काठमाडौं । नेपालीहरूका लागि वर्षको सबैभन्दा प्रतीक्षित चाड वडादसैं सुरु भइसकेको छ । चाडको आगमनसँगै राजधानी काठमाडौंबाट हजारौं मानिसहरू आफ्नो जन्मभूमि, परिवार र बाल्यकालका सम्झनाहरू बोकेर गाउँ फर्किन थालेका छन् ।
सहरका गल्लीहरूमा अझै चाडपर्वको रौनक उत्रिसकेको छैन तर नयाँ बसपार्क र अन्य यात्रा केन्द्रहरूमा भने घर फर्किनेहरूको गति सुरु भइसकेको छ ।
काम, पढाइ र बाध्यताले काठमाडौंलाई आफ्नो दोस्रो घर बनाएका मानिसहरू, दसैंको अवसर पारेर एकछिनका लागि भए पनि आफ्ना परिवार, आफन्त र गाउँका रमाइला पलहरूमा फर्कन आतुर देखिन्छन् ।
कतिले झोला भिरेका छन्, कतिले पिठ्यूमा बालबच्चा च्यापेका छन्, तिनको मुहारमा छुट्टै आशा र उमंग देखिन्छ - गाउँ पुग्ने र आफ्नो परिवारसँग दसैं मनाउने ।

तर यो उत्साहसँगै चिन्ताका धागोहरू पनि गाँसिएका छन् । सडकको अवस्था, पहिरोका खबरहरू, टिकटको मूल्य वृद्धिले केहीको अनुहारमा तनाव छ ।
यसपालि भने दसैंको परिवेश केहि फरक छ । पहिलेका दसैंहरुमा काठमाडौँका नयाँबसपार्कलगाएत अन्य बसपार्कहरुका यात्रुुहरुको भिड हुने गर्दथ्यो । तर यसपालि भने सामान्य बेलाको भन्दा अलि चहलपहल त छ, तर खुुट्टा हाल्न नसक्ने स्थिति भने छैन । यसपालि टिकट पनि सहजै पाएको यात्रुहरुले बताएका छन् ।

भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका कारण धेरै स्कुल तथा कलेजहरु छिटै बन्द भए । दसैं अगावै धेरै गाउँका मानिसहरुले उपत्यका छोडेको भन्दै यातायात व्यवसायी संघले अग्रिम टिकट बुकिङ खुलाएन । तर पनि सहजै टिकट पाईरहेकोले सास्ती कम भएको यात्रुुहरुको भनाई छ ।
भाडा भने धेरै महङ्गो भएको गुनासो पनि यात्रुहरुबाट आईरहेको छ । दसैंको समयमा अन्य समयमा भन्दा केही महङ्गो त हुनेनै गरे पनि यसपालि भने धेरैनै महङ्गो भएको यात्रुहरु बताउँछन् ।
चाडबाडको समयमा भाडा महङ्गो छ, त्यसमाथी पनि बाटोको अवस्था हेर्ने हो भने नाजुक छ । पहिरोले मुख्य सडकहरु बन्द हुँदा कति यात्रुहरु बाटोमै अलपत्र परेका छन् । त्यसैले दसैंमा आफ्नो गाउँठाउँ फर्कने, परिवार आफन्त भेट्ने खुसी र उत्साहसँगसँगै निरास पनि छन् ।

दसैं घर फर्कने उत्साह त छ तर यात्रुको मनमा सडकको अवस्था, भाडाको वृद्धि, र ढिलाइप्रति गुनासो पनि उत्तिकै छ । काठमाडौंबाट गाउँ फर्किने यात्रुले सरकारसँग धेरै अपेक्षा राखेका छन् जसमा सुरक्षित यात्रा, उचित भाडा र समयमै सेवा । दसैंको रौनकसँगै यो समय यात्रुको धैर्यको पनि परीक्षा बनेको छ ।
यस वर्षको चाडपर्वमा १५ देखि १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यलयका अनुसार मौसम राम्रो भएमा १८ लाखको हाराहारीमा मानिसहरु उपत्यकाबाट बाहिरिने सम्भावना छ ।