प्युठान
प्युठान जिल्ला, स्वर्गद्धारी नगरपालिका वडा नं. २ मा अबस्थित धनवाङ पर्यटकको स्वागतमा रमाउँछ। यहाँका १५ घरमा पाहुना राख्ने सुविधा छ। वि.सं. २०७१ देखि स्वर्गद्धारी सामुदायिक मगर होमस्टे सञ्चालन भएसँगै धनवाङ पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गएको हो।

होमस्टेमा एकै पटक ६० जना बास बस्न सक्छन्। पाहुनालाई लोकल परिकार खुवाइन्छ। होमस्टेको भान्छामा दालभात, रोटी, मकैको आँटो, लोकल भाले, मकै र चामलको रक्सी, सागसब्जी पाक्छ।

पाहुनाको मागअनुसार सांस्कृतिक कार्यक्रम पनि देखाइन्छ। यसमा पैसारु नाच, झ्याउरे नाच र दोहोरी गीत हुन्छ।
होमस्टे व्यवस्थापन समितिका अध्यक्ष शिवलाल पुनका अनुसार पाहुनाहरु वर्षैभरि आउँछन्।

‘स्वर्गद्धारी दर्शनमा आउनेहरु यहाँ एक रात बसेर माथि जाँदा सजिलो हुन्छ’, उनी भन्छन्, ‘स्यानो बस, जिप र मोटरबाइकमा हाम्रो गाउँ हुँदै माथि स्वर्गद्धारी जान सकिन्छ।’

धनवाङ आफैंमा रमणीय छ। मौसम खुलेका बेला यहाँबाट अन्नपूर्ण, धौलागिरि, पुथा र निलगिरि हिमाल देखिन्छ। साथै गाउँमा कृषि कर्म जीवनशैली अवलोकन गर्न पाइन्छ।

गाउँमा करिब ११५ परिवारको बसोबास छ। पुन, घर्ति, रोका, क्षेत्रि र दलित समुदायको बसोबास छ।
स्वागतम्
शिवलाल पुन, अध्यक्ष, होमस्टे व्यवस्थापन समिति
हाम्रो होमस्टेमा सादा खानाको दुई सय रुपैयाँ, खाजाको १५०, बेडको दुई सय रुपैयाँ पर्दछ। त्यस्तै रक्सी मकैको प्रति बोतल एक सय पचास रुपैयाँ पर्दछ भने कोदोको २ सय र चामलको सय रुपैयाँ पर्दछ। हाम्रोमा सिंगै कुखुराको भाले किन्ने सुविधा छ। भालेको प्रति किलो ८ सय रुपैयाँ पर्दछ। एउटा भाले पकाएको ६ सय रुपैयाँ लिन्छौं । यसमा फ्राई, सेकुवा र सुप हुन्छ। यहाँबाट मह, घ्यु, सिजनेवल तरकारी, सुन्तला, कमला आदि कोसेली किनेर लान पाइन्छ। तपाईं पनि आउनुस् है !
सम्पर्क : ९८६३२८६५०८



