काठमाडाैं। इकोनोमिस्ट इन्टेलिजेन्स युनिट (इआयू)को वार्षिक सूचीमा तीन वर्षसम्म लगातार विश्वकै सबैभन्दा बस्नयाेग्य सहरकाे शीर्ष स्थानमा रहेको अष्ट्रियाको राजधानी भिएना यसपाली ‘कोपेनहेगन’सँग पछि परेकाे छ।
डेनमार्कको राजधानी कोपेनहेगनले मंगलबार सार्वजनिक गरिएको २०२५का लागि विश्वका सबैभन्दा बस्नयोग्य सहरहरूको सूचीमा पहिलो स्थान हासिल गरेको छ।
कसरी तयार गरिन्छ सूची?
दि इकाेनाेमिस्ट म्यागजिनसँग सम्बद्ध संस्थाले स्वास्थ्य, शिक्षा, स्थायित्व, पूर्वाधार र वातावरणजस्ता सूचकमा आधारित रहेर संसारभरिका १७३ सहरहरूको मूल्यांकन गर्छ।
कोपेनहेगनले स्थायित्व, शिक्षा र पूर्वाधारतर्फ ‘सर्वोत्तम’ अंक पाएपछि शीर्ष स्थानमा उक्लिएको हो। भिएना स्विट्जरल्याण्डको जुरिकसँग संयुक्त रूपमा दोस्रो स्थानमा पुगेको छ।
अष्ट्रेलियाको मेलबर्नले चौथो स्थान कायम राखेको छ। भने स्विट्जरल्याण्डकै जेनेभा पाँचौं स्थानमा परेको छ।
शीर्ष पाँचभन्दा बाहिर, अष्ट्रेलियाको सिड्नीले संयुक्त सातौं स्थानबाट उकालो लाग्दै छैठौं स्थानमा स्थान बनायो। जापानको ओसाका र न्यूजिल्याण्डको अकल्याण्ड संयुक्त रूपमा सातौं स्थानमा परेका छन्।
नवौं स्थानमा रहेको एडिलेड अष्ट्रेलियाको तेस्रो सहर हो, जसले शीर्ष १०मा स्थान बनायो। क्यानडाको भ्यानकुभरले दशौं स्थान पायो।
भिएनाको पतनको कारण?
भिएना यसपटक शीर्ष स्थानमा नआउनुको मुख्य कारण हो, स्थायित्व सूचकमा आएको उल्लेख्य गिरावट। भिएनाले अन्य सूचकहरूमा राम्रो प्रदर्शन गरे पनि स्थायित्वतर्फको स्कोर घटेको छ। कोपेनहेगनले सबै क्षेत्रमा उच्च अंक प्राप्त गर्यो।
पछिल्लो वर्ष टेलर स्विफ्टको कन्सर्टमा बमको धम्की आएपछि कार्यक्रम रद्द हुनुजस्ता घटनाले भिएनाको स्थायित्व स्कोर घटेको मूल्यांकन छ।
इआयूकी डिपुटी इन्डस्ट्री डाइरेक्टर बर्साली भट्टाचार्यका अनुसार २०२४मा जस्तै, यो वर्ष पनि विश्वव्यापी स्थायित्व सूचकमा गिरावट आएको छ। त्यसैले भिएना तीन वर्षपछि शीर्ष स्थान गुमाएको हो।
अरू सहरमा पनि स्कोर घट्यो
भिएना मात्र होइन, धेरै सहरहरूले पनि अघिल्ला वर्षहरूमा राम्रो स्कोर गरेको क्षेत्रमा यसपालि कमजोरी देखाएका छन्।
क्यानडाको क्याल्गरी २०२४ मा पाँचौं स्थानमा थियो तर यो वर्ष स्वास्थ्य सेवामा कमजोर स्कोरका कारण १८औं स्थानमा झरेको छ। क्यानडाका तीन अन्य सहरहरूमा पनि स्वास्थ्य प्रणालीमा तनाव देखिएको छ।
टोरोन्टो पनि यस वर्ष १२औं स्थानबाट १६औं स्थानमा झरेको छ। ‘स्वास्थ्य परीक्षणका लागि लामो प्रतीक्षा सूची र अस्पतालहरूमा जनशक्तिको कमी यसको प्रमुख कारण हो,’ भट्टाचार्यले सिएनएन ट्राभलसँग भनिन्।
उनका अनुसार विश्वका अरू भागमा पनि स्वास्थ्य र आवास क्षेत्रको तनाव देखिएको छ। तर, क्यानडामा यसको असर दीर्घकालीन रहेको छ। ‘यी सहरहरू अझै पनि विश्वका बस्नयोग्य सहरहरूमा पर्छन्,’ भट्टाचार्य भन्छिन्।
अमेरिकी र बेलायती सहरहरूको स्थितिमा गिरावट
अमेरिकाको होनोलुलु २३औं स्थानमा रहेर सूचीको शीर्ष अमेरिकी सहर बन्न सफल भयो।
‘साना वा मध्यम आकारका अमेरिकी सहरहरूले ठूला सहरहरूजस्तै न्यूयोर्क वा एलएभन्दा राम्रो प्रदर्शन गरेका छन्,’ भट्टाचार्यले भनिन्, ‘यसको प्रमुख कारण भनेको सार्वजनिक सेवा पूर्वाधारमा आउने तनाव हो।’
बेलायतका लन्डन, म्यानचेस्टर र एडिनबर्गले पनि स्थायित्व स्कोर घटेपछि आफ्नो स्थान गुमाएका छन्।
गत वर्ष बेलायतमा आप्रवासीविरुद्धको गलत सूचनाका कारण उत्पन्न दंगा र अशान्तिको असर यसमा परेको हो।
लन्डन: ४५औं स्थानबाट ५४औं स्थानमा, म्यानचेस्टर: ४३औंबाट ५२औं, एडिनबर्ग: ५९औंबाट ६४औं स्थानमा झरे
एशिया र मध्यपूर्वमा पनि असर
‘२०२४ जस्तै, पश्चिमी युरोप, मध्यपूर्व र उत्तर अफ्रिकामा स्थायित्व सूचकमा गिरावट आएको छ,’ भट्टाचार्यले भनिन्।
यसपटक एशियाली सहरहरू विशेषतः भारत र ताइवानमा सैन्य द्वन्द्वको खतरा बढेपछि त्यहाँ पनि गिरावट देखियो।
केही सहरको उल्लेख्य सुधार
साउदी अरेबियाको अल खोबर १३ स्थान उक्लिँदै १४८औं स्थानबाट १३५औं स्थानमा पुगेको छ। ‘भिजन २०३०’ अन्तर्गत साउदीले शिक्षा र स्वास्थ्यमा लगानी बढाएको छ।
इन्डोनेसियाको जकार्ता पनि स्थायित्वमा सुधार आएपछि १४२औं स्थानबाट १३२औं स्थानमा पुगेको छ।
पछिल्ला स्थानमा खासै फेरबदल छैन
सूचीको अन्त्यतिरको अवस्था गत वर्षको जस्तै रहेको छ।
सबैभन्दा कम बस्नयोग्य सहरहरूमा पहिलाेमा दमास्कस, (सिरिया), त्यसपछि त्रिपोली (लिबिया), तेस्रोमा ढाका (बंगलादेश), चौथोमा कराँची (पाकिस्तान) र पाँचौंमा अल्जियर्स (अल्जेरिया) रहेका छन्।
‘२०२४ मा सानोतिनो सुधार देखिए पनि २०२५ मा स्थायित्व सूचकमा आएको गिरावटले समग्र जीवनस्तर सूचकलाई प्रभावित पारेको हो,’ भट्टाचार्यले भनिन्।
मध्यपूर्वका केही सहरहरूले शिक्षा र स्वास्थ्यतर्फ सुधार गरेपनि स्थायित्व घटेपछि त्यो प्रभाव खेर गएकाे छ।
बस्नयाेग्य टप १० सहरहरू:
१. कोपनहेगन, डेनमार्क
२. भियना, अस्ट्रिया
२. जुरिच, स्विट्जरल्याण्ड
४. मेलबर्न, अष्ट्रेलिया
५. जेनेभा, स्विट्जरल्याण्ड
६. सिड्नी, अष्ट्रेलिया
७. ओसाका, जापान
७. अकल्याण्ड, न्यूजील्याण्ड
९. एडिलेड, अष्ट्रेलिया
१०. भ्यानकुभर, क्यानडा
सिएनएन