काठमाडौं । पछिल्लो समय दसैँ-तिहारजस्ता चाडपर्वमा घुम्न निस्कने प्रचलन बढ्दो छ। लामो बिदा हुने र मौसमको हिसाबले पनि उपयुक्त हुने हुँदा मानिसहरू दसैँ-तिहारको बेला घुम्न निस्कने गर्छन्। ‘दसैँ-तिहारमा सकेसम्म गाउँ जानुपर्छ, गाउँ जान नपाए कतै घुम्न निस्कनुपर्छ’ भन्ने मान्यता स्थापित हुँदै गएको छ।
विगतको तुलनामा पछिल्ला वर्षहरूमा राजधानी काठमाडौंबाट बाहिरिनेहऋको संख्या घट्दो छ। सडक सञ्जाल गतिला नहुँदा र व्यक्तिगत समस्याका कारण मानिसहरू राजधानीमै रहन बाध्य छन्। यस्तो बेला कतिपय मानिसहरू काठमाडौं आसपासका पर्यटकीयस्थलहरूमा घुम्ने र पारिवारिक जमघट गर्ने गर्छन्। यहाँ काठमाडौं घुम्न, खानपान गर्न र रमाइलो गर्नका लागि उपयुक्त स्थानहरूलाई समावेश गरिएको छ :
धुलिखेल

काठमाडौं उपत्यकाबाट नजिक रहेको काभ्रेको धुलिखेल छोटो समयमा यात्रा गर्न सकिने पर्यटकीय गन्तव्यको रुपमा लिइन्छ। पर्यटकीस्थलको रुपमा लिन्छ।
काठमाडौंबाट करिब ३०–४० किलोमिटर टाढा रहेको धुलिखेल छोटो समयमा घुम्नको लागि एकदमै उपयुक्त मानिन्छ। पहाडी वातावरण, घुम्न र फोटो खिच्न उपयुक्त छ। सूर्यास्त र हिमालको दृश्य देखिने भएकोले अझ बढी रमणीय रहेको छ। यहाँ बास बस्नको लागि पनि सस्तो र राम्रो होटलहरू पनि रहेका छन्।
नगरकोट

नगरकोट काठमाडौं देखि करिब ३२ किलोमिटर पूर्व काभ्रे जिल्लामा अवस्थित एउटा सुन्दर हिल स्टेशन हो। यो स्थान प्राकृतिक सुन्दरताका लागि प्रसिद्ध छ र हिमालय दर्शनको लागि उत्कृष्ट स्थल मानिन्छ। यहाँ प्रकृति र हिमालय दर्शनको अनौठो अनुभव गर्न सकिन्छ। यहाँ सूर्य उदाउँदा हिमालको दृश्य अत्यन्तै मनमोहक देखिन्छ। मकालु, अन्नपूर्ण, धौलागिरी जस्ता प्रमुख हिमश्रृंखलाहरू नगरकोटबाट स्पष्ट रूपमा अवलोकन गर्न सकिन्छ। विशेषगरी सूर्योदय हेर्नका लागि नगरकोट एक प्रमुख गन्तव्यको रूपमा स्थापित छ। सूर्यको पहिला किरणसँगै हिमालयको दृश्यले यहाँ आउने पर्यटकहरूलाई मन्त्रमुग्ध बनाउँने गर्दछ।
ककनि

काठमाडौँबाट लगभग २५ देखि २८ किलोमिटरको बीचको दुरीमा नुवाकोट जिल्लामा अवस्थित काकनी हाल पर्यटकहरू माझ लोकप्रिय गन्तव्यको रूपमा चिनिन थालेको छ। हरियो जंगल, पहाडी दृश्य, र प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो क्षेत्रले सधैं शान्ति खोज्ने पर्यटकलाई आकर्षित गरिरहेको छ। ककनीमा पिकनिक स्थल, हाइकिङ मार्ग र प्राकृतिक दृश्य अवलोकनका लागि पर्याप्त सुविधा उपलब्ध गराइएको छ। यहाँको ठण्डा हावा र हरियाली वातावरणले शहरको व्यस्त जीवनबाट विश्राम लिन चाहने मानिसका लागि उपयुक्त अनुभव प्रदान गर्दछ।
चित्लाङ

काठमाडौंको दक्षिणतर्फ करिब ३० किलोमिटर टाढा अवस्थित चित्लाङ गाउँ आफ्नो ऐतिहासिक महत्व र प्राकृतिक सुन्दरताका कारण पर्यटकहरूको प्रमुख आकर्षण बन्न थालेको छ। यो गाउँ मध्यकालीन मल्लकालीन वास्तुकला, साँस्कृतिक परम्परा, र पहाडी जीवनशैलीको प्रतिविम्बको रूपमा परिचित छ। चित्लाङमा विशेषगरी ठूला ढुंगाका घरहरू, पुराना मठमन्दिर, र सांस्कृतिक कार्यक्रमहरूले पर्यटकहरूलाई मोहित पार्छ। पर्यटकहरूले यहाँ ट्रेकिङ, अर्ग्यानिक खानाको अनुुभव र स्थानीय हस्तकला किन्न सक्ने अवसर पाउँछन्। यहाँ पुरानो ऐतिहासिक दरबार, भेडा फार्म, चिज फार्मको अवलोकन गर्न सकिन्छ। पर्यटन विकास र स्थानिय समुदायको सहभागिताले चित्लाङलाई दिगो पर्यटन गन्तव्यको रुपमा स्थापित गर्ने अपेक्षा गरिएको छ।
चन्द्रागिरी हिल्स
-1758452767.jpeg)
चन्द्रागिरि हिल्स काठमाडौं उपत्यकाको दक्षिणपश्चिमतर्फ करिब १६ किलोमिटरको दुरीमा अवस्थित एक लोकप्रिय पर्यटकीय स्थल हो। यहाँबाट काठमाडौं उपत्यका, हिमाल श्रृंखला र वरिपरिका हरियालीपूर्ण दृश्यहरूको मनमोहक दृष्य हेर्न सकिन्छ। चन्द्रागिरि हिल्स आफ्नो हरियाली, ताजा हावा र शान्त वातावरणका लागि प्रसिद्ध छ र सहरको भिडभाडबाट टाढा आराम गर्न चाहने पर्यटक र स्थानीयहरूको मनपर्ने गन्तव्य पनि हो। चन्द्रागिरि हिल्सको मुख्य आकर्षण चन्द्रागिरि केबल कार हो, जसले शिखरमा पुग्न सजिलो र रमणीय यात्रा प्रदान गर्दछ। शिखरमा पुगेपछि दर्शकहरूले सुन्दर दृश्यावलोकन गर्न, फोटो खिच्न र आराम गर्न सक्छन्। त्यहाँ रेस्टुरेन्ट, दृश्यावलोकन प्लेटफर्म र मनोरञ्जन क्षेत्रहरू पनि उपलब्ध छन्।
यस क्षेत्रमा सांस्कृतिक महत्व पनि छ । यहाँ भालेश्वर महादेव मन्दिर रहेको छ, जुन हिन्दु धर्मावलम्बीहरूको लागि अत्यन्त पवित्र स्थल हो र विभिन्न चाँडपर्वहरूमा विशेष रूपमा दर्शनार्थीहरूको भीड लाग्नेगर्छ। चन्द्रागिरि हिल्स प्राकृतिक सौन्दर्य र सांस्कृतिक महत्त्वको उत्कृष्ट मिश्रण हो र राजधानी नजिकै अविस्मरणीय अनुभव प्रदान गर्ने एक पर्यटकीय स्थल हो।
मनकामना

मनकामना मन्दिर काठमाडौंबाट करिब १०५ किलोमिटर पश्चिममा गोरखा जिल्लामा अवस्थित छ। अवस्थित नेपालकै प्रसिद्ध धार्मिक एवं पर्यटकीय गन्तव्य हो। यो मन्दिर समुद्र सतहबाट करिब १,३०२ मिटर उचाइमा रहेको छ। हिन्दु धर्मावलम्बीहरूको लागि मनकामना देवीलाई “इच्छा पूरा गर्ने देवी“ भनेर मानिन्छ। यहाँ सच्चा मनले मागेको मनोकामना देवीले पूरा गरिदिनुहुन्छ भन्ने भक्तजनहरूको विश्वास छ। त्यसैले यस मन्दिरमा दैनिक हजारौं तीर्थयात्रीहरूको भीड लाग्ने गर्छ। मनकामनाको प्रमुख आकर्षण भनेको केबलकार हो। यो केबलकार कुरिन्टार (त्रिशूली नदी किनार) बाट सुरु हुन्छ र केही मिनेटमै पर्यटकलाई पहाडको शिखरमा रहेको मन्दिरसम्म पुर्याउँछ । यसलाई नेपालकै पहिलो केबल कार सेवा मानिन्छ। यात्रा गर्दा वरिपरिको हरियाली, त्रिशूली नदीको नजारा र रमणीय पहाडी दृश्य अत्यन्त मोहक लाग्छ।
मनकामना मन्दिर केवल धार्मिक दृष्टिले मात्र होइन, पर्यटकीय हिसाबले पनि महत्वपूर्ण स्थल हाे। यहाँको आध्यात्मिक वातावरण, प्राकृतिक सुन्दरता र केबल कारको अनुभवले यात्रुलाई अविस्मरणीय स्मृति दिन्छ।