भने, ‘मात्र हामीले स्वास्थ्यको सरल नियमलाई पालना गरेमा स्वस्थ भएर बाँच्न सक्छौ। त्यो हो, आफ्नो स्वास्थ्य आफ्नै हातमा लिँदै उचित आहार, विहार र विचार दैनिक जीवनमा लागू गरेर।’
कार्यक्रममा संघका अध्यक्ष शेरबहादुर महर्जनले स्वास्थ्यवद्र्धक गीत गाएका थिए। उनले ‘जनताद्वारा जनताका लागि निरोगआनन्दधाम’ र ‘गारो छैन निरोगी भई बाँच्नलाई’ बोलका गीत गाउँदा कार्यक्रमका सहभागिहरू नाचेका थिए।
अन्तरक्रियामा गीत गाउँदै ललितपुर तयारी पोसाक व्यापार संघका अध्यक्ष शेरबहादुर महर्जन
स्मरणीय छ, ललितपुरको कोन्ज्योसोम गाउँपालिका–३ दलचोकीमा छ, निरोगआनन्दधाम। यहाँ आवासीय रुपमा उचित आहार, विहार र विचारको व्याबहारिक अभ्यास गराइन्छ। यहाँ ‘दिशा बदले दशा सप्रिन्छ’ नामक सात दिने साँचो ध्यान शिविर पनि बेलाबेलामा आयोजना गरिन्छ।
हाइकर्स उषा थापा र हाइकिङविज्ञ राम देवी महर्जन
‘आफ्नो स्वास्थ्य आफ्नै हातमा’ लिन प्रकृतिमा रहेको सरल पद्धती ‘उचित आहार, विहार र विचार’ अभियान चलाउँदै आएको संस्थाले हरेक महिनाको दोस्रो र चौंथो शनिबार काठमाडौं सेरोफेरोमा हाइकिङ गराउँदै आएको छ। उसले बेलाबेलामा मुलुकभित्र बहुदिने पदयात्रा पनि गराउँछ। यसरी संस्थाले स्वस्थ आन्तरिक पर्यटन प्रवद्र्धन गर्दै आएको छ।










