काठमाडौं ।
नेपाली समाजमा एउटा उखान छ, ‘आगो ताप्नु मुढाको, कुरा सुन्नु बुढाको।’ साँच्चै अनुभवले खारिएका अग्रजहरूसँग जीवन र जगत बुझ्न सकिन्छ। प्रेरणा लिन सकिन्छ। यसरी सुन्दा उनीहरूको सम्मान पनि हुन्छ।
यस्तै एउटा सार्थक प्रयास भएको छ, काठमाडौंमा। ‘वर्तमान कविता समूह’ले ‘अग्रजसँग वर्तमान कविता’ शृङ्खलाको चौंथो संस्करणमा कवि अविनाश श्रेष्ठलाई सम्मान गरेको छ। श्रेष्ठको काव्ययात्रा सुनेर र उनकै सम्मानमा कविता वाचन गरेर सम्मान दर्शाएको हो।
कवि अविनाश श्रेष्ठ र कवि विष्णुविभू घिमिरे ।
यस कार्यक्रमले नेपाली साहित्यमा पुस्तान्तरण, अनुभव आदानप्रदान र सृजनात्मक संवादको महत्वलाई उजागर गरेको छ। अग्रज पुस्ताका ज्ञान, अनुभव, सङ्घर्ष र सिर्जनात्मक यात्रालाई अनुज पुस्तासम्म पु¥याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको समूहका अभियन्ता विश्व सिग्देल बताउँछन्।
समसामयिक समाज, श्रमिक वर्गको जीवन, मानवीय पीडा र सामाजिक यथार्थलाई लेखनको केन्द्रमा राख्दै आएका श्रेष्ठले नेपाली कवितामा प्रगतिशील तथा यथार्थवादी चेतनालाई सशक्त रूपमा अभिव्यक्त गर्दै आएका छन्। सरल, प्रभावकारी तथा प्रतीकात्मक भाषाशैलीका कारण उनले साहित्यमा विशिष्ट पहिचान बनाएका छन्।
कवि अविनाश श्रेष्ठका साथमा कवि प्रेमिला राई ।
सामाजिक असमानता, शोषण, अन्याय र मानव सङ्घर्षलाई कलात्मक बान्की दिई प्रस्तुत गर्नु उनका कविताका प्रमुख विशेषता हुन्। नेपाली पर्या कविताको उषाकालको सुरुवातकर्ता पनि हुन्।
उनका ‘करोडौँ सूर्यहरूको अन्धकार’, ‘परेवा ः सेता–काला’, ‘संवेदना÷ओ संवेदना !’ र ‘अनुभूति यात्रामा’ जस्ता कृतिहरूले नेपाली कवितामा नयाँ भाषिक संवेदना र बिम्बात्मकता भित्र्एका छन्।
असममा जन्मिएर पछि नेपालमा स्थायी रूपमा बसोबास गर्दै नेपाली कवितामा भारतीय तथा विश्व साहित्यका प्रभावलाई सिर्जनात्मक ढङ्गले समायोजन गर्ने कविका रूपमा समेत परिचित छन्।
कार्यक्रममा श्रेष्ठले गुवाहाटीमा बिताएका साहित्यिक जीवनका सुरुवाती दिनहरू, वरिष्ठ कवि हरिभक्त कटुवालसँगको भेट, भारतीय भूमिमा नेपाली भाषी समुदायले भोग्नुपरेका चुनौतीहरू तथा नेपाल आगमनपछि विष्णुविभू घिमिरेलगायत साहित्यिक सहयात्रीसँगको सम्बन्धबारे रोचक संस्मरण सुनाए।
उनले आफ्नो साहित्यिक यात्राको समीक्षा गर्दै अनुज पुस्ताका सम्भावना, कमजोरी तथा नेपाली समालोचना विधामा देखिएका सीमाहरूबारे समेत गम्भीर विश्लेषण प्रस्तुत गरे।
कार्यक्रममा उनले ‘आफ्नै भाषामा फर्क’, ‘कुन्नी कुन अपरिचित गाउँकी नैनतारा बरुवा’ जस्ता सशक्त कविता वाचन गरेका थिए।
कवि अविनाश श्रेष्ठका साथमा साहित्यकार सेँजुती बरुवा
कविता वाचन
कवि अविनाश श्रेष्ठको जीवनदर्शन, साहित्यिक चिन्तन र सृजनात्मक यात्राबारेको श्रवणपछि कवितावाचन सत्र सञ्चालन गरिएको थियो। कार्यक्रममा विष्णुविभू घिमिरेले ‘वसन्तभन्दा ठूलो विश्वास’, सुरज पराजुलीले ‘अभिनय’, केशव भट्टराईले ‘घर’, उमेश अकिञ्चनले ‘अक्षर इच्छा’, धीरकुमार श्रेष्ठले ‘पुनरावृत्ति’, चन्द्रबहादुर लामाले ‘पहिरो गएपछि’, प्रेमिला राईले ‘अन्तिम अनुरोध’, प्रज्वल अधिकारीले ‘बडो भयावह चित्र बनाउँदै छ चित्रकार’, विश्व सिग्देलले ‘बा बन्दै गइरहेछु’, रमी प्रियाले आफ्नो दाहिने मुटु कविता तथा शकुन्तला जोशीले ‘हिमाल ः एक कथावाचक’ शीर्षकको कविता वाचन गरेका थिए।
कार्यक्रममा बंगलादेशबाट नेपाल भ्रमणमा रहेकी कवि तथा कथाकार सेँजुती बरुवाको पनि उपस्थिति थियो। साहित्यिक सिर्जनामा सक्रिय बरुवाले कविता र कथामार्फत समकालीन दक्षिण एसियाली समाजका विविध अनुभव र संवेदनालाई अभिव्यक्त गर्दै आएकी छन्। उनले महासागर शीर्षकको नेपालीमा अनुवाद आफ्नो कविता वाचन गरेकी थिइन् भने बङ्गाली र अंग्रेजी भाषामा पनि क्रमशः यट द स्पाइस सप र ओ मर्मेड वाचन गरेकी थिइन् ।
यसअघि ‘अग्रजसँग वर्तमान कविता’ शृंखलामा स्नेह सायमी, श्यामल र लक्ष्मी माली सहभागी भइसकेका छन् ।