नेपालको समग्र पर्यटन क्षेत्रलाई विकेन्द्रित र समावेशी बनाउन गाउँ पर्यटन प्रवर्धन मञ्च (भिटोफ–नेपाल) ले स्थापनाकालदेखि नै नीतिगत र व्यावहारिक रूपमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ । देशका कुनाकाप्चामा लुकेर रहेका प्राकृतिक तथा सांस्कृतिक रूपमा सम्पन्न गाउँहरूलाई नवीन पर्यटकीय गन्तव्यका रूपमा पहिचान र विकास गर्नु यसको प्राथमिक ध्येय रहँदै आएको छ । यसै अभियानको एउटा विशिष्ट कडीका रूपमा भिटोफले हरेक वर्ष सम्भावित ग्रामीण क्षेत्रहरूलाई ‘वर्षको पर्यटकीय गाउँ’ घोषणा गरी तिनको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा रणनीतिक बजारीकरण गर्दै आएको छ ।
राजेन्द्रमान डङ्गोल
यसै सन्दर्भमा, भिटोफ–नेपालले गत असार ३ गते मोरङको बेलबारीलाई ‘वर्षको पर्यटकीय गाउँ’ घोषणा ग¥यो । यो नेपालको ग्रामीण पर्यटन प्रवर्धनकै निरन्तरताको क्रम हो । नेपाल पर्यटन बोर्डको आर्थिक सहयोग र सद्भावमा हुने भिटोफका यस्ता प्रवर्धनात्मक कार्यक्रमहरूमा मलाई पनि समय–समयमा यात्रीका रूपमा सहभागी हुने अवसर मिल्दै आएको छ । यस पटकको चारदिने प्रवर्धनात्मक यात्रामा पनि म प्रत्यक्ष साक्षी बनेँ । व्यक्तिगत रूपमा यो यात्रा निश्चित रूपमा सुखद रहेको मान्नुपर्छ । नयाँ भूगोल, फरक जनजीवन र मौलिक आतिथ्यताको प्रत्यक्ष अनुभव सँगाल्नु जोकोहीका लागि पनि एउटा स्मरणीय अनुभूति हो ।
यद्यपि, समीक्षात्मक कोणबाट हेर्ने हो भने भिटोफले स्थापनाकालदेखि अङ्गीकार गर्दै आएका कार्यक्रमका शैली र तौरतरिकामा खासै नवीनता देखिँदैन । परम्परागत प्रवर्धनकै निरन्तरताका बीच सम्पन्न यस पटकको बेलबारी यात्रा विगतकै जस्तो औपचारिकता र रमाइलोमा मात्र सीमित हुन पुग्यो । यस यात्राले पूर्वी नेपालमा ग्रामीण पर्यटनका नयाँ सम्भावनाहरू त सतहमा ल्याइदिएको नै छ, साथसाथै भिटोफको परम्परागत कार्यदिशा र कमजोर व्यवस्थापकीय क्षमतामाथि पनि केही गम्भीर प्रश्नहरू खडा गरिदिएको छ ।
व्यावसायिक गाम्भीर्यको प्रश्न
भ्रमण तालिकाअनुसार बिहान ठिक ५ः०० बजे काठमाडौँको सोह्रखुट्टेमा जम्मा भई ५ः३० बजे प्रस्थान गर्ने पूर्वयोजना थियो । तर बस छुट्दा ६ः०० बजिसकेको थियो ।
काठमाडौँदेखि मोरङको बेलबारीसम्मको दूरी बीपी हाईवेबाट ३५५ किलोमिटर छ । आयोजक संस्थाले यात्राको संवेदनशीलता र पूर्व–सूचना प्रवाह गरे तापनि हामी सहभागीहरूले राजमार्गको वर्तमान अवस्था र सम्भावित ट्राफिक जामको बेलैमा हेक्का राख्न सकेनौँ, जुन हाम्रो कमजोरी हुन गयो । दुःखको कुरा, यसरी ढिलाइ गर्नेहरूमा सहभागी मात्र नभई स्वयम् आयोजक संस्थाकै जिम्मेवार प्रतिनिधि समेत सामेल हुनुले हाम्रो व्यवस्थापकीय पक्षलाई फितलो देखायो । फलतः समयमै उपस्थित भई गाडीमा बसिसकेका अनुशासित यात्रीहरूका लागि यो प्रतीक्षा कष्टकर बन्न पुग्यो ।
यात्रा सोचेजस्तो सहज हुन्न भन्ने थाहा पाउँदापाउँदै पनि समय व्यवस्थापनमा देखाइएको यस्तो उपेक्षाले हाम्रो संस्थागत परिपाटी, व्यवस्थापकीय चेत र सामूहिक अनुशासनको कमजोर धरातललाई नै उजागर गरिदिएको छ । वास्तवमा, पर्यटन व्यवसायजस्तो समयको पाबन्दी र विश्वसनीयतामा चल्ने क्षेत्रका अगुवाहरू नै समयप्रति यसरी उदासीन देखिनु हाम्रो व्यावसायिक गाम्भीर्य र जिम्मेवारीबोधको अभाव थियो ।
व्यावसायिक इमानदारिता र व्यवस्थापकीय फितलोपन
सुरक्षित र सुविधायुक्त यातायात सेवा नै पर्यटन व्यवसायको मेरुदण्ड हो । बेलबारी यात्राका लागि यातायातको व्यवस्थापन जुन सेवा प्रदायक कम्पनीमार्फत गरिएको थियो, त्यहाँ पूर्ण रूपमा व्यावसायिक इमानदारिताको अभाव खड्किएको देखियो । सम्झौता अनुसारकै वा सोही स्तरको वैकल्पिक गाडी उपलब्ध गराउनु प्रदायकको कानुनी र नैतिक दायित्व भए तापनि त्यसको विपरीत निकै कमजोर र पुराना गाडी पठाइयो । बसका सिटहरू साँघुरा थिए, वातानुकूलित (एसी) प्रणाली चल्दैनथ्यो, फ्यान नियमित थिएन र झ्यालमा सामान्य पर्दा समेत राखिएका थिएनन् ।
संस्थाका जिम्मेवार पदाधिकारीहरूबाट प्रस्थान गर्नुअघि बसको सिट क्षमता र अवस्था, एसी र फ्यानलगायतका न्यूनतम सुविधायुक्त प्रबन्धहरू दुरुस्त भए÷नभएको सामान्य प्राविधिक परीक्षण पनि गरिएन ।
भौतिक रूपमा असजिलो मात्र होइन, प्राविधिक रूपमा पनि गाडी ठाउँठाउँमा बिग्रिएकाले सास्ती भोग्नुप¥यो । यात्राको अर्को उदेकलाग्दो पाटो के थियो भने– बाटोमा इन्धन भर्दा प्रत्येक पटक चालक र गाडी मालिकबीच असमझदारीका फोन संवादहरू भइरहन्थे । तय भएको भाडा र माग बमोजिमको पेश्की रकम लिइसकेपछि पनि सञ्चालकले इन्धनका लागि पुग्दो रकम नपठाएका कारण हरेक पेट्रोल पम्पमा गाडी चालकले इन्धन खर्चको अड्को थाप्दा यात्राको अमूल्य समय खेर गइरह्यो ।
गाडी व्यवसायीको चरम उदासीनता त छँदै थियो, तर त्योभन्दा ठूलो कमजोरी स्वयम् आयोजक संस्थाको देखियो । संस्थाका जिम्मेवार पदाधिकारीहरूबाट प्रस्थान गर्नुअघि बसको सिट क्षमता र अवस्था, एसी र फ्यानलगायतका न्यूनतम सुविधायुक्त प्रबन्धहरू दुरुस्त भए÷नभएको सामान्य प्राविधिक परीक्षण पनि गरिएन । व्यवस्थापन पक्षले नै व्यवसायीलाई आँखै चिम्लेर विश्वास गर्दाको परिणाम यात्रीहरूले भोग्नु स्वाभाविक बन्न पुग्यो ।
पर्खाइ, निराशा र खिन्नताको अमिलो अनुभूति
ढिलो गरी गरेको प्रस्थान र बाटोको व्यवधानका कारण बिहान ६ः०० बजे हिँडेको हाम्रो टोली मोरङको बेलबारी पुग्दा रातको १०ः०० बजिसकेको थियो । यात्राको यो लज्जास्पद ढिलाइको सबैभन्दा ठूलो मूल्य स्थानीय समुदायले चुकाउनुप¥यो । बेलबारी नगरपालिकाका नगरप्रमुख, स्थानीय बासिन्दा, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा सामाजिक संघसंस्थाका अगुवाहरू पाहुनाको स्वागतका लागि अपराह्न ५ः०० बजे नै बेलबारी होमस्टे परिसरमा उत्साहका साथ जम्मा भइसकेका रहेछन् । तर, अनुमानित समयभन्दा ४–५ घण्टा ढिलो हुँदा समेत टोली नपुगेपछि आमन्त्रित अतिथि र स्थानीयहरू निराश हुँदै आ–आफ्नो घर फर्कन बाध्य भए ।
पाहुनालाई देउतासमान मान्ने नेपाली ग्रामीण संस्कृति र त्यसमाथि पहिलोपटक ‘पर्यटकीय गाउँ’ घोषणा हुन लागेको उमङ्ग बोकेर बसेका स्थानीयका लागि यो ढिलाइ खिन्नतापूर्ण हुनु अस्वाभाविक थिएन । ग्रामीण पर्यटन प्रवर्धनको मुख्य उद्देश्य नै स्थानीय समुदायसँग प्रगाढ सम्बन्ध स्थापित गर्नु हो तर पहिलो गाँसमै लागेको यो ढुङ्गाले आयोजकको गाम्भीर्य र व्यवस्थापकीय क्षमतामाथि प्रश्नचिह्न खडा गरिदियो ।
अन्तरक्रियाको आदर्श र परम्परागत भाषणबाजीको यथार्थ
सिक्किम भ्रमणबाट सिधै बेलबारी आइपुगेका भिटोफका अध्यक्षको सूचनाका आधारमा हामी स्थानीय धिमाल समुदायका प्रतिनिधिहरूसहित भोलिपल्ट नगरपालिकाको सभाहलमा उपस्थित भयौँ ।
वास्तवमा, पर्यटन जस्तो बहुसरोकारवाला जोडिने क्षेत्रमा ‘अन्तरक्रिया’ केवल औपचारिक भेला वा एकतर्फी भाषणबाजी गर्ने थलो होइन; यो त रैथाने अनुभव र रणनीतिक योजना मन्थन गर्ने जीवन्त मञ्च हो । एउटा आदर्श कार्यक्रमका लागि लामो आसनग्रहण र खादा–मालाको परम्परागत ढर्रा त्यागेर सिधै कार्यसूचीमा प्रवेश गर्नु आवश्यक हुन्छ । तर, यस कार्यक्रममा संस्थागत मर्यादाक्रम र आतिथ्यताको संयोजनमै परिपक्वता देखिएन । राष्ट्रिय स्तरको मुख्य आयोजक संस्था भएकाले मञ्चमा भिटोफका केन्द्रीय अध्यक्ष प्रमुख वा विशेष अतिथिको उचित भूमिकामा देखिनु न्यायसङ्गत हुन्थ्यो । तर स्थानीय नगरपालिकाको समन्वयमा नगरप्रमुख आफैँ प्रमुख अतिथि बन्ने पुरानै परिपाटी हाबी हुँदा कार्यक्रमको मूल संस्थागत गरिमा र ओज ओझेलमा प¥यो, जसले आयोजकको कमजोर व्यवस्थापकीय चेतलाई नै उजागर गर्दछ ।
नेता र अगुवाहरूको भाषण सुन्नकै लागि मात्र हामीले काठमाडौँदेखि बेलबारीसम्मको ३५५ किलोमिटर लामो सास्तीपूर्ण यात्रा तय गर्नुपर्ने थियो र ? यसका लागि त प्रविधिको यो युगमा एउटा ‘जुम मिटिङ’ नै काफी र बढी किफायती हुने थियो ।
हलको दृश्य पनि बिल्कुल फरक र निराशाजनक थियो । ‘अन्तरक्रिया’ कार्यक्रम जस्तो नभएर विभिन्न दलका स्थानीय नेताहरूको लामा भाषणहरूको थलो बन्यो । उक्त हलमा काठमाडौँबाट पुगेका पर्यटन क्षेत्रका विज्ञ, व्यवसायी, लेखक र पत्रकारका साथै रैथाने समुदायको बाक्लो उपस्थिति थियो । बेलबारीलाई ‘पर्यटकीय गाउँ’ घोषणा गर्न सकिने आधार, प्रवर्धनमा सरोकारवालाको भूमिका र स्थानीयको तयारी जस्ता गहन विषयमा मन्थन हुनुपर्नेमा, विडम्बना त्यसो हुन सकेन । होमस्टे व्यवसाय गर्ने तीव्र चाहना भएका धिमाल समुदायको आवाज कतै सुनिएन ।
मञ्चमा काठमाडौँबाट गएका भिटोफका अध्यक्ष हरिशरण थपलिया, प्रमुख सल्लाहकार आलोक प्रसाई, पूर्व अध्यक्ष चित्रबहादुर गुरुङ र टानका सदस्य अम्बिर गुरुङले मात्र पोडियममा उभिने मौका पाए । उनीहरूबाहेकको बाँकी उपस्थितिलाई हेर्दा सबै औपचारिकता निभाउन र भोजन ग्रहण गर्न मात्र आमन्त्रित गरिएका हुन् कि भन्ने भान हुन्थ्यो । यो संवादविहीन माहौल र एकतर्फी भाषण सुन्दा ‘काम कुरा एकातिर कुम्लो बोकी अर्कैतिर’ भनेझैं भएको महसुस हुन्थ्यो । प्रश्न उठ्छ— नेता र अगुवाहरूको भाषण सुन्नकै लागि मात्र हामीले काठमाडौँदेखि बेलबारीसम्मको ३५५ किलोमिटर लामो सास्तीपूर्ण यात्रा तय गर्नुपर्ने थियो र ? यसका लागि त प्रविधिको यो युगमा एउटा ‘जुम मिटिङ’ नै काफी र बढी किफायती हुने थियो ।
‘सद्भावना दूत’ र भूमिकाको अलमल
नेपालका विभिन्न प्रवर्धनात्मक संस्थाहरूमा आफ्नो प्रचारका लागि ‘सद्भावना दूत’ नियुक्त गर्ने एउटा फेसन चलेको छ । त्यसैको सिको गर्दै भिटोफ–नेपालले पनि समय–समयमा सद्भावना दूत मनोनीत गर्ने गरेको देखिन्छ । तर, ती दूतहरूको वास्तविक भूमिका के हो र उनीहरूलाई कुन मापदण्डका आधारमा चयन गरिन्छ भन्ने कुरा स्वयम् आयोजक संस्था र मनोनीत व्यक्ति दुवैका हकमा सधैँ अनुत्तरित नै रहने गरेको छ ।
सस्तो लोकप्रियताको यो रोगबाट नेपाल पर्यटन बोर्ड समेत अछुतो छैन । विगतमा एनटीबीले नीतिगत सुधारका लागि भन्दै एक दर्जनभन्दा बढी विज्ञ सम्मिलित ‘थिङ ट्याङ्क’ गठन गरेको थियो । तर, उक्त थिङ ट्याङ्कका विचार र रणनीतिहरूले पर्यटन प्रवर्धनको राष्ट्रिय प्रवाहमा कहाँ र कस्तो योगदान पु¥याए, त्यसको वस्तुनिष्ठ समीक्षा आजसम्म कतै भेटिँदैन ।
भिटोफकै विगतको अभ्यासलाई हेर्ने हो भने, अघिल्लो कार्यकालमा एक सञ्चारकर्मीलाई ‘कथित’ सद्भावना दूत नियुक्त गरिएको थियो, तर पर्यटन प्रवर्धनको व्यावहारिक मैदानमा उनको उपस्थिति र भूमिका कतै महसुस हुन सकेन । वर्तमानमा जसलाई यो जिम्मेवारी सुम्पिएको छ, उनी पनि पूर्ण रूपमा भूमिकाविहीन र अलमलमै देखिन्छन्, जुन कुरा बेलबारी भ्रमणले सिद्ध गरेको छ । सद्भावना दूतका रूपमा नियुक्त गरिसकेपछि भूमिकाविहीन बनाउनु भिटोफको मर्मसम्मत नहुनु पर्ने हो । यस्तो प्रवृत्तिले पदको गरिमालाई त सङ्कुचित बनाउँछ नै, संस्थाको नीतिगत अपरिपक्वतालाई समेत उदाङ्गो पारिदिन्छ ।
विविधताको अभाव र संस्थागत विशिष्टतामाथि प्रश्न
पर्यटन प्रवर्धन र गन्तव्यको बजारीकरणका लागि गरिने प्रवर्धनात्मक भ्रमणहरूमा सहभागीहरूको छनोट आफैँमा एउटा रणनीतिक र प्राविधिक विषय हो । यस्ता यात्राको प्रभावकारिता तब मात्र सिद्ध हुन्छ, जब त्यहाँ नयाँ भूगोल र स्थानीय संस्कृतिलाई नयाँ दृष्टिकोणबाट विश्लेषण गर्न सक्ने विविध क्षेत्रका विज्ञ, सञ्चारकर्मी र व्यवसायीहरूको सन्तुलित सहभागिता रहन्छ । तर, भिटोफ–नेपाल र नेपाल पर्यटन बोर्डद्वारा आयोजित शृङ्खलाबद्ध भ्रमणहरूलाई नियाल्ने हो भने सहभागीहरूको छनोटमा व्यापक विविधताको अभाव खड्किएको देखिन्छ । फरक–फरक गन्तव्यको प्रवर्धनका लागि आयोजना गरिने कार्यक्रमहरूमा प्रायः एउटै समूह वा अनुहारहरू मात्र दोहोरिने परिपाटीले गर्दा यस्ता भ्रमणहरू अध्ययन, अनुसन्धान वा रणनीतिक प्रवर्धनभन्दा पनि पारिवारिक जमघट वा अनौपचारिक भ्रमणजस्तो देखिन्छ ।
अबको आवश्यकता ‘सम्बन्ध र पहुँच’का आधारमा नभई ‘क्षमता र विशिष्टता’ का आधारमा सहभागीको विविधीकरण गर्नु नै हो । भिटोफले गराउने यात्रा कुनै व्यक्तिविशेष र तिनका परिवारलाई मनोरञ्जन गराउनका लागि हुनुहुन्न ।
मुलुकको पर्यटन प्रवर्धन जस्तो वृहत् राष्ट्रिय दायित्व बोकेको क्षेत्रमा एउटै व्यक्ति वा समूहलाई मात्र सधैँ अग्रपङ्क्तिमा राख्दा नयाँ पुस्ताका लेखक, अन्वेषक, फरक विधाका सञ्चारकर्मी र नवीन सोच भएका युवा व्यवसायीहरूले अवसरबाट विमुख हुनुपर्ने स्थिति सिर्जना भएको छ । हरेक गन्तव्यको आफ्नै विशिष्टता र आवश्यकता हुन्छ । पर्यटन प्रवर्धनका लागि आवश्यक पर्ने जनशक्ति र बजारीकरणका लागि चाहिने विज्ञता निश्चित रूपमा फरक हुन्छन् । यस यथार्थलाई बिर्सिएर जुनसुकै भूगोलको यात्रामा पनि एउटै अनुहार दोहो¥याउँदैमा वास्तविक पर्यटन प्रवर्धन हुन सक्छ कि सक्दैन भन्ने विषयमा अब गम्भीर समीक्षा हुनु जरुरी छ ।
यस सन्दर्भमा नियामक र अभिभावकीय संस्थाका रूपमा रहेको एनटीबीको भूमिका र नियमनकारी दायित्व अझ बढी महत्वपूर्ण हुन आउँछ । राज्यकोषको लगानी र सार्वजनिक–निजी साझेदारीको मर्म अनुरूप हुने यस्ता प्रवर्धनात्मक कार्यक्रमहरूमा सहभागीहरूको छनोट निष्पक्ष, समावेशी र आवश्यकतामा आधारित छ वा छैन भनी एनटीबीले सूक्ष्म अनुगमन र नियमन गर्नुपर्दछ । निश्चित मापदण्डका आधारमा नयाँ–नयाँ प्रतिभा र सम्बन्धित भूगोल अनुकूलका विज्ञहरूलाई मात्र समेट्ने परिपाटी स्थापित नगर्ने हो भने, प्रवर्धनात्मक यात्राहरू केवल औपचारिकता र राज्यकोषको अनुत्पादक खर्चमा मात्र सीमित हुन पुग्नेछन् । अबको आवश्यकता ‘सम्बन्ध र पहुँच’का आधारमा नभई ‘क्षमता र विशिष्टता’ का आधारमा सहभागीको विविधीकरण गर्नु नै हो । भिटोफले गराउने यात्रा कुनै व्यक्तिविशेष र तिनका परिवारलाई मनोरञ्जन गराउनका लागि हुनुहुन्न ।
भेडेटारको अनुभूतिः ब्रान्ड र यथार्थबीचको खाडल
समुद्री सतहदेखि करिब १५०० मिटरको उचाइमा अवस्थित भेडेटार पूर्वी नेपालको एउटा स्थापित र प्रमुख पर्यटकीय गन्तव्य बनिसकेको छ । ग्रीष्म ऋतुको चर्को गर्मी र रापले बाफिएका नेपालका तराई क्षेत्र एवम् छिमेकी मुलुक भारतको पश्चिम बङ्गाल र विहारका पर्यटकहरू समेत यहाँ शीतल खोज्दै आउने गर्दछन् । प्राकृतिक रूपमा यो ठाउँ जति सुन्दर र मनमोहक छ, वातावरणीय र व्यवस्थापकीय रूपमा भने उति नै सुधारको पर्खाइमा देखियो ।
भेडेटार बजार क्षेत्रमा व्यवस्थित ढल नहुँदा फैलिएको नालीको दुर्गन्ध यहाँको मुख्य समस्या रहेछ । हामी बसेको हाइडवे होटल वरपर पनि यो दुर्गन्ध उत्तिकै व्याप्त थियो । भौतिक रूपमा कोठा र बाथरुम राम्रा देखिए पनि मित्र चित्रबहादुर गुरुङ र म बसेको उक्त होटलको कोठाभित्र कीरा–पुतलीहरू छ्यापछ्याप्ती थिए भने बाथरुमबाट निरन्तर दुर्गन्ध आइरहन्थ्यो । होटलका कर्मचारीहरूमा हुनुपर्ने आधारभूत व्यावसायिक शिष्टताको समेत अभाव खड्कियो ।
नेपाल पर्यटन बोर्डको वित्तीय भूमिका र व्यवस्थापकीय अलमल
नेपालको पर्यटन क्षेत्रको विकास र विश्वव्यापी प्रवर्धन गर्ने जिम्मेवार निकाय हो— नेपाल पर्यटन बोर्ड । सामान्यतया प्रवर्धनात्मक यात्राका लागि आर्थिक व्यवस्थापन बोर्डले नै गर्ने गर्छ ।
भिटोफले आयोजना गरेको यति ठूलो राष्ट्रिय महत्वको कार्यक्रममा बोर्डको प्रतिनिधित्व प्रवर्धनात्मक शाखाबाट नभई जिन्सी शाखाका कर्मचारीबाट गराइएको थियो, जसको भूमिका औपचारिक हलमा साङ्केतिक उपस्थितिमा मात्र सीमित हुन पुग्यो । संस्थागत अनुभव र पर्यटन प्रवर्धनको गहन ज्ञान भएको अधिकृत स्तरको जिम्मेवार विषयविज्ञ पठाउनुको सट्टा औपचारिक सहभागिताका लागि मात्र मान्छे खटाएर एनटीबीले कस्तो नीतिगत नेतृत्व दिन खोजेको हो, त्यो बुझ्न सकिएन ।
पब्लिक, प्राइभेट पार्टनरसिपको अवधारणा बोकेको संस्थाले आफ्नो मूल मर्म बिर्सिएर भिटोफ आफैँले गर्नु पर्ने व्यवस्थापनका काममा अलमलिनु संस्थागत कार्यदिशा धर्मराएको एउटा परिदृश्य हो ।
भेडेटारबाट बिदा हुनुअघि हामीले त्यहाँको प्रमुख पर्यटकीय आकर्षणका रूपमा रहेको ‘स्काई टावर’ को अवलोकन ग¥यौँ । तर, त्यहाँको अनुभव पनि त्यति सुखद रहेन । भेडेटारको स्काई टावरको काउन्टरकी कर्मचारीले बिहान ‘बोहनी’ नभएको कारण रू. ५०० को एउटा टिकट काट्न ढिपी कसिन् । टिकट बुक गरेर भुक्तानी हुने निश्चित भइसकेपछि बोहोनीका लागि अत्तो थापिरहनु व्यावसायिक मर्यादा विपरीतको कुरा हो । उनलाई नियम र सम्झौता बुझाउन हाम्रा टोलीनेतालाई निकै हम्मेहम्मे नै प¥यो । बुझ्दै जाँदा बोध भयो कि– एनटीबीले टिकटको भुक्तानी होटलमार्फत् गराउने आन्तरिक व्यवस्था मिलाएको तर होटलले बुक गरेर पनि भुक्तानी गरिसकेको रहेनछ । स्थापित भइसकेका पर्यटकीय गन्तव्यहरूमा पनि सेवा प्रदायकहरूको यस्तो अपरिपक्व र गैर–व्यावसायिक व्यवहारले भेडेटारको पर्यटन क्षेत्रमा अझै धेरै गुणा संस्कारगत र व्यवस्थापकीय सुधारको खाँचो रहेको प्रस्ट्याउँछ ।
खासमा टिकट बापतको रकम भिटोफमार्फत् नै भुक्तानी हुनुपर्ने थियो । भिटोफ या यस्ता संस्थाहरूले पर्यटन प्रवर्धनसम्बन्धी कार्यक्रमको प्रस्ताव पेस गरिसकेपछि एनटीबीले समझदारी पत्रमा हस्ताक्षर गराई सोहीअनुसार निश्चित रकम प्रायोजन गर्दछ । तर, उदेकलाग्दो कुरा त के भने– पर्यटन प्रवर्धनको बृहत्तर क्यानभासमा काम गर्नुपर्ने नेपाल पर्यटन बोर्ड अचेल खुद्रे व्यवस्थापनका काममा केन्द्रित देखियो । सहभागीहरूका लागि भेडेटार र लालगढको होटल बुकिङ गरिदिने र स्टेसनरी (पेन एवम् डायरी) समेत एनटीबी आफैँले खरिद गरेर पठाइदिनु पर्ने कारण के होला ? पर्यटन बोर्डले आफूलाई नीतिगत र रणनीतिक प्रवर्धनमा केन्द्रित गर्नुको सट्टा एउटा ट्राभल एजेन्सीले जस्तो ‘होटल व्यवस्थापन र बुकिङ’ को भूमिकामा किन खुम्च्याएको होला ?
यतिसम्म गरेपछि बसको व्यवस्थापन चाहिँ एनटीबीले किन नगरेको होला ? यसको अन्तर्य बुझ्न सहज छैन । पब्लिक, प्राइभेट पार्टनरसिपको अवधारणा बोकेको संस्थाले आफ्नो मूल मर्म बिर्सिएर भिटोफ आफैँले गर्नु पर्ने व्यवस्थापनका काममा अलमलिनु संस्थागत कार्यदिशा धर्मराएको एउटा परिदृश्य हो ।
गौतम होटलको बसाइ र बुफेको सङ्कीर्ण परिपाटी
यात्राको तेस्रो दिन पनि बसले दिएको सास्ती सकिएको थिएन । बाटोमा दुई–दुई पटकसम्म गाडीको चार्जिङ डाइनामोको बेल्ट चुँडियो । त्यसको मर्मत र फेरबदल गर्दागर्दै धनुषाको लालगढ आइपुग्दा रातको ९ः०० बजिसकेको थियो । लालगढस्थित चारतारे ‘गौतम होटल’ को बसाइ भने हाम्रा लागि निकै सुखद र राहतपूर्ण रह्यो । एनटीबीले बुकिङ गरिदिएको त्यस होटलका कोठाहरू निकै सफा, व्यवस्थित र चारतारे मापदण्ड अनुरूपका सुविधायुक्त थिए ।
त्यहाँ मासुको परिकार भने होटलका प्रतिनिधिले नै प्रत्येक यात्रीको कचौरामा चोक्टा गनेर हालिदिने सङ्कुचित चलन रहेछ ।
तर, होटलको भौतिक भव्यता र चारतारे साखका बीच त्यहाँको ‘बुफे डिनर’ मा भने एउटा अनौठो र उदेकलाग्दो दृश्य देखियो । सामान्यतया बुफे प्रणालीमा पाहुनाहरूले आफ्नो इच्छा अनुसार खानाका परिकारहरू खान पाइने हुन्छ । तर, त्यहाँ मासुको परिकार भने होटलका प्रतिनिधिले नै प्रत्येक यात्रीको कचौरामा चोक्टा गनेर हालिदिने सङ्कुचित चलन रहेछ । चारतारे भनिएको होटलको यो शैलीले हामीलाई राजमार्गका साधारण होटलहरूमा खाना खाँदा गरिने कन्जुस्याइँ र परम्परागत ढर्राको झल्को दिलायो । सेवा उद्योगमा नाम र मूल्य चारतारे भए पनि व्यवहार र सोचमा अझै कति व्यावसायिक सङ्कीर्णता कायम छ भन्ने कुराको त्यो एउटा प्रतिनिधि उदाहरण थियो ।
समय व्यवस्थापनको कूटनीतिः सडकको सास्ती कि आकाशको सहजता ?
चौँथो दिन लालगढबाट बिहानको ८ बजे प्रस्थान गरेको हाम्रो टोली काठमाडौँको सोह्रखुट्टे आइपुग्दा बेलुकाको ७ बजिसकेको थियो । रोशी खोलाको ताण्डवले गन्तव्य जोड्ने राजमार्ग यसरी क्षतविक्षत पारेको छ कि, सामान्य अवस्थामा ३ घण्टा पनि नलाग्ने खण्ड पार गर्न मात्रै हामीलाई ४ घण्टाभन्दा बढी समय लाग्यो । यो सकसपूर्ण यात्राको समापनसँगै मनमा एउटा स्वाभाविक र कूटनीतिक प्रश्न उब्जिन्छ– आखिर यो यात्राका लागि सडक परिवहनको सट्टा हवाई मार्गको विकल्प किन रोजिएन होला ?
हाम्रो यो प्रवर्धनात्मक भ्रमणको केन्द्रबिन्दु र मुख्य ध्येय नै मोरङको बेलबारी थियो । साँच्चै भन्नुपर्दा, हाम्रो अधिकतम समय बेलबारीमै व्यतीत हुनुपर्ने थियो किनकि त्यहाँका स्थानीय र सरोकारवालाहरूसँग बसेर ग्रामीण पर्यटनको दिगो विकास र प्रवर्धनबारे घनीभूत मन्थन गर्न जरुरी थियो । यदि बसको सट्टा हवाईजहाजको प्रयोग गरिएको भए चार दिनको यो सकसपूर्ण यात्रा निकै सहजताका साथ दुई दिनमै सम्पन्न हुन सक्ने थियो । आन्तरिक विमानस्थल आउजाउ लगायत उताको स्थलगत भ्रमणका लागि मात्र स्थानीय यातायात उपयोग गर्न सकिने विकल्प खुला नै थियो ।
सरसर्ती हेर्दा हवाई यात्रा खर्चिलो लागे पनि गम्भीर आर्थिक विश्लेषण गर्ने हो भने लागतमा कुनै तार्किक भिन्नता देखिँदैन । गाडीको महँगो भाडा, लालगढको चारतारे गौतम होटलको बसाइ र तेस्रो र चौँथो दिनको भोजन र अन्य विविध खर्चको कुल योग जति हुन्छ, जहाजको टिकट खर्च पनि लगभग त्यति नै हुन आउँथ्यो । मानौँ, हवाई यात्रा गर्दा केही बढी नै खर्च हुन्थ्यो भने पनि त्यसले समग्र बजेटमा निकै न्यून अन्तर पाथ्र्यो होला ।
पर्यटन प्रवर्धनको नीतिगत नेतृत्व गरिरहेको नेपाल पर्यटन बोर्ड र भिटोफजस्ता अनुभवी संस्थाहरूले यो सामान्य व्यवस्थापकीय विकल्पमाथि किन विचार गरेनन् होला ? आखिर राज्यकोषको लगानी र बोर्डको सदाशयता मुलुकको पर्यटन सुधार्ने सुकर्ममा नै लक्षित थियो भने, वार्षिक करोडौँ रुपैयाँ बजेट परिचालन गर्ने संस्थाहरूले सामान्य खर्चको हिसाबमा अल्झिएर सिङ्गो यात्रालाई किन यसरी सास्तीपूर्ण बनाए ? राष्ट्रिय स्तरका प्रवर्धनात्मक अभियानहरू सञ्चालन गर्दा योजनाकारहरूको दृष्टि लालगढको होटलले ‘कचौरामा गनेर मासु हाले जस्तो’ सङ्कुचित र अनुदार हुनु पक्कै पनि सुहाउँदो विषय होइन ।
भौतिक भवन मात्रै कि जीवन्त सङग्रहालय ?
बेलबारी यात्राका क्रममा माटीगाउँको रैथाने धिमाल समुदायका घर र वास्तुकला नियाल्ने अवसर मिल्यो । यो आफैँमा सुन्दर पक्ष थियो । स्थानीय स्तरमा त्यहाँ एउटा भौतिक सङ्ग्रहालय निर्माण गर्ने योजना रहेको चर्चा पनि सुन्नमा आयो । तर, आधुनिक पर्यटनको दर्शन सिसाको बाकसभित्र पुराना सामग्री सजाएर राखिने परम्परागत सङ्ग्रहालयले बेलबारीलाई एउटा ‘लिभिङ म्युजियम’ (जीवन्त सङ्ग्रहालय ) का रूपमा रूपान्तरण गर्न सक्दैन ।
जीवन्त सङ्ग्रहालय भनेको इतिहास र संस्कृतिलाई कुनै कङ्क्रिटको भवनमा थुनेर राख्ने नभई स्थानीय समुदायको दैनिक जीवनशैली, भाषा, वेशभूषा, रैथाने कला र अनुष्ठानहरूलाई पर्यटकले प्रत्यक्ष महसुस र अनुभव गर्न सक्ने गरी जीवन्त राख्नु हो । यस्ताखाले अभ्यास मनाङ, डोल्पो र मुस्ताङ लगायतका हिमाली जिल्लाहरूमा मौलिकता जोगाउन निकै फलदायी साबित भएका छन् ।
हाम्रो भ्रमणका दौरान बेलबारीका भौतिक घरहरू त देखिए, तर धिमाल समुदायको मुटु मानिने समृद्ध संस्कृति, लोकनृत्य र परम्परागत जीवनशैलीको प्रत्यक्ष साक्षात्कार गर्न पाइएन । केवल कङ्क्रिटको नयाँ भवन बनाएर त्यहाँ केही पुराना भाँडाकुँडा सजाउँदैमा बेलबारी वास्तविक पर्यटकीय गाउँ बन्न सक्दैन । यदि बेलबारीलाई साँच्चिकै दिगो पर्यटकीय गन्तव्य बनाउने हो भने एनटीबी, स्थानीय सरकार र भिटोफले भौतिक पूर्वाधारसँगै सांस्कृतिक पुनरुत्थानमा लगानी गर्नुपर्छ ।
जबसम्म आगन्तुकले धिमाल समुदायको मौलिक घरमा बसेर, उनीहरूकै परम्परागत पहिरनमा, उनीहरूकै रैथाने भान्छाको स्वाद लिँदै उनीहरूको जीवन्त संस्कृतिको हिस्सा बन्न पाउँदैनन्, तबसम्म ‘पर्यटकीय गाउँ’ को घोषणा फगत सरकारी र संस्थागत औपचारिकतामा मात्र सीमित रहनेछ । अबको बाटो सतही व्यवस्थापनको होइन, नीतिगत परिपक्वता र सांस्कृतिक जीवन्तताको हुनुपर्छ । तसर्थ, आगामी दिनमा भिटोफ र पर्यटन बोर्डले नयाँ पर्यटकीय गाउँ घोषणा गर्ने परम्परागत मोह मात्र पाल्नुभन्दा घोषित गन्तव्यहरूको दिगो व्यवस्थापन, साधनस्रोतको न्यायोचित परिचालन र पर्यटनको असली मर्म बुझ्न ढिला गर्नु हुँदैन । आलाप र विलापको यो दुष्चक्रबाट उम्किएर मात्रै नेपाली ग्रामीण पर्यटनले सही दिशा पक्रनेछ ।