काठमाडौं ।
नेपालमा स्वास्थ्यवद्र्धक हाइकिङ अभियानको नेतृत्व गर्दै आएको अग्रणी संस्था ‘प्रकृतिप्रेमी समूह’ले शनिबार आफ्ना सदस्यहरूलाई काभ्रेपलाञ्चोक जिल्लामा अवस्थित प्राकृतिक, धार्मिक एवम् सांस्कृतिक गन्तव्यमा पदयात्रा गराएको छ। उसले नमो बुद्धबाट लड्केश्वर हुँदै खोपासीसम्म पदयात्रा गराएको हो।

साउनको हरियाली। निलो आकाश। ‘आफ्नो स्वास्थ्य आफ्नै हातमा’ लेखिएको निलै क्याप लगाएका हाइकर्सहरू। उनीहरूका लामबद्ध पाइला।
हाइकिङ टोलीको नेतृत्व गरिरहेकी समूहकी सचिव राम देवी महर्जन बेलाबेलामा त्यही मन्त्रोचारण गर्थिन्, ‘आफ्नो स्वास्थ्य आफ्नै हातमा’ ।
उनलाई हाइकर्सहरूले एकै स्वरमा साथ दिन्थे, ‘आफ्नो स्वास्थ्य आफ्नै हातमा’ ।
नमो बुद्ध
संस्थाको कार्यालय ललितपुरको सातदोबाटोस्थित निरोगधामबाट गाडीमा नमो बुद्धसम्म उनीहरूलाई पु¥याइएको थियो। त्यहाँबाट पदयात्रा सुरु गरियो। भन्ज्याङमा रहेको प्राचीन चैत्य दर्शन गरेर उनीहरू डाँडामा उकालिएका थिए।
त्यहाँ उनीहरूले माने, चैत्य, गुम्बालगायत सम्पदा दर्शन गरे। खासमा नमो बुद्ध भगवान गौतम बुद्धको पूर्व जन्मसँग सम्बन्धित ठाउँ हो। पूर्व जन्ममा पाञ्चाल देशको राजकुमार हुँदा उनले यहाँ भोकी बघिनी र उनका डमरुलाई आफ्नो शरीर दान गरेका थिए।
हाइकिङविज्ञ राम देवी महर्जन
पावन भूमि नमो बुद्धको दर्शनपछि पदयात्रीहरू ओरालो झरेर तेर्सो बाटो हुँदै कटेरी गाउँ भएर चिण्डे गाउँ पुगेका थिए। त्यहाँबाट ओरालो झरेर लड्कु खोला तरेर लड्केश्वर महादेव मन्दिरमा पुगेका थिए।
लड्केश्वर कथा रोचक छ। भगवान शिवले कालकुट विष सेवन गरेपछि उनलाई डाहा भयो। उनी यहाँको लड्कु खोलामा डुबुल्की मार्न आइपुगे। र, यहाँबाट पाइला चालेर फड्केश्वर हुँदै गोसाइँकुण्ड पुगेका थिए।
लड्केश्वरमा १०८ फिट अग्लो त्रिशूल
लड्कु खोला किनारमा गुफाभित्र बसेका छन् महादेव। नजिकै अर्को गुफामा धर्मद्वार र पापद्वार पनि छ।
नजिकै १०८ फिट अग्लो त्रिशूल बनाइएको छ। यसको फेदिमा पञ्चमुखी हनुमानको मूर्ति पनि स्थापना गरिएको छ।
लड्केश्वर
लड्केश्वर दर्शनपछि उकालो चढाएर पदयात्रीलाई बल्थली गाउँमा पु¥याइयो। त्यहाँ ‘लड्केश्वर खाजा घर’मा तीन बराबर आहार खुवाइयो। एक भाग अन्न (भात), एक भाग तरकारी (फर्सिको मुन्टा, मिक्स तरकारी र अचार), र अर्को एक भाग सलाद (काँक्रो र स्याउ) खुवाइयो।
यसरी तीन बराबर आहार खाँदा शरीरमा कब्जियत हुँदैन। कब्जियत नभएपछि शरीर स्वस्थ रहन्छ।
यस संस्थाको हाइकिङमा सधै स्वास्थ्यवद्र्धक खाना मात्र खुवाइन्छ। जंकफुड, फास्टफुड र मदिरा निषेध हुन्छ। पदयात्रामा खाना खाने तरिका र पानी पिउने तरिका सिकाइन्छ।
शनिबारको हाइकिङमा पनि खानापछि उचित आहार, विहार र विचार प्रशिक्षक समेत रहेकी हाइकिङविज्ञ राम देवीले पदयात्रीलाई टाउको किन दुख्छ भन्ने बारेमा जानकारी गराइन्।
त्यसपछि एउटा गीत गाइन्, ‘मनपरि खाने, कोची कोची खाने, जिङरिङ्ग मोटाउने...’ ।

उनले गाउँदा पदयात्री छम्छमी नाचे।
पदयात्रीले खाना ब्रेकमा बल्थलीको हरियो धानबालीलाई पृष्ठभूमिमा राखेर तस्बिर खिचेका थिए। टिकटक र रिल्स बनाएका थिए। बल्थली ग्रिन भिलेजका रुपमा प्रख्यात छ। नमो बुद्धमा जस्तै यहाँ होटल र होमस्टे सुविधा छ।
बल्थली गाउँ
नाचगानपछि उनीहरूलाई खोपासीको पावर हाउस नजिकै झोलुङ्गे पुलसम्म हिँडाइयो, करिब १५ किलोमिटर।

स्मरणीय छ, प्रकृतिप्रेमी समूहले हरेक महिनाको दोस्रो र चौंथो शनिबार यसैगरी काठमाडौं सेरोफेरोमा स्वास्थ्यवद्र्धक हाइकिङ गराउँदै आएको छ। उसले निरोगी नेपाल निर्माण अभियानमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।



























