मुस्ताङको घरपझोङ गाउँपालिका ५ सम्ले गाउँमा पर्ने धुम्बाताल मुस्ताङ पुग्ने पर्यटकको मुख्य रोजाइमा परेको छ । नीलगिरि हिमालको काखमा रहेको पर्यटकीय आकर्षण धुम्बाताल स्वदेशी र विदेशी पर्यटकको गन्तव्य बन्दै जान थालेको हो।
मुस्ताङ सदरमुकाम जोमसोमदेखि दुई किलोमिटरको दुरीमा पर्ने धुम्बाताल दृश्य अवलोकनका लागि निकै आकर्षक मानिन्छ । जोमसोमदेखि ठिनी गाउँ हुँदै पुगिने यो ताल प्रकृतिको अनुपम उपहार झैँ लाग्छ ।
धुम्बातालको उत्तरतर्फ नीलगिरि हिमाल, पश्चिमतर्फ कुछपतेरङ गुम्बा, पूर्वतर्फ प्रसिद्ध घरपझोङ किल्ला रहेको छ । 
परापूर्वकालदेखि धुम्बातालको जल प्रयोग गरी गुम्बामा पूजाआजा गर्ने गरेको स्थानीयवासीको भनाइ छ । ताल हेर्नका लागि स्वदेशी र विदेशी पर्यटक त्यहाँ पुग्ने गरेका छन् । हिउँदमा चिसोका कारण पर्यटकको सङ्ख्या केही घटे पनि गर्मीयाममा उल्लेख्य मात्रामा देखिन्छ । तालको नजिकैबाट मनोरम प्राकृतिक दृश्यको आनन्द लिन सहज होस् भनेर आरामदायी कुर्सी र फोटो खिच्नका लागि कुर्सी राखिएको छ । 
समुन्द्री सतहबाट दुई हजार नौ सय मिटरको उचाइमा रहेको धुम्बाताल पवित्र बौद्ध तालको रूपमा पनि प्रसिद्ध मानिन्छ । धुम्बातालको लम्बाइ एक सय ५० मिटर र चौडाइ एक सय मिटरको हाराहारीमा रहेको अनुमान गरिएको छ । 
हिउँदको समयमा तालमा सतहको पानी जम्ने र ताल वरपरको भू–भागमा हिँउले ढाक्ने हुँदा थप आर्कषक देखिन्छ । तालको सतही भाग जमेको बेला छेउछाउमा पर्यटकले पैदल हिँडेर मनोरञ्जन लिने तथा सतहको पानी जमेको बेला त्यसमाथि स–साना बरफका टुक्राहरु फाल्दै र छेउछाउमा हिँड्दै गर्दा अन्त्यन्त रमाइलो हुने त्यहाँ पुग्ने पर्यटकको अनुभव छ ।